• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

हट्यो पोखराको एकीकृत सम्पत्ति कर, कर तिरिसकेकाको के हुन्छ ?

पोखरा । पोखरा महानगरपालिकाले लिँदै आएको एकिकृत सम्पत्ति करको व्यवस्था हटेको छ । चौतर्फी विरोध र अदालतको अंकुश पछि महानगर नयाँ कर प्रणालीमा जान बाध्य भएको हो । विहिबारको कार्यपालिका बैठकबाट नयाँ कार्यविधि पारित भएसँगै एकिकृत सम्पत्ति कर खारेजी भएको हो । अबदेखि महानगरले सम्पत्ति कर र भूमीकर शीर्षकमा कर संकलन गर्नेछ ।

अनाधिकृत रुपमा महानगरले कर असुल गरेको भन्दै उच्च अदालत पोखरामा मुद्धा परेको थियो । मुद्धाको सुनुवाई गर्दै अदालतले एकीकृत सम्पत्ति कर नअसुल्न आदेश जारी गरेपछि महानगरले नयाँ बाटोबाट कर संकलन गर्न लागेको हो । पहिलेकै एकीकृत सम्पत्ति करका केही बुँदाहरु मिलाएर नयाँ कार्यविधि तयार गरिएको पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए । उनका अनुसार अब घर र घरले चर्चेको जग्गाको सम्पत्ति कर र त्यसबाहेकका जमिनमा भूमीकर लगाईनेछ ।

‘मालपोतले गरेको मूल्यांकनकै आधारमा कर संकलन हुने उनी बताउँछन् । मालपोतले सबै जग्गाको मूल्यांकन गरेको छ । त्यसैलाई आधार बनाएर करको दर निर्धारण हुन्छ, उनले भने ।’ कार्यपालिकाबाट कार्यविधि पारित भैसकेको र केही दिनमा राजपत्रमा निकालेपछि कार्यान्वयनमा लैजाने पौडेल बताउँछन् । असोज १७ गते देखि महानगरमा एकीकृत सम्पत्ति कर खारेजीमा परेको हो । यसअघि कर तिरिसकेका करदाताको चाहीँ आगामी बर्ष समायोजन गर्ने महानगरले जनाएको छ ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर