• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

 छोरी जन्माउनेलाई प्रोत्साहन भत्ता सुरु

 विराटनगर । विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप आज रकम प्रदान गरेको छ । महानगरपालिकाले पहिलो सन्तान जन्माउने दम्पत्तिलाई नगद तीन हजार रुपैयाँ रकम हस्तान्तरण गरेको छ भने दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई  २५ हजार रुपैयाँ बैंकको अक्षय कोषमा जम्मा गरिदिएको छ । 

पहिलो र दोस्रो सन्तान छोरी जन्माउने चार दम्पत्तिका नाबालक छोरीका नाममा महानगरपालिकाले ग्लोबल आइएमी बैंकमा खाता खोलेर २५ रुपैयाँ हजार जम्मा गरिदिएको हो । यसरी भत्ता पाउनेमा विराटनगर१ का नुमा तामाङ, विराटनगर ५ का रोहिणी कट्टेल र सुमित्रा राय अमात तथा विराटनगर–४ का तारादेवी पोखरेल छन् । महानगरपालिकाले उनीहरुको छोरीको नाममा आमा संरक्षक रहने गरी सो रकम जम्मा गरिदिएको हो । 

गर्भमा छोरी रहेको थाहा पाएपछि भु्रण हत्या हुने क्रममा वृद्धि भएपछि त्यसलाई रोक्नका लागि महानगरपालिकाले पहिलो पटक यो अभियान चलाएको हो । दुई छोरी जन्माउने महिलालाई वर्षेनी एक कार्यक्रमको आयोजना गरी प्रोत्साहन भत्ता वितरण गर्ने महानगरपालिका प्रमुख भीम पराजुलीले बताए ।

महानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेट, नीति तथा कार्यक्रममा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको थियो । उपप्रमुख इन्दिरा कार्कीले, ‘छोरी बचाउ अभियान’ सँगै ‘छोरी पढाउ अभियान’ पनि शुरू भैसकेको जानकारी दिए । 

चालू आवमा यो कार्यक्रमका लागि १० रुपैयाँ लाख बजेट विनियोजन गरिएको छ । ‘छोरीलाई दहेज होइन, उच्च शिक्षा देऊ’ भन्ने उद्देश्य लिएर यो कार्यक्रम प्रारम्भ गरिएको उपप्रमुख कार्कीले जानकारी दिए । 

महानगरपालिकाले पहिलो सन्तान छोरी जन्माउने २३ दम्पत्तिलाई नगद रु तीन हजार प्रोत्साहन रकम प्रदान गरेको छ । दोस्रो छोरीको उमेर १८ वर्ष पुगेपछि अक्षय कोषमा जम्मा गरेको रकम झिक्न सक्ने गरी बच्चाका आमालाई संरक्षक बनाएर रकम जम्मा गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत कुमार दाहालले बताए । 

महागरपालिकाले प्रदान गरेको प्रोत्साहन रकम भत्ता लिनका लागि आमाको उमेर २० वर्ष पूरा हुनुपर्ने, गर्भको बेला कम्तिमा तीन पटक स्वास्थ्य जाँच अनिवार्य गरेको हुनुपर्ने लगायतका मापदण्ड तोकिएको छ । –मनोज दाहाल (रासस) 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर