सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन माघ ४ गते 

माघी बिदा तीन दिन दिनुपर्ने भन्दै असन्तुष्टि

हिमाल जोशी/कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको हिउँदे अधिवेशन माघ ४ गतेका लागि आह्वान गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ ४ गते दिउँसो २ बजे प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक आह्वानका लागि प्रदेश प्रमुख समक्ष प्रस्ताव गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए । 

बैठकले माघ १ गते माघी पर्वको सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको कानुनमन्त्री शाहले जानकारी दिए ।  माघ १ गते माघी पर्वका साथै थारु समुदायको नयाँ वर्षसमेत भएकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्री शाहले बताए । 

बैठकले विभिन्न विषयसँग सम्बन्धित पाँचवटा कार्यवधि पनि स्वीकृत गरेको छ । विभिन्न मन्त्रालयले कार्यविधि निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सैद्धान्तिक सहमति माग गरेकोमा मन्त्रालयका कानुनविद्ले बिस्तृत अध्ययन गरी अन्तिम सैद्धान्तिक सहमति दिएसँगै ती कार्यविधि मन्त्रिपरिषद्बाट पारित गरिएको मन्त्री शाहले बताए ।  

बिहीबार बसेको मन्त्रिपरिषद्को निणर्यले पशुपंक्षी बजार प्रवद्र्धन कार्यक्रम कार्यान्वनका लागि बनेको कार्यविधि, व्यवसायिक सीपमूलक कार्यविधि, वन तथा वातावरण जलाधार व्यवस्थापन कार्यविधि, अनुदान तथा सहायता रकम निकासासम्बन्धी कार्यविधि र  प्रदेश पर्यटन विकास आयोजना कार्यान्वयन इकाई सञ्चालन कार्यविधि स्वीकृत गरेको मन्त्री शाहले जनाए । सरकार सञ्चालनका लागि आवश्यक ऐन कानुन निर्माण गर्न छोडेर मन्त्रालयको ध्यान कार्यविधि निर्माणतर्फ केन्द्रित हुन थालेको छ ।   

थारु समुदाय असन्तुष्ट
सुदूरपश्चिम प्रदेश सरकारले माघी पर्वमा न्यायोचित ढंगले बिदा नदिएको भन्दै थारु संघ संगठनले असन्तुष्टि जनाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले माघीमा १ दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि थारु कल्याणकारिणी सभा र थारु नागरिक समाज कैलालीले उक्त निर्णयप्रति असन्तुष्टि जनाएका हुन् ।

बिहीबार थारु कल्याणकारिणी सभाका कार्यबाहक अध्यक्ष माधव चौधरी र थारु नागरिक समाज कैलाली अध्यक्ष दिलबहादुर चौधरीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले माघीमा दिएको १ दिने बिदाले थारु समुदायलाई दुखित बनाएको उल्लेख छ । थारु समुदायको सम्मानजनक सहभागिताका लागि कम्तिमा ३ दिन बिदा दिनुपर्ने उनीहरुको माग छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर