पोखरा विमानस्थलको ६ महिना अघि सक्ने तयारी, २५ प्रतिशत काम सकियो 

पोखरा । राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्रा्िष्ट्रय विमानस्थलको निर्माण कार्य तोकिएको समय भन्दा अघिनै सक्ने गरी तिब्र गतिमा काम भइरहेको छ ।  

सन् २०२१ को जुलाई १० मा सक्नुपर्ने सम्झौता भए पनि तोकिएको समय भन्दा ६ महिनाअघि नै सक्ने गरी युद्धस्तरमा काम भइरहेको सिनियर अफिसर ई. कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार अहिलेसम्म विमानस्थलको २५ प्रतिशत काम सम्पन्न भैसकेको छ ।

अहिले विमानस्थलको रनवे, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चढ्ने र ओर्लने स्थान), ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, जमिन सम्याउने लगायतका काम भइरहेको अधिकारीले बताए । अहिले एक सय जना चिनियाँ मजदुर र तीन सय नेपाली मजदुर गरी चार सय जनाले काम गरिरहेको पनि उनले बताए ।

विमानस्थलको सबैभन्दा महत्वपूर्ण तथा निर्माणमा धेरै समय लाग्ने क्षेत्रको २० प्रतिशतभन्दा धेरै काम एक वर्षमै सम्पन्न भइसकेकाले समयसीमाभन्दा छिट्टै अन्तर्रा्िष्ट्रय विमानस्थलको निर्माण कार्य सम्पन्न हुने उनल बताए । सन् २०१७ को नोभेम्बर महिनादेखि विमानस्थलको निर्माण सुरु भएको हो । सन् २०१९ भित्र ६० प्रतिशतभन्दा बढी काम सकिने र सन् २०२० भित्र सबै काम सकिने गरी काम भइरहेको जनाइएको छ । विमानस्थल निर्माण छिटो सम्पन्न गर्ने नाउँमा गुणस्तरमा सम्झौता भने नहुने उनले सुनाए । अहिले रनवेको थर्ड लेबलको काम अन्तिम चरणमा पुगेको पनि उनले जानकारी दिए ।

एक महिनाभित्र थर्ड लेबलको काम सबै सकिने र सन् २०१९ को ६ महिनाभित्र रनवेको सम्पूर्ण काम सकिने गरी काम भइरहेको पनि उनले बताए । पोखरा अन्तर्रा्िष्ट्रय विमानस्थलको रनवे सिमेन्ट, बालुवा प्रयोग गरी विभिन्न चरणमा ढलान गरी निर्माण भइरहेको छ । विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्वायर मिटरमा बन्नेछ । आठ हजार स्क्वायर मिटर अन्तर्रा्िष्ट्रय उडानका लागि र ६ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि गरी १४ हजार स्क्वायर मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो । टर्मिनल भवनमा वार्षिक पाँच लाख क्षमताको हुनेछ । यसको साथै अर्को छुट्टै टर्मिनल भवन पनि निर्माण गरिने पनि नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।

सन् २०२१ को जुलाईसम्म पोखरा अन्तर्रा्िष्ट्रय विमानस्थलको काम सकेर सञ्चालनमा ल्याउने गरी निर्माण तालिका बनाएर काम अघि बढेको हो । पोखरा महानगरपालिका १० र १४ मा पर्ने जमिनमा चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम थालेको हो। विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको थियो । निर्माण कम्पनीले १० जुलाई २०२१ मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ । 

झन्डै २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ। अन्तर्रा्िष्ट्रय उड्यान संस्था (आइकाओ) को मापदण्डअनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन्। दुई हजार पाँच सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउनेजाने ती विमानको यात्रु क्षमता एक सय ९२ हाराहारीमा हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर