• २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024

 एक लाखकोे खुकुरी, तौल ३५ किलो !

रामबहादुर थापा बागलुङ । हेर्दै अजङ्गको, तौल ३५ किलो र मूल्य पनि ९९ हजार ९९९ रुपैयाँ तोकिएको खुकुरी हेर्नेको भीड बिक्री कक्षमा छ । कालिगड मनबहादुर विकलाई खुकुरीबारे जानकारी दिँदैमा फुर्सद छैन । अहिले बडिगाड महोत्सव छिर्नेहरूको ध्यान खुकुरीले खिचेको छ । 

स्थानीय सीपबाट बनेको खुकुरी महोत्सवको आकर्षण बनेको हो । उक्त खुकुरी बनाउन आठ दिन लागेको कालिगड विकले बताए । अठतीस वर्षीय विकले १३ वर्षको उमेरदखि उक्त पेशा अपनाउँदै आएका हुन् । उनले महोत्सवमा खुकुरीसँगै अन्य घरेलु हातहतियार भाँडाकुडा बिक्रीमा राखेका छन् ।  

विगत सात वर्षदेखि बुर्तिवाङ बजारमा ‘बुर्तिवाङ आरन सेवा’ सञ्चालन गर्दै आएका विकले भने, ‘मेला तथा महोत्सव हुँदा ‘स्टल’ राख्छु ः एउटा महोत्सवमा जाँदा करिव रू एक लाखसम्म कमाइ हुन्छ ।’ छिमेकी जिल्ला गुल्मी, पाल्पा लगायत स्थानमा हुने मेला, महोत्सवमा पनि उनी स्टल लिन्छन् । 

आगन्तुकलाई लोभ्याउने गरी बनाएको खुकुरी किन्ने भन्दा पनि हेर्ने बढी हुन्छन् । सोख र पैसा भएकाले सजावाटका लागि ठूलो खुकुरी किन्ने गर्छन् । ‘ठूलो र महङ्गो खुकुरीको विशेष माग हुँदा मात्र बनाएर बेच्छौं’ कालिगड विकले भने, ‘महोत्सवमा आउने दर्शकले अनौंठो मानेर उक्त खुकुरीबारे जिज्ञासा लिने गरेका छन् ।’

फलामलाई आरानमा गालेर र घनले पिटेर खुकुरीको रुप दिन कडा मेहनत लागेको उनको भनाइ थियो । विकलाई व्यवसायमा उनकी श्रीमती सरिताले पनि साथ दिँदै आएकी छन् । मेला–महोत्सवमा आफ्नो उत्पादन लिएर जाँदा विक दम्पतिसँगै जान्छन् । विकको व्यवसायमा अन्य छ कालिगडले रोजगारी पाएका छन् । 

सबै खर्च कटाएर मासिक रु एक लाख आम्दानी हुने गरेको विक बताउँछन् । ‘आरन हाम्रो पुख्र्यौली पेशा हो’ विकले भने, ‘अहिले आरनलाई सुधारेर व्यावसायिक बनाएको छु ।’ विकका बुबा पदमबहादुर पनि अझै गाउँमा आरनकै काम गर्छन् । उनीहरुको पुख्र्यौली थलो ढोरपाटन नगरपालिका–६ अधिकारीचौर हो । 

‘बुबासँग काम गर्दै यो पेशा सिकेँ’, विकले भने, ‘व्यावसायिक रुपमा गर्नुपर्छ भनेर म बजार झरेँ ।’ आरन व्यवसायबाटै जोडेको धनले विकले ढोरपाटन नगरपालिका–२ बुर्तिवाङमा घर बनाउनुभएको छ । उनका दुई छोरा र दुई छोरी पढाइमा छन् । आफ्नो पुख्र्यौली सीप र पेशालाई सम्मानपूर्वक अगालेर विक सफल भएका हुन्  । 

बडिगाड गाउँपालिकामा पहिलोपटक आयोजना गरिएको ‘बडिगाड महोत्सव तथा पौँदी न्वागी मेला’मा घरेलु तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । महोत्सव यही मङ्सिर ९ गतेसम्म चल्नेछ । महोत्सवमा विविध खेलकूद तथा सांस्कृतिक कार्यक्रम राखिएको महोत्सव आयोजक समितिका अध्यक्ष कलाधर घिमिरेले बताए । उक्त महोत्सव शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर