• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

विश्व हुलाक दिवस : चिठीपत्र घटे पनि पार्सल सेवा बढ्दो


काठमाडौँ । कुनै बेला हुलाक सेवा सर्वसाधारणको मन मष्तिष्कमा हुन्थ्यो । सूचनाको एकमात्र माध्यम भएकाले हुलाकका कुनै कर्मचारी देख्दा नयाँ खबर आयो की झै लाग्थ्यो । सूचना र प्रविधिको विकाससँगै घट्दै गएको हुलाकको आकर्षण माथि उठ्न सकेको छैन । 

प्रविधि र समयको मागअनुसार चल्न नसक्दा नेपालको हुलाक सेवाप्रति सर्वसाधारणको आकर्षण घट्दो छ । विश्वमा हुलाकले उच्चस्तरीय सेवा प्रदान गरे पनि नेपालमा आवश्यकतानुसार चल्न नसक्दा सेवा प्रभावकारी हुन नसकेको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव वीरेन्द्रकुमार मिश्र सूचना र प्रविधिको माध्यम परिवर्तन भएकाले सेवा आधुनिकीकरण गर्नसके अझै हुलाकको आवश्यकता छ भने । मंगलबार १४४औँ विश्व हुलाकदिवस मनाइएको छ । दिवस मनाइरहँदा यसको सेवा चुस्त हुन नसकेकामा चिन्ता प्रकट गरिएको छ । अघिल्लो वर्षको तुलनामा गतवर्ष हुलाकमा चिठीपत्र आदानप्रदान ३ दशमलव ४ प्रतिशतले घटेको गोश्वारा हुलाक कार्यालय काठमाडाँैका प्रमुख हुलाक अधिकृत वेदप्रसाद भण्डारीले बताए । नेपालमा विभिन्न चुनौतीका बीच काम गर्नुपरेकाले सेवा प्रभावकारी बनाउन नसकेको भण्डारी बताए । यद्यपि चुनौतीका बीचमै हुलाकको पार्र्सल (पुलिन्दा) तथा व्यावसायिक सेवामा आकर्षण बढेको भण्डारी दाबी गरे। 

गएको वर्ष पार्सल १२ दशमलव ५ प्रतिशतले बढेको थियो । हुलाकको कूल  ५० करोड रुपैयाँ राजश्व मध्ये पहिलो नम्बरमा द्रुतडाँक सेवा, त्यसपछि पार्सल र चिठीपत्रबाट न्यून आउने गरेको छ । 

चिठीपत्र घट्दो छ, पार्सल र व्यावसायिक सेवाको माग बढ्दो छ, भण्डारीले भने, ‘व्यावसायिक सेवा दिने हो भने अझै हुलाकको प्रभावकारिता रहन्छ, अब व्यावसायिकतामा जानुको विकलप छैन ।’ जापानमा दूधलगायत खाद्यसेवा हुलाकबाटै उपलब्ध हुन्छ । भुटानमा हुलाक बस सेवा छ जुन कोलकत्तासम्म जान्छ । नेपालमा पनि यस्ता व्यावसायिक सेवा ल्याउनु जरुरी देखिन्छ । नेपालमा उपत्यकाको तीन जिल्लामा शुरु भएको घुम्ती सेवासमेत देशव्यापी बनाउन सकिएको छैन । 

हुलाक सेवा विभागका महानिर्देशक आनन्दराम रेग्मी हुलाकको गरिमा र महत्व कायम राख्न कर्मचारी एकजुट भएर लाग्नुपर्ने बताए। स्थिर सरकार भएकाले पनि सेवा प्रभावकारी हुने आशा उनको छ । 

गोश्वारा हुलाकका अनुसार ३० प्रतिशत दरबन्दी रिक्त हुनु, प्रविधिलाई आत्मसात् गर्न नसक्नु, सेवा रुपान्तरण गर्न नसक्नु, बजेटको अभाव तथा हुलाकप्रति हेर्ने दृष्टिकोण नै नकारात्मक हुँदा समस्या परिरहेको छ । सेवा विस्तार गर्न सरकारले बनाएको हुलाक सुधार कार्यदलका संयोजक राजेन्द्रप्रसाद शर्मा सञ्चार क्षेत्रको पुरानो सेवा दयनीय बन्दै गएकाले स्वायत्त संस्थाका रुपमा विकास गरी सेवा समयानुकूल बनाउनुपर्ने बताए । कार्यदल यसैमा केन्द्रित रहेर काम गरिरहेको उनले जानकारी दिए । 

सूचना तथा प्रशारण विभागका महानिर्देशक बालकृष्ण घिमिरे हुलाक सेवा सरकारको प्राथमिकतामा नपरेको बताए । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएशनका अध्यक्ष टङ्क हुमागाई प्रविधिमैत्री बनाउँदै अन्य देशका हुलाकले झै सेवा दिनु जरुरी रहेको आँैल्याए। तथ्याङ्कअनुसार विश्वमा १९२ देशको छ लाख कार्यालयमा ५३ लाख हुलाककर्मी छन् । कुनै समय चीन र इजिप्टमा हुलाक सेवाको संरचना बनेको थियो । आधुनिक हुलाक सेवाको शुरुआत सन् १६३५ बाट भएको हो । सन् १८७८ मा विश्व हुलाक संघ स्थापना भएको थियो । 

नेपालमा भने १९३५ बाट हुलाक सेवा शुरु भएको हो । सन् १९५६ मा नेपालले विश्व हुलाक संघको सदस्यता लिएको थियो । हाल ७० जिल्लामा ८४२ इलाका र ३ हजार बढी अतिरिक्त हुलाक कार्यालय छ । त्यस्तै १७ हजार जनशक्ति परिचालित छन् । नेपालबाट ३९ देशमा द्रुत डाँकसेवा सञ्चालनमा छ । 

विभिन्न कार्यक्रम गरी दिवस मनाईयो 

राजधानीमा आज १४४औं विश्व हुलाक दिवस हुलाकसेवा विभाग र गोश्वारा हुलाक कार्यालयले विभिन्न कार्यक्रम गरी मनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव वीरेन्द्रकुमार मिश्रले चिठीमा टाँचा लगाएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सोही सन्दर्भमा आज काठमाडौमा हुलाकमा उत्कृष्ट सेवा पु¥याउने कर्मचारीलाई सम्मान गरियो । पुरस्कृत हुने कर्मचारीमा जुजुकाजी डंगोल, नन्दा पौडेल, दिपक घिमिरे छन् । 
नारायण ढुङ्गाना (रासस) 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर