१० बैंकको वित्तीय विवरण सार्वजानिक, हेरौं कुनको अवस्था कस्तो !

चन्दा कार्की/काठमाडौं । सञ्चालनमा रहेको २८ वाणिज्य बैंकहरुमध्ये १० बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अपरिस्कृत वित्तीय विवरण सार्वजानिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश बैंकको वित्तीय सुचक सकारात्मक नै रहेका छन् । 

अधिकांश बैंक मुनाफामा

चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा अधिकांश बैंकको मुनाफामा वृद्धि देखिएको छ । हालसम्म वित्तीय विवरण प्रकाशित गरेका दश वाणिज्य बैंकमध्ये नेपाल बैंकको मुनाफामा सामान्य गिरावट आएको भएपनि अन्य सबै बैंकको नाफामा बढोत्तरी भएको छ ।

समिक्षा अवधिमा सरकारी स्वामित्वको नेपाल बैंकको मुनाफा गतवर्षको सो अवधिमो तुलनामा करिब ६ प्रतिशतले घट्दा कुमारी बैंकको नाफा सर्वाधिक बढेको देखिन्छ । यो अवधिमा बैंकको मुनाफा १४३ दशमलव ६६ प्रतिशतले बढेको छ ।

त्यस्तै कृषि विकास बैंकले ८२ दशमलव १९ प्रतिशतले नाफा बढाएर ६६ करोड ३१ लाख रुपैयाँ पुर्याएको छ भने प्रभु बैंक लिमिटेडले पनि यो अवधिमा नाफा ७१ दशमलव ५७ प्रतिशतले बढोत्तरी गरेको छ । यो अवधिमा उच्च नाफा कमाउनेमा भने नेपाल बैंक लिमिटेड रहेको छ । बैंकले ९१ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
 

प्रभु बैंकको लाभांश क्षमता उच्च वृद्धि

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकहरुले नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) प्रतिवेदन अनुसार वित्तीय विवरण सार्वजानिक गर्दै आएका छन् । सो प्रतिवेदन अनुसार नेपाल बैंकको वितरण योग्य मुनाफा उच्च देखिन्छ  । एनएफआरएस प्रतिवेदन अनुसार नेपाल बैंकले ९७ करोड ९१ लख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । गत बर्ष यस्तो नाफा ९७ करोड १३ लाख रहेको थियो ।

त्यस्तै यो अवधिमा एभरेष्ट बैंकको वितरण योग्य मुनाफा भने गतवर्षको सो अवधिको तुलनामा घटेको देखिन्छ । यो अवधिमा एभरेष्टको वितरण योग्य मुनाफा ४९ करोड १ लाख रहेको छ । जबकि गतवर्षको सो अवधिमा बैंकको यस्तो मुनाफा ५३ करोड १४ लाख थियो । 

वित्तीय विवरण सार्वजानिक गरेका दश बैैंकहरुमध्ये प्रभु बैंकले लाभांशदर उच्च अंकले बढाएको छ । गतवर्षको तुलनामा बैंकले वितरण योग्य मुनाफा १५६ दशमलव ५० प्रतिशतले बढाएको हो । त्यस्तै कुमारी बैंकको वितरण योग्य मुनाफादर पनि १२४ प्रतिशतले बढेको छ । 
 

सरकारी स्वामित्वकका बैंकको चुक्तापूँजी अधिक

सरकारी स्वामित्वको बैंक कृषि विकास बैंकको चुक्ता पूँजी यो अवधिमा सर्वाधिक उच्च रहेको छ । सरकारको अग्राधिकार शेयरसहित बैंकको चुक्ता पूँजी १३ अर्ब ९३ करोड रुपैयाँ छ । बैंकमा ८ अर्ब ४९ करोड ९८ लाख १६ हजार साधारण र पाँच अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ सरकारको अग्राधिकार शेयर रहेको छ ।

चुक्तापूँजी धेरै हुनेमध्ये दोस्रो नम्बरमा सरकारी स्वामित्वको अर्को बैंक नेपाल बैंकको रहेको छ ।  गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८ अर्ब ४ करोड रुपैयाँ चुक्तापूँजी रहेको बैंकले एफपिओ बिक्री पश्चात २१ दशमलव ९५ प्रतिशतले चुक्तापूँजी बृद्धि गरी ९ अर्ब ८० करोड रुपैयाँ पुर्याएको छ । 

त्यस्तै नेपाल बैंकले आफ्नो जगेडा कोषमा पनि १९ अर्ब ६० करोड रुपैयाँ कायम गरेको छ भने कृषि विकास बैंकले १४ अर्ब ६९ करोड जगेडामा सञ्चित गरेको छ । 
यता कुमारी बैंकले भने हालसम्म पनि राष्ट बैंकले तोकेको ८ अर्ब चुक्तापूँजी पुर्याउन सकेको देखिदैंन् । बुधबार वित्तीय विवरण सार्वजानिक गरेको बैंकको चुक्तापूँजी ७ अर्ब १६ करोड रहेको छ । 

 कृषि विकासको निक्षेप संकलनको तुलनमा कर्जा बढी

समिक्षा अवधिमा चार बैंकले एक खर्बभन्दा बढी निक्षेप संकलन गरेका छन् । खर्बबढी निक्षेप संकलन गर्नेमा एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र कृषि विकास विकास बैंक रहेका छन् । जसमध्ये सरकारी स्वामित्वको कृषि विकास बैंकले निक्षेप भन्दा बढी कर्जा परिचालन गरेको छ । बैंकले एक खर्ब दुई अर्ब निक्षेप संकलन गरी एक खर्ब तीन करोड कर्जा लगानी गरेको छ ।
 

नेपाल बैंकको प्रतिशेयर आम्दानी उच्च, नेटवर्थमा कृषि विकास अगाडि

कम्पनीले आर्जन गरेको खुद मुनाफालाई कम्पनीको कुल साधारण शेयरले भागबण्डा गर्दा साधारण शेयरधनीहरुले प्रतिकित्ता शेयर बराबर कति कमाइ गरे भन्नेकुरा प्रति शेयर आम्दानीले जनाउँछ । प्रतिशेयर आम्दानी को आधारमा हेर्दा सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेड अगाडि देखिन्छ । बैंकको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै ग्लोबल आइएमई बैंकको उच्च २२ दशमलव ३३ गुणा मुल्य आम्दानी अनुपात रहेको छ । नेटवर्थ प्रतिशेयर आम्दानी कृषि विकास बैंकको ३ सय ३५ रुपैयाँ रहेको छ भने नेपाल बैंकको करिब ३ सय रहेको देखिन्छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर