• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

भ्रष्टाचारप्रति शुन्य सहनशीलता: भाषणमा कि परिणाममा ?

नेपालमा भ्रष्टाचारको मात्रा अत्यधिक छ । राजनीतिमा तुमुलकारी परिवर्तन आए पनि भ्रष्टाचारको पारो घटेको छैन बरु बढेको छ । अधिकांश भ्रष्टाचार नेताहरुको संरक्षणमा नै हुने गरेको छ । करोडौं खर्च गरेर चुनाव जित्ने अनि त्यसको दोब्बर प्रधानमन्त्री वा मन्त्री हुँदा राज्यको ढुकुटीबाट दोहन गर्ने त परम्परा जस्तै भइसक्यो । नेताहरुमा समेत राजनीति आखिर पैसा वा वलिदान के का लागि भन्ने प्रश्नको राम्रो उत्तर छैन । नेताप्रति जनताको अपेक्षा पनि विचित्रकै हुने गरेका छन् । नेतालाई जादुको छडी ठान्नेको संख्या पनि कम छैन ।पैसा नभएको नेता के नेता भन्ने आम मानिसको बुझाई छ । नेता हुन चाहिने गुण के—के हुन् ? के नेतागिरी सजिलो विषय हो ? के जनताले सधैं सही नेता चुन्छन् ?

निर्मल भट्टराई

१) समस्याको जरो कहाँ ?
नेपालमा राजनीतिक पार्टीको अभ्यास भएदेखि नै नेता बन्ने अभ्यास पनि शुरु भएको हो । त्यस यता नेपालले सयकडौ नेताहरु ब्यहोरेको छ । ती नेताहरुले देशलाई दिएको योगदानको चर्चा त समयक्रममा भइरहेको देखिन्छ तर उनीहरुको राजनीतिक जीवनमा ब्यक्तिगत स्वार्थको मात्राले कति असर पार्यो भन्नेतर्फ विरलै ध्यान गएको पाइन्छ । 

मानिसले जन्मदै लिएर आएका केही गुणले उसको जीवनको समग्र फ्रेमिङ्ग  गरिरहेको हुन्छ । भनिएकोछ, मानिसले जन्मदै सातवटा दुर्गुण लिएर आएको हुन्छ । लोभ, रिस, ईष्र्या ,अल्छ्याईं, कामुकता, खन्चुवापन र अरुको सम्पत्ति छिन्ने प्रवृत्ति जस्ता जन्मजात स्वभावले मानिसलाई  जीवनभर पछ्याइरहन्छन् । नेता बनेर देश र समाजको सेवा गर्न तम्सनेहरु यी आफूसगैं आएका दुर्गुणहरु नियन्त्रण गर्न कति सफल होलान् ? एउटा नेताले लोभ नियन्त्रण नगरे के होला ? नेताको त्यही लोभी प्रवृत्तिले भ्रष्टाचारको जालो हट्न सकेको छैन । आफ्ना खराब आकाङ्क्षाहरुको नियन्त्रण गर्न नसक्ने व्यक्ति नेता बन्यो भने त्यसले देश र समाजको भलो नहुने निस्चित छ । पाएको बेला आफू र आफ्नो परिवारको निम्ति कमाई हाल्ने र आगामी चुनाबको लागि खर्च बटुल्ने उदेश्य बोकेका नेताको हातमा राज्यको बागडोर रहेसम्म भ्रष्टाचारले जरो गाडिरहन्छ ।

२) के पैसा नभई नेता बन्न सकिदैन ?
“पैसा नभई नेता बन्न सकिदैन ” यो सबैतिर सुनिने वाक्य हो ।यो विल्कुल गलत मान्यता हो । राजनीति विचार र व्यवहारले गर्ने हो ।  पैसाले गर्ने होईन । पैसाको भरमा मात्र राजनीति गर्ने हो भने त करोडौं पैसाको आवस्यकता पर्दछ । नेतालाई धेरै पैसा चाहिने परिपाटी नबदल्ने  हो भने त एकाद अरबपति बाहेक कसैले राजनीति गर्न सक्दैन । भ्रष्टाचार गरेर अकुत सम्पत्ति नकमाउनेले राजनीति गर्न सक्दैन । डनगिरी गर्ने, कालाबजारी गर्ने र भ्रष्टाचार गर्न सक्नेले मात्र राजनीति गर्ने हो भने स्वच्छ राजनीतिको कल्पना गर्नु आकाश चाटेर अघाउने कल्पना जस्तै हुन्छ ।

एकपटक नेकपाका अध्यक्ष प्रचण्डले कि शक्ति बन्दुकमा  कि शक्ति  पैसामा हुँदो रहेछ  भने  । यो भनाईको अर्थवर्गीय समाजमा सामन्तवादी, दलाल पूँजीपति वर्गसंग पैसाको शक्ति हुने भएकोले त्यसको प्रतिरोधमा सर्वहारा श्रमजीवी वर्गले हतियारको शक्तिको प्रयोग गर्नु पर्ने हुन्छ भन्ने पनि लाग्दथ्यो । तर यसलाई त्यही अर्थमा ग्रहण गरिएन । हतियार बुझाईएको सन्दर्भमा यो भनाईलाई कतिपय नेता कार्यकर्ताले“अब येनकेन प्रकारेण पैसा कमाउ” भन्ने लगाए ! 
तत्कालीन एमाले र कांग्रेसका कतिपय नेता कार्यकर्ता राजनीतिलाई पनि नाफा घाटाको व्यवसाय ठान्दछन् ।नाफा घाटा भने पछि त्यहाँ लगानीको विषय बन्ने नै भयो । आर्थिक लगानी गरेर नेता भए पछि सावाँ ब्याजसहित त्यो लगानी उठाउनु पर्यो । अनि भ्रष्टाचार कसरी रोकिन्छ ?

३) को दोषीः नेता कि जनता ?
नेता बनाउने जनता हुन् । जनताको भोट बेगर नेताको अस्तित्व रहन्न । जनताले कस्तो नेता छान्छन् भन्ने अहिलेको अहम् प्रश्न हो । पार्टीको नीतिको खोल ओडेर थुप्रै खराब मानिसहरु राजनीतिमा आएका छन् । कालो धन बोकेर राजनीतिको जोड घटाउ र खरीद विक्रीमा लागेका तत्वलाई राजनीतिको घेराबाट गलहत्याउन जनता सफल हुन सकेको दिन राजनीति कुनै फोहोरी खेल होइन, पवित्र कार्य हुनेछ । चुनावको वेला भोट खरीद गर्न नदिने परिपाटी मात्र बसाल्न सकिए राजनीतिमा विस्तारै इमान्दार नेतृत्वको उदय अवस्य हुनेछ । आफ्नो मतको महत्ता नबुझेर आना सुकीमा भ्रष्ट नेतालाईमत बेच्ने प्रचलनलाई अभियानै सञ्चालन गरेर हटाउनु पर्दछ । यसमा जनताको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । 

४) कार्यकर्ताको भरणपोषणवारे
नेपाली कांग्रसमा तत्कालीन एमाले र माओवादीमा जस्तो पूर्णकालीन भत्ता दिने व्यवस्था छैन भनिन्छ । तर पैसावाल नेताले आफ्ना विस्वासपात्र कार्यकर्तालाई आर्थिक सहयोग गरिरहेछन् । तत्कालीन एमालेमा औपचारिक निर्णयको आधारमा नेताहरुले पूर्णकालीन भत्ता खाने प्रचलन थियो । नेकपाले त्यही परम्परालाई निरन्तरता दिने प्रायः निस्चित छ । 

एक चिनियाँ भनाई छ—कसैको भलो गर्नु छ भने उसलाई माछा नदेऊ,बरु उसलाई माछा मार्न सिकाऊ ।” “समृद्ध नेपाल, सुखी नेपाली” नारा दिएको नेकपाले तत्कालका लागि लोकपृय कार्यक्रम भन्दा दीर्घकालीन रणनीति बनाउने र आफ्ना सबै नेता कार्यकर्तालाई श्रमप्रति ईमान्दार बनाएर “ईजी मनी”को पछि दौडने परिपाटीको अन्त्य गरिनु पर्दछ । समृद्धिको लागि देशमा विद्यमान तमाम बेथितिको अन्त्य गरेर राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा आमूल परिवर्तन ल्याउन जरुरी छ ।चुनावदेखि चुनावसम्मको वर्तमान गोलचक्करबाट नेकपा बाहिर आउन नसके यो पार्टीको पनि नेपाली कांग्रेसको अहिलेको हालतभन्दा भिन्न हुने छैन ।

र, अन्त्यमा
नेता रातारात धनी बन्ने र जनता झन गरीब बन्दै जाने परिपाटी उल्ट्याउन राष्टिय अभियानको आवश्यकता छ । नत्र अक्तियार दुरुपयोग अनुसन्धान आयोगले मात्र हाम्रो देशमा व्याप्त भ्रष्टाचार न्यूनीकरण गर्न सक्ने सामथ्र्य राख्दैन । भ्रष्टाचार नियन्त्रण गर्न दृढ ईच्छा शक्ति भएको राजनीतिक नेतृत्व अति आवश्यक छ । प्रधानमन्त्री ओलीले भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति लिने बताउदै आएका छन् । अक्तियारको नयाँ नेतृत्वले आफ्नो काम पनि थालिसकेको छ । तर पनि भ्रष्टाचार निवारणमा खासै प्रगति भएको देखिन्न । राज्यको ढुकुटीबाट झिकेर नेता र कर्मचारी धनी हुने परिपाटी हटाएर सम्पूर्ण आर्थिक आकाङ्क्षा तिलान्जलि दिन सक्ने नेता राज्यस्तर र जनस्तरबाट स्थापित गराउँदा मात्र देशको समृद्धि सुनिस्चित हुन्छ ।भ्रष्टाचारप्रति शुन्य सहनशीलता अब भाषणमा होईन, व्यवहारमा देखिनु पर्छ, परिणाममा दर्शिनु पर्छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर