• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कलाभित्र लुकेको यथार्थ कहानी (फोटोफिचर)

काठमाडौं । सेतो भित्ता, त्यसमा रङ्गिएका रङ्गहरु झट्ट हेरेर सामान्य कोहीले फोहोर बनाएको वा त काम न पाएर भित्ता कोरेको भन्छन् । तर त्यो कोरिएका चित्र भित्रको यथार्थता बुझ्न एक पटक आर्ट काउन्सिल बबरमहल जानै पर्ने हुन्छ । 

एक व्यक्तिको जीवन, ऊभित्र लुकेको कला र कला भित्र लुकेको जीवनको यर्थाथता चित्रकार आनन्द सुभमले कोरेको चित्र र भोगाईले छर्लंग पार्छ । हो, आनन्द सुभम त्यही व्यक्ति हुन्, जसको वास्तविक जीवनका कहानीहरुले भरिएका कलात्मक तस्विरहरु एउटा बाकसबाट निस्किएर आर्ट काउन्सिलको भित्तामा फैलिए ।

भनिन्छ, मानिस जन्मदै एउटा न एउटा कला बोकेर जन्मन्छ । तर निर्दयी समाजले त्यसलाई भित्रभित्रै दबाएर मार्न विवंश बनाउँछ । हो त्यही संघारको अकाल्पिनिक दोसाधका जीवन उनको आर्टमा उद्धारित भएका छन् । आफ्नो कलाको बारेमा बोल्दै आनन्द सुभम भन्छन्, ‘यो मेरो व्यक्तिगत यात्रा हो । मैले आफूले कोरेका यतिका चित्रहरु देखाउनुको एउटै मात्र उद्देश्य भनेको हामीले हाम्रो बालापनका कला कसरी दबाउँछौ र त्यसले हाम्रो माइन्डमा कति असर पार्छ त्यो देखाउनु हो ।’

६ कोठाका सेता भित्तामा सुभमका कला, जसलाई चाहेर वा अन्जानमा त्यागेको लत्याइएको र अन्ततः जित कलाकै भएको चित्रकथा देखाइएको छ । एउटा बालकले घरको भित्ता, दिदी–दाईको कापीमा कोरेर वा भान्साको सामान रंग्याएर होस्, उसले आफ्नो कला पोख्छ, जति बेला उसलाई आफू के हो भन्ने नै थाहा हुदैँन । कला हो भनेर त जान्ने कुरै भएन । तर अन्जानमा भएपनि त्यो उसको कलालाई फोहोर सम्झेर मेटाउन लाग्ने हजाराँै हुन्छन् ।

तर कला कला हो । हजारौँ कष्ट पार गरेर भए पनि मनमा अठोट भए काम सफल हुन्छ भन्ने वास्तविकता ६ कोठा भित्रका आनन्द सुभमका चित्रहरुले बोलीरहेका हुन्छन् । 

एउटा कोठामा जहाँबाट चित्रकारले बालापनमा आफ्नो कलाको सुरुवात गर्छ, त्यो कला स्कूल लाइफमा आएर कुण्ठित हुन्छ । स्कूल जीवनमा आएर धेरै कुरा सिक्ने मौका पाउँछ, तर आफूमा भएको कला भने दबाएर बस्नुपर्ने हुन्छ । स्कूलमा अभिभावकले आफ्नो सन्तानले केही सिकोस्, उसको भविष्य बनोस् भनेर पढ्न पठाउँछन् । तर अभिभावक र स्कूलका शिक्षकहरुले बाल्यकालको उसमा भएको त्यो कला भित्र–भित्रै लादन विवश बनाउँछ । 

सबले एउटै सिक्नुपर्ने बाध्यताले गर्दा आफूमा भएको कला र रचना कुण्ठित भएर स्कुलको जिवन बित्छ । यसलाई यथार्थ रुपमा देखाउन चित्रकारले कचरामा फालिएका ती वर्षौदेखिका मेहेनत गरिएका कपीका पन्ना, परिक्षामा लेखिएका पन्नाहरु भित्ता टाँसेका छन् ।

स्कुलको जीवनलाई पार गरेर जब उसमा वयस्क आउँछ, उसले फेरी त्यही बालापनमा फर्कन खोज्छ, परिवार र आफन्त कसैको पनि वास्ता नगरी ऊ एक पटक आफ्नो कला देखाउन लड्न खोज्छ । तर उसलाई आफ्नो  कला देखाउने बाटो खोल्न कसैले सहयोग गर्दैैन । एक न एक कुराले उसलाई फेरी आफ्नो बाटो मोड्न विवश बनाउँछ । त्यो काल खण्डमा उसले आफूलाई चिनाउन लाख कोसिस गर्छ, तर सक्दैन । 

तर जव उसको बालापन, स्कूल लाइफ, ‘टिनएज’ सकिन्छ, र आफुलाई एउटा रङ्गिन जीवनमा पाउँछ, बाटोमा फालेको कचरामा उसले जीवन जिउँनुको रौनकता पाउँछ । अनि इम्लीको बोक्र्रा, चुरोटका बटटा, यावत कवाडीका समानबाट रंगिन संसार बनाउँछ । 

आर्ट काउन्सिल पुग्दा चित्रकारकी सहयोगी ‘भुसिता’ भन्दै थिइन्, ‘विहान लिँदै गरेको कप हातबाट खसेर फुटयो, उसले त्यो फुटेको कपलाई भित्तामा लगेर टाँस्यो, त्यो यति कलात्मक देखिएको थियो, सायद कमैले मात्र पत्याउँछन् होला कि त्यो फुटेको कपबाट बनेको कला हो ।’ 

प्रदर्शनीको एक कोठमा आफूभित्र भएको कला देखाउन नपाउदै उसको मृत्यु हुन्छ । तर उसले मृत्युको काल कोठरीमा पनि आफुलाई २ वटा स्वरुपमा पाउँछ र उसले सोच्छ, ‘कला जन्माउने र मार्ने म आफै रहेछु’ । 

‘वास्तवमा समाज, परिवार ज–जसले मलाई रोके पनि आखिर उल्झनमा परेको म आफै हो, त्यसैले म मेरो कला मर्न दिनेछैन भनेर फेरी कलाको जन्म भएको छ’, यही बताइरहेका छन् काउन्सिलको अन्तिम कोठाको भित्तामा चित्रकार अनन्दले बनाएका हालसालका चित्रहरुले । त्यो चित्रको आकलन जति निर्जिव छन्, त्यो भित्रको भावनाले पूर्ण रुपमा सजिव बानाएको छ । 

चित्रकला हेर्न आएका एक अभिभावक सोना लिम्बु भन्दै थिइन्, ‘यो एउटा उदाहरणीय काम हो । हामी हाम्रो बच्चाहरुलाइ घोडालाई लगाम लाए जस्तै गर्छौ, जसले गर्दा उनीहरुमा भएको कला दबिएर बस्न विवश हुन्छ । आज यो प्रदर्शनीमा आउदा यस्तो लाग्यो की म कति ठूलो भुल गदैरहेछु ।’ यस्तै वास्तविक घटनाको श्रृंखला बोकेको आनन्द सुभमको चित्रहरुको प्रदर्शनी शुक्रबार सम्पन्न हुने भएको छ ।
 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर