• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

विद्यार्थीको आकर्षण प्राविधिक शिक्षातर्फ बढ्यो

उर्लाबारी । सामुदायिक विद्यालयमा प्राविधिक विषयको शिक्षा थप भएपछि विद्यार्थीको आकर्षण त्यसतर्फ बढ्दै गएको छ । 

उर्लाबारी–३ स्थित दुर्गा माध्यमिक विद्यालयमा व्यावसायिक शिक्षा तथा तालीम परिषद् (सिटिइभिटी) बाट मान्यता प्राप्त सिभिल ओभरसियर शैक्षिक कार्यक्रम शुरु भएपछि विद्यार्थीको आकर्षण प्राविधिक शिक्षातर्फ बढेको हो । 

सो विद्यालयमा सिभिल सव ओभरसियर कक्षा आजदेखि सञ्चालनमा आएको छ । सय बढी विद्यार्थीले आवेदन दिए पनि कोटा अनुरुप ४० जनाको मात्र भर्ना लिइएको विद्यालयका प्रधानाध्यापक शारदा पाण्डेले जानकारी दिए । 

रोजगारीको अवसर, आफ्नै पेशा सञ्चालनमा सहजजस्ता कारणले सिभिल ओभरसियरतर्फ विद्यार्थीको आकर्षण बढेको पाण्डेको भनाइ छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा उर्लाबारी– ३ का वडा सदस्य सोमप्रसाद तिम्सिना (राम)ले नगरपालिकाबाट प्राप्त आफ्नो तलब, भत्ता र सुविधाबापत एक वर्षको एक मुष्ट रकम विद्यालयलाई हस्तान्तरण गरे । उनले विद्यालयको अक्षय कोषमा रहने गरी एक लाख २५ हजार ५०० रुपैयाँ नगद विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारसमणि कुइँकेल र प्रअ पाण्डेलाई प्रदान गरे । 

आफू सोही विद्यालयमा प्रारम्भिक शिक्षा लिएको उल्लेख गर्दै तिम्सिनाले जो जता पुगे पनि धरातल बिर्सिन हुन्न र आफ्नो पहिलो खुड्किलोलाई माया गर्नुपर्छ भने । दुर्गा माविमा निम्नस्तरका विद्यार्थीको अध्ययन सहज भएको बताउँदै यस्ता विद्यालयलाई सबैले सहयोग गर्न विद्यालयका सहप्रधानाध्यापक श्रीप्रसाद न्यौपानेले आग्रह गरे । 

सिभिल सव ओभरसियरको कक्षा, पुस्तकालय र कम्प्युटर प्रयोशालाको मोरङ क्षेत्र नंं १ का सांसद घनश्याम खतिवडाले आज उद्घाटन गरे । विद्यालय परिसरमा आयोजित कार्यक्रममा खतिवडाले सरकारले प्राविधिक शिक्षालाई जोड दिएको बताए । 

उहाँले संसार नै प्रविधिमैत्री हुँदै गएकाले सरकारले प्राविधिक शिक्षामा जोड दिएको बताए । ‘अबको युग नै प्रविधिको हो, हामीले प्राविधिक शिक्षामा जोड दिएका छौँ’, सांसद खतिवडाले भने । सबैतिर सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षा पढाउने अनुमति दिनुपर्ने भन्दै सांसद खतिवडाले भने, ‘निजी होइन अब सरकारी सामुदायिक विद्यालयबाट नै प्राविधिक शिक्षालाई जोड दिनुपर्छ ।’

प्रदेशसभा सदस्य कुशल साम्बा लिम्बूले सार्वजनिक शिक्षाको सुधारका लागि शिक्षक र सिटिइभिटीसँग ठूलो अपेक्षा गरिएको बताए । उनले प्राविधिक जनशक्ति पर्याप्त उत्पादन गर्न सकेमात्र देश विकास हुने बताए । 

कार्यक्रममा उर्लाबारी नगरपालिकाका उपप्रमुख लक्ष्मी भण्डारी, वडा नं ३ का वडाध्यक्ष गञ्जबहादुर कार्की, वडा सदस्य सोमप्रसाद तिम्सिना (राम) लगायतले प्राविधिक विषयको अध्ययन गर्नेले रोजगारीको अवसर पनि चाँडै पाउने र रोजगारी नभएमा आफैँ व्यवसाय सञ्चालन गर्न सक्ने धारणा राखे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर