पोखराका सात ताल जोड्न फुट ट्रयाक निर्माण गर्ने तयारी

पोखरा । पोखरा महानगरपालिकाले सात वटा ताल जोड्ने गरी पैदल मार्ग (फुट ट्रयाक) निर्माणका लागि तयारी थालेको छ । फुट ट्«याक निर्माणका लागि अध्ययन गर्ने तयारी थालिएको महानगरले जनाएको छ । 

महानगरपालिकाले तालहरु जोड्न फुट ट्रयाक निर्माणको लागि ५० लाख रुपैयाँ बजेट छुट्टाएको छ । योजनालाई महानगरपालिकाको रातो किताबमा उल्लेख गरिएको छ । तालहरु जोड्ने फुट ट्रयाक निर्माणले पर्यावरण संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास समेत महानगरपालिकाले लिएको छ ।

पोखराको फेवाताल किनारमा पोखरा उपत्यका नगरविकास समितिले फुट ट्रयाक निर्माण गरेको छ । त्यहाँ झण्डै डेढ किलोमिटर लामो फुट ट्रयाक निर्माण गरिएको छ । ‘तालहरु जोड्ने फुट ट्रयाक बनाउने योजना छ । त्यसको लागि आवश्यक डिपिआर तयार भएपछि काम अगाडि बढाईने छ ।’ पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीका स्वकिय सचिव लक्ष्मण तिमिल्सिनाले भने–‘डिपीआर बनाउने अभियान छ । त्यसपछि फाईनल रिपोर्ट बनाई काम अगाडि बढ्ने छ ।’

तत्कालिन लेखनाथ नगरपालिकाले नगरपालिका क्षेत्रभित्र रहेका सातैवटा तालहरुको बारेमा अध्ययन गरी फुट ट्रेल (ट्रयाक) निर्माण गर्ने प्रस्ताव गरिएको थियो । झण्डै डेढ दशक अघि (२०६० साल ताका) तालहरु जोड्ने गरी ताल किनारमा ट्रयाक निर्माणको योजना अघि सारिएको थियो । योजना अनुसार लेखनाथ नगरपालिकाले झण्डै ६० लाख रुपैयाँ खर्च गरिसकेको नगरपालिकाका कानून अधिकृत राममणि अधिकारीले बताए । उनी अहिले पोखरा महानगरपालिकाका कानून अधिकृत समेत हुन् ।

अधिकृत अधिकारीले विजयपुरहुदैं गुँदेतालसम्म ट्रेल शुरु गरी रुपातालमा पुगेर टुंग्याउने योजना रहेको बताए । ‘पहिलो लेखनाथ नगरपालिका हुँदा बनाएको योजना गुँदे ताल टु रुपाताल थियो । अहिले महागरपालिकाले डिपिआर बनाएपछि नयाँ बन्ने सम्भावना पनि उत्तिकै छ ’ उनले भने । 
ट्रेल २९ किलोमिटर लामो हुने छ । पाँच फिट चौडाईको ट्रेल निर्माण गर्न आवश्यक डिपिआर नै बनाउनुपर्ने खाँचो समेत उनले औँल्याएका छन् । कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मथलो कालिका अर्चलेदेखि आरुपाटा हुँदै लामास्वाँरासम्म ट्रयाक खोलिएको छ । तर त्यसलाई पूर्णता भने दिईसकिएको छैन् । सडक सञ्जालले जोड्नुपर्ने आवाज उठेपछि पर्यावरण संरक्षण गर्न बाटो लैजान नहुने तर्क समेत छ ।

‘बाटो लैजादाँ तालको अस्थित्व नै संकटमा पर्ने सम्भावना छ ।’ उनले भने–‘फुट ट्रेल(ट्रयाक) निर्माण गर्न सकिए तालसँगै पर्याबरण समेत जोगिने छ ।’ महानगरपालिकाले तालहरुको माथिल्लो तटिय क्षेत्रलाई लाभान्वित बनाउनपनि फुट ट्रयाक निर्माण गर्नुपर्नेमा जोड दिए । लेखनाथ क्षेत्रका तालहरु यतिबेला संरक्षणको पखाईमा छन् । केही तालहरुलाई स्थानीय सहकारी मार्फत संरक्षणको अभियान गरिसकिएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर