पाल्पाको तिनछांगा र गुरु वशिष्ठ पर्यटकको आकर्षण बन्दै

                                     
कमल अधिकारी/ पाल्पा । तिनवटा झरनाहरुको मिश्रण भएको तिनवटा छांगाबाट झरेको चिसो पानी संगैको चिसो हावाले जो कसैको पनि मन लोभ्याउने गर्दछ । 

समुद्रि सतहबाट करिब दुईसय मिटरको उचाईमा रहेको यस ठाउलाई गुरु वशिष्ठले तपश्या गरेदेखि पहिचानमा आएको पाईन्छ । चारैतिर हरियाली जंगल संगै बीचमा माथिबाट झरेको झरनाले यहाँको रौनकतामा झनै मनोरमता थपेको छ । तिनछांगा बगनासकाली गाउँपालिकाको वडा नम्वर ४ खानिछाप, वडा नम्वर ५ दर्लमडाडा र वडा नम्वर ३ नायरनम्तलेसको बीच भागमा रहेको एक धार्मिक पर्यटकीय गन्तव्य हो ।

पाल्पा सदरमुकाम तानसेन देखि करिव १५ किलोमिटर उत्तरपूर्व र रामनदी धाम राम्दीबाट पाँच किलोमिटर दक्षिण पश्चिममा रहेको गुरु वशिष्ठ ऋषिले तपस्या गरेको पवित्र धार्मिक स्थलको रुपमा परिचित छ, तिनछांगा । तिनछांगा आफैमा माथिबाट झरेको तिनवटा झर्नाको सितलता संगै मनोरम दृष्यले भरिपूर्ण रहेको छ ।

 यस्तो मनोरम दृष्यलाई देखेपछि जो कसैको पनि मन लोभिन्छ । यहाँको कला संस्कृति र परम्पराले पनि यस क्षेत्रलाई परिचित गराउँछ । बिशेषतः यो ठाँउमा मगर र ब्रहामण जातीहरुको बसोबास रहेको छ । मगरहरुले डम्फू र मादलको तालमा झाम्रे र सालैजामा नाचले यस ठाउँलाई गुञ्जायमान गराउँछ । यसैगरी ब्रहामण समुदायमा पनि फागु, भजन, खेली धार्मिक एंव सांस्कृतिक महत्व राख्ने पर्वहरुमा यहाँका समुदायका मानिसहरुको सहकार्यताका साथ मनाउनु नै यस ठाउँको पहिचान हो । 

मगरी र ब्रहामणहरुको मिश्रीत समाज रहेको यस ठाउँका मानिसहरुले तिनछागालाई धार्मिक रुपमा हेर्ने गर्दछन । तिनवटा छांगाबाट  झरेको झरना र त्यसमा पनि उत्तर फर्केको हँुदा यसलाई धार्मिक रुपमा निकै महत्व दिईएको पाईन्छ । यहाँका मानिसहरुले यस ठाउँलाई त्रिवेणी धामको रुपमा मान्दै आएका छन । तिनछांगाबाट करिब तिन किलोमिटरको दुरीमा नवदुर्गा माताको मन्दिर रहेको छ ।

प्रत्येक वर्षमा असोज शुक्ल पूर्णिमाको कोजाग्रत पूर्णिमाको दिन रातभर जागराम बसी, अखण्ड कृतन गरेर अर्कोदिन बिहान तिनछांगामा लगेर फूलपाती विर्सजन गर्ने गरिन्छ । प्राकृतिक, सगँसँगै धार्मिक र साँस्कृतिक रुपमा  पनि भरपूर सम्भावना रहेको यसस्थल अहिले सम्म पनि कहिँ कसैको ध्यान पुग्न नसक्दा ओझेलमा परेको छ ।

परापूर्वक कालमा गुरु वशिष्ठले तपश्या गरेको यस पवित्र स्थलमा अहिलेसम्म पनि गुरुले ध्यान गर्दा बसेको पिर्का रहेको स्थानीय सोम प्रसाद अर्यालले जानकारी दिए । अर्यालका अनुसार गुरुले उत्तरतर्फ फर्केर बसेको पिर्का सगै गुरुले खाना खादा बनाइको अगेनो समेत चमेरो गुफा नजिक रहेको छ ।

ढुंगै ढुंगाले बनेको भित्र छिरेपछि अनौठा आकृती सहित भगवानका मुर्ति र स्तम्भहरु यस गुफामा देख्न सकिन्छ । अत्यन्त शान्त र अध्यारो रहेको यस गुफामा पनि गुरुले रामलाई ज्ञानका कुरा सिकाएको स्थानीयको भनाई छ । प्रचार प्रसारको अभावका कारण ओझेलमा परेको यो गुफा अहिले पनि त्यहाँ पुग्ने पर्यटकहरुका लागि आकर्षणको केन्द्रको रुपमा रहेको छ ।

गुफामा गाईका थुनहरु मुर्तिका आकृतिहरु प्रष्टसंग देख्न सकिन्छ । ऋषिले तपस्या गरेर गएपछि यस गुफामा कसैको ध्यान नगएपछि २० औ शताब्दितिर यस ठाउँमा चमेराहरु प्रशस्त पाईने हुँदा चमेरो गुफाको नामाकरण गरिएको पाईन्छ । गुरु वशिष्ठले राम्दीबाट खोलाको तिरैतिर आउने क्रममा गुरुवाखोलाको भोवरी रह नजिकको जंगलमा समेत तपस्या गरेको भन्ने किंवदन्ती छ । 

इतिहासलाई पल्टाएर र्हेदा गुरु वशिष्ठ र रामचन्द्र भगवानले ज्ञान हासिल गर्नका लागी एकान्त ठाँउ खोज्दै जादा नायर कोटदेविको पाउबाट बगेर आएको तिन वटा छांगा भएको ठाउँमा पुगी ज्ञान हासिल गरेको  पवित्र स्थललाई अहिले सम्म पनि मान्ने गरेको पाइन्छ । साथै गुरु वशिष्ठले भगवान श्री रामचन्द्रलाई सोही ठाउँमै धनुर्वेद साथै छ शास्त्र सम्बन्धी ज्ञान पनि सिकाएका थिए ।

उनले सोही समयमा बैदिक ज्ञान र राज्य संचालन सम्बिन्धी ज्ञान हासिल गरेको किम्बदन्तीको आधारमा योगी नरहरीनाथ बताउँछन । ऋषीले तपश्या गरेका ठाउहरुमा भगवानका आकृतीहरु अहिले सम्म पनि रहेको हुदा यस ठाउलाइ पवित्र स्थलका रुपमा हेर्ने प्रचलन रहेको छ ।

परापूर्वक कालमा भगवान श्रीरामले तपस्याका लागी हिडेका बेला भगवान श्रीराम र गुरु वशिष्ठ संगै हिड्दै आउदा प्यास लागेर पानी पिउन राम्दी आएर कालीगण्डकी नदीको जल पिएको र साही ठाउमा स्नान गरेको हुनाले त्यस क्षेत्र राम्दी क्षेत्रको रुपमा पनि चिनिन्छ ।

तिनछांगा र गुरुवाखोला

बगनासकाली गाउँपालिका ४ नं. वडा खानीछापमा रहेको गुडुवाखोला भौगोलीक दृष्टिकोणबाट विकट मानिएता पनि विकटतामा निकटता ल्याउने भौगोलिक अवस्थाहरु प्रसस्त पाइन्छन् । यो ठाउँ  दर्ललमडाडा, नायरनम्तलेस खानिछापकै खोचमा रहेको एक अचम्म र अलौकिक स्थान हो ।

यो ठाँउ उत्तरतिर फर्केको पासिलो जमिन भएका कारण यस ठाउँमा विभिन्न खालका विविधता सहितको भौगोलिक अवस्था पाउन सकिन्छ । नायरदेखि डेढ किलोमिटर तल खोच राम्दीदेखि करिब पाँच किलोमिटर दक्षिण पूर्वमा रहेको यो स्थल दाँया बाँयाबाट विरलै देख्न सकिन्छ ।

सिमसार क्षेत्र भएकै कारण यस ठाँउमा विभिन्न पचास प्रकारका चराचुरुगी र बन्यजन्तुमा सुन गोहोरो, मृग र नेपालमै लोप हुन लागेको ओत पनि यस क्षेत्रमा पाईन्छ । वास्तवमा गुरु र बा दुर्ई वाक्यको मिश्रणबाट गुरुबा भएकोले गुरु वशिष्ठले चेला रामलाई दिक्षा दिएको हुदाँ किम्बन्तीका आधारमा सो प्रमाणलाई आधार मानी यस खोलाको नामांकन गुरुबा खोला हुन पुगेको पण्डित भिमकान्त पण्डितको भनाई छ ।

किम्बदन्तीलाई आधार बनाइ त्यस ठाउँमा श्रीरामको मन्दिर स्थापना गरी प्रत्येक बर्षको बैशाख महिनामा तिनछांगामा स्नान गरी पुजापाठ गर्ने प्रचलन रही आएको स्थानीय सूर्यप्रसाद अर्यालले जानकारी दिए । 
वातावरणिय अनुकलन र पर्या पर्यटकिय संभाव्यता 
दक्षिण देखि उत्तरतर्फ फर्केकोे शितल मनोरम र सिमसार क्षेत्रमा पर्ने यस धार्मीक एवं पर्या पर्यटनका लागी पनि महत्वपूर्ण मानिन्छ । नायरको डाडाबाट देखिने अन्नपूर्ण र माछापुच्छे लगायतका  हिम शृखलाहरुको अवलोकनका लागि महत्वपूर्ण स्थल बनाउन सकिन्छ । 
कृषि र पशुपालनका लागि उपयुक्त स्थान 
यो ठाउ उत्तरतर्फ फर्केको भू वनोट भएका कारण यस ठाउमा बिशेषतः सुन्तला, कागती, मौसम लगायतका अमिलो जातका फलफूलको पकेट क्षेत्रको रुपमा परिचित मानिदै आएको छ । यहाँबाट बर्सेनी लाखौं रुपैँया बराबरको सुन्तला, कागती, मौसम, केरा, भुईकटहर जस्ता फलफूल साथै काउली बन्दा करेला लौका घिरौला लगायतका मौसमी बेमौसमी तरकारीले राम्दी, गलेङ बजार, तानसेन, बुटवल साथै स्थानीय उपभोक्ताहरुको आवश्यकतालाई पूर्ती गरेको छ ।

चिसो सेपिलो र घसिलो क्षेत्र भएका कारण यहाँको पशुपालन व्यवसाय पनि फस्टाएको छ । यस क्षेत्रबाट दैनिक सय लिटर भन्दा बढी भैसिको दुध निकासी हुने गरेको छ । बाख्रापालन बाट पनि यहाँका मानिसले मनग्गे आम्दानी गरेको स्थानीय भोज बहादुर चर्ती बताउँछन ।

समग्रमा हेर्दा उत्तरमा दर्लम महाकालीको तिव्र विकास संगै पश्चिममा रामनदीधाममा रहेको सिद्धगुफामा धार्मिक पर्यटकहरुको वृद्धि भएका बेला गुडुवाखोलामा रहेको गुरु वशिष्ठ ऋषिको तपोभुमि ओझेलमा परेको छ ।  देश विकाशका क्रममा यस क्षेत्रलाइ धार्मीक पर्यटकिय स्थलको रुपमा  विकास गरि राष्ट्रलाई आत्मनिर्भर बनाउने तर्फ ध्यान पुग्न नसक्दा यो क्षेत्रको विकास हुन नसकेको हो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर