• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कांग्रेसको चियापान कार्तिक १६ गते 

काठमाडौं । नेपाली काङ्ग्रेसले विजयादशमी, तिहार, नेपाल सम्वत् ११३९, छठलगायत पर्वका अवसरमा आउँदो कार्तिक १६ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन अर्थात आज केन्द्र र सबै जिल्लामा आयोजना गर्ने भनिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबारका लागि सारिएको हो । 

कांग्रेसका पूर्व केन्द्रिय सदस्य तथा  पूर्व मन्त्री समेत रहेका चक्र प्रसाद बास्तोलाको गएको असोज २७ गते निधन भएका कारण उनको निधनको तेह्रौँ दिनसम्म शोक भएकाले उनीप्रति सम्मान प्रकट गर्दै शुभकामना आदानप्रदान र चियापानको कार्यक्रमको मिति परिवर्तन गरिएको पार्र्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कात्तिक १६ गते दिउँसो १ बजेदेखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा र उपत्यकाका तीन जिल्लाबाहेक अन्य जिल्लामा पनि आयोजना हुनेछ । उपत्यकाका तीन जिल्ला केन्द्रको कार्यक्रममा सहभागी हुनेछन् ।

कार्यक्रममा सबै राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सङ्घीय तथा प्रदेशका सांसद, संवैधानिक निकायका प्रमुख, विशिष्ट श्रेणीका राष्ट्रसेवक, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योेगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, सञ्चार गृह, पत्रकार, गैर आवासीय नेपाली सङ्घ संस्थाका प्रमुख लगायतलाई आमन्त्रण गरिएको काङ्ग्रेसले जनाएको छ ।

काङ्ग्रेसका संस्थापक नेता बिपी कोइरालाले विसं २०३३ मा भारत प्रवासबाट राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएपछि दशैँको कोजाग्रत पूर्णिमाका दिन शुभकामना आदानप्रदान गर्न चियापान कार्यक्रम आयोजना शुरु गरेका थिए । त्यसयता हरेक दशैँमा यो कार्यक्रमले निरन्तरता पाउँदै आएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर