प्रचण्डको अगाडि मुख्यमन्त्री राउतले पोखे आक्रोश, भन्छन्–‘सिंहदरबारका सिंह बाउण्ड्रीसम्म पार गर्न सकेन’

नेहा झा / जनकपुरधाम । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको रवैयाका कारण प्रदेश दुईका जनता विभेदमा परेको आरोप लगाएका छन् । 

नेकपा प्रदेश दुईको कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय सरकारले आवश्यक ऐन कानून बनाउन ढिलो गरिरहेको आरोप लगाउँदै भने, ‘संघीय सरकारको यही रवैयाका कारण प्रदेश दुईको ५५ लाख जनता अहिले पनि विभेदमा छन् ।’ संघीय सरकारले देखेको सुखी नेपाली समृद्ध नेपालको सपना छिट्टै पूरा होस भन्दै उनले भने, ‘मात्रै नारा लगाएर सबै नेपाली सुखी हुन सक्दैनन् र देश समृद्ध हुन सक्दैन यसलाई व्यवहारमा समेत लागु गर्न सक्नु पर्छ ।’

उनले संविधान जारी हुने बेलामा सिंहदरबार अब गाउँ–गाउँमा ठूलठुला नाराहरु लगाइएको स्मरण गर्दै भने, ‘सिंहदरबारको सिंह अहिले पनि सिंहदरबारको बाउण्ड्री वालसम्म पार गर्न सकेको छैन ।’


नेकपाका अध्यक्ष प्रचण्ड समेत उपस्थित रहेका सो कार्यक्रममा आक्रोश पोख्दै मुख्यमन्त्री राउतले संविधानलाई नै टेकेर प्रदेशसभाले सबै ऐन कानून निर्माण गरिरहेको दावी गरे । संघिय सरकारले संघिय प्रहरी ऐन नल्याएपछि मात्रै संविधानको धारा २६८ लाई टेकेर प्रदेश प्रहरी ऐन ल्याइएको स्पष्ट पारे । संविधान अनुसार एक वर्ष भित्र संघिय प्रहरी ऐन ल्याउनु पर्ने संवैधानिक व्यवस्था रहेपनि यसमा संघिय सरकार असफल भएको आरोप लगाए । मुख्यमन्त्री राउतले छिट्टै नै प्रदेश सरकारले संविधानलाई टेकेर निजामति सेवा ऐन, लोकसेवा ऐन ल्याउने जानकारी समेत दिए । 

उनले संघिय सरकारको असहयोगका कारण प्रदेशमा विकास निर्माणका कार्यहरुले गति लिन नसकेको बताए । मुख्यमन्त्री राउतले प्रदेशमा ५ हजार कर्मचारीको आवश्यक्ता छ तर संघिय सरकारले अहिलेसम्म २ सय ५० कर्मचारी मात्रै उपलब्ध गराएको जानकारी दिए । उनले प्रश्न गरे के ५ हजार कर्मचारी आवश्यक रहेको स्थानमा २ सय ५० कर्मचारीले विकास निर्माणका कार्यहरु गर्न सकिन्छ ?


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर