प्रदेशले ओभरटेक गर्दा दुर्घटना निम्तिन सक्छ: अध्यक्ष प्रचण्ड

नेहा झा / जनकपुरधाम  । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा आउन लागेको नयाँ युगको नेतृत्व प्रदेश २ ले गर्ने दावी गरेका छन् । 

संघीय व्यवस्थाको कार्यान्वयनको चरणमा मुलुक रहेकोले यसको नेतृत्व गर्ने क्षमता प्रदेश दुईमा रहेको बताउँदै नेकपा अध्यक्ष प्रचण्डले यसका लागि प्रदेश दुईलाई तयार रहन आग्रह गरे । उनले अहिले सबैभन्दा पिछडिएको प्रदेशको रुपमा रहेको प्रदेश दुईलाई देशकै सबैभन्दा समृद्ध प्रदेश निर्माणका लागि एकजुट हुनु आवश्यक रहेको बताए । 

नेकपाको प्रदेश दुई कमिटीले विजयादशमी, दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले राष्ट्रिय एकता विना प्रदेश दुईको जनताको अधिकार सुनिश्चित हुन नसक्ने दावी गरे । उनले मधेशी जनताको अधिकार सुनिश्चितताका लागि संविधान संशोधन आवश्यक रहेको स्विकार गरे । उनले भने ‘मधेशी जनताको अधिकारको ग्यारेण्टी गर्नका लागि संविधानलाई परिमार्जन गर्दै अगाडी बढ्नु पर्ने अहिलेको आवश्यकता रहेको छ ।’ उनले भने ‘मधेशी जनता विभेदमा छन् तर यसको अर्थ यो होइन कि यो मुलुक निर्माणमा मधेशी जनताको योगदान कसैभन्दा कम छ । ’

काठमाडौंलाई मधेशी जनताबाट अलग्गयाएर सोच्नु मधेशी जनताको इतिहाससंग धोका हुने उनले दावी गरे । काठमाडौं निर्माणमा मधेशी जनताकै ठूलो योगदान रहेको चर्चा गर्दै प्रचण्डले मधेशी जनताको अधिकार प्राप्तिका लागि वर्तमान सरकार कटिबद्ध रहेको दावी गरे । 
अध्यक्ष प्रचण्डले भने ‘ प्रधानमन्त्री केपी शर्मा ओली र मेरो भारत तथा चिनको भ्रमणले नेपाल अब दुबै छिमेकी देशसंग मित्रवत डिल गर्न सक्ने स्थितिमा रहेको पुष्टी भएको बताए । वर्तमान सरकारको समयमा दुबै छिमेकी देशसंगको सम्बन्ध अझै प्रगाढ भएको उनको दावी थियो । 

प्रचण्डले दिए मुख्यमन्त्री राउतको प्रश्नको जवाफ   

नेकपाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रदेश दुईका मु्ख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले ऐन ल्याउन ढिलाई गरिरहेको भन्दै आलोचना गरेपछि नेकपाका अध्यक्ष प्रचण्डले हतारमा कुनै निर्णय नगर्न आग्रह गरे । उनले संविधानमा संघीय ऐन आएपछि मात्रै प्रदेशले ऐन ल्याउन सक्ने व्यवस्था रहेकोले यसकालागि प्रतिक्षा गर्न समेत आग्रह । 

प्रदेश दुईको प्रदेशसभाले पास गरेको प्रदेश प्रहरी ऐन तर्फ इंगित गर्दै प्रचण्डले हतारमा ल्याइएको कुनै पनि निर्णय मुलुकका लागि हितकर हुन नसक्ने बताए । उनले भने ‘प्रदेशले ओभरटेक गर्दा मुलुकमा दुर्घटना निम्तिन सक्छ ।’ संघिय प्रहरी ऐन आउन ढिलो भएको स्वीकार गर्दै देश समृद्धिको अभिभारा बोक्ने समय प्रदेश सरकारहरुको रहेकोले हतार नगर्न आग्रह गरे ।   
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर