• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

विद्युतीय जोखिममा सिङ्गो गाउँ

पर्वत । लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा पर्वतको एउटा सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ ।

पर्वतको कुश्मा नगरपालिका १२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल मर्मत र परिवर्तन नगर्दा झण्डै पाँच सय परिवार जोखिममा परेको स्थानीयले बताएका छन् ।

 घर नजिकैबाट गरिएको विद्युतीकरणका पोल जीर्ण भएर ढल्न लाग्दा कतिबेला मानवीय वा पशु चौपायाको क्षति हुने हो भन्ने त्रासमा बस्नुपरेको स्थानीयवासी दीपक सापकोटाले बताए । सम्बन्धित निकायको ध्यान जान नसक्दा भाँचिएका र जीर्ण बनेका पोल टुलुटुलु हेरेर बस्नुको विकल्प नभएको उनको भनाइ छ ।

विद्युतका काठे पोल परिवर्तन गरेर फलामे पोल राख्नका लागि माग गरे पनि सुनुवाइ नभएको उनले बताए । साविक ठूलीपोखरी गाविसको वडा नम्वर २ मा अवस्थित जनज्योति प्राविका विद्यार्थी झनै बढी जोखिममा परेका छन् ।

 विद्यालय हाताबाट तानिएको ‘थ्रि फेज लाइन’को पोलनै भाँचिन लागेकाले विद्यार्थी निकै त्रसित बनेका छन् । अब हावाहुरीको मौसम शुरु भएकोले कतिबेला पोल भाँचिएर विद्यार्थीलाई करेण्ट लाग्ने हो भन्ने त्रास बढेको स्थानीयवासी सन्तोष सुवेदीले बताए । 

उनले यसको मर्मतका लागि तत्काल सामुदायिक विद्युतीकरण समिति वा वडा कार्यालयले ध्यान दिनुपर्ने माग गरे । कतिपय फलामे पोल परिवर्तन गरिएका ठाउँमा पनि तार परिवर्तन नगरिएको गुनासो रहेको छ । 

पटकपटक विद्युत प्राधिकरण र नगरपालिकामा माग गरे पनि कुनै सुनुवाइ नभएको स्थानीयको गुनासो रहेको छ । यस्तै अवस्था रहने हो भने अबको चैत, वैशाखमा हावाहुरी आउँदा ठूलो दुर्घटना हुने सम्भावना रहेको स्थानीयवासी हेमराज सापकोटाले गुनासो गरे । 

कुश्मा नगरपालिका–१२ का अध्यक्ष राजेन्द्र पौडेलले लामो समय पोल परिवर्तन नहुँदा जोखिम बढ्दै गएको बताउँदै पोल परिवर्तनका लागि नगरपालिकाले पहल गरेको बताए । उनले उक्त वडामा मात्रै झण्डै २०० पोल परिवर्तन गर्नुपर्ने भएकाले त्यसको व्यवस्थापनमा लागिएको जानकारी दिए । 

यता समितिसमेत लामो समयदेखि निस्क्रिय बनेको छ । विद्युतको नियमित आपूर्ति नगर्ने, मर्मतसम्भारमा ध्यान नदिने र समितिको आर्थिक पारदर्शिता, साधारणसभा, अधिवेशनसमेत नगरेको स्थानीयको गुनासो रहेको रहेको छ । 

केन्द्रीय प्रशारण लाइनको पहुँचको अभावमा समुदाय र प्रत्येक घरधुरीबाट आर्थिक सङ्कलन गरेर विद्युतीकरण गरे पनि त्यसको पारदर्शिता कायम नगरेको स्थानीयवासी हेमराज सापकोटाले बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर