• बुधबार ३-११-२०७६/Wednesday 06-26-2019/ 06:03 am

पृथ्वीनारायण नायकै हुन् त ?

काठमाडौं । पुस २७ अर्थात् पृथ्वी जयन्ती, कतिपयले पृथ्वीनारायण शाहलाई नेपाल साम्राज्य बिस्तार गर्ने अभियन्ताका रुपमा चिन्छन् त कतिपयले राज्य एकीकरणका अभियन्ता ।

इतिहासलाई केलाउने हो भने उनले नेपाल राज्यको सीमालाई बिस्तार गर्ने अभियानलाई नेतृत्व गरेका हुन् । राज्य बिस्तार र राष्ट्रिय एकताका प्रतीक भन्ने शब्दावली आफैमा विरोधाभास देखिन्छ । राज्य सीमाद्वारा निर्धारित एक भूगोल हो भने राष्ट्रिय एकता भनेको सबैलाई जोड्ने सूत्राधार हो ।

के पृथ्वीनारायणले राज्य बिस्तार गर्नेक्रममा हतियारविना लडाई नलडी सबैको पाउँ परेर वा सबैको चित्त बुझाएर नेपाल राज्य खडा गरेका हुन् ? यो प्रश्नको कठघरामा नेपाली इतिहासका भाष्यकार उभिनुपर्दछ र निरपेक्ष रुपमा आफ्नो ऐतिहासिक तर्क प्रस्तुत गर्नुपर्दछ । उनले थालेको राज्य बिस्तार अभियानले नेपालमा त्यसवेला अस्तित्वमा रहेका बाइसे चौबिसे राज्यलाई एक ठाउँमा ल्याउने काम गरेको हो । 

त्यसक्रममा उनी र उनको अभियानमा जोडिएका अभियन्ताले हतियारसहित लडेको युद्धले थुप्रै जनताको उठिबास पनि भएको थियो भन्ने कुरालाई हेक्का राख्नुपर्दछ । नेपाल राज्य बिस्तार गर्नेक्रममा आफ्ना पुर्खालाई अपमान गरिएको, हत्या गरिएको वा लखेटिएको भन्दै पृथ्वीनारायणलाई नेपालका आदिवासी जनजातिसम्बन्धी संघसंस्थाले एकताका प्रतीकका लिन नहुने भन्दै विरोध गर्दै आइरहेका छन्,  साथै विविध कार्यक्रम पनि गर्दै आएका छन् ।

गतवर्ष यसैदिन कीर्तिपुरमा नेपाल राज्य बिस्तार गर्नेक्रममा कीर्तिपुरमा सयौंको कान र नाक काटेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका थिए । कतिपय संघसंस्थाले कीर्तिपुरस्थित छ्याकस् ल्वहं (छ्याके ढुंगा) मा विरोधस्वरुप थुक्ने गर्दछन् । त्यसवेला नेपाः प्रदेशमा आदिवासी जनजाति अभियान, नेवाः जागरण मञ्च र नेपाः युथ अर्गनाइजेसनको पहलमा विरोध प्रदर्शन गरेका थिए । 

गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायणको जन्म विसं १७७९ पुस २७ गते भएको थियो । उनले विसं १७९९ चैतमा राजा भएपछि नुवाकोट विंसं. १८०१ सालमा र काठमाडौं उपत्यका विसं १८२५–२६ मा आफ्नो राज्यमा गाँभेका थिए । त्यसपछि उनले पूर्वका सेन राज्य विजय गरेका थिए । पृथ्वीनारायणको राज्य बिस्तार अभियानलाई उनका भाइ र छोराले पश्चिमतिर सिमाना बढाए । 

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले २९७औँ पृथ्वीजयन्तीका अवसरमा दिएको शुभकामना सन्देशमा पृथ्वीनारायण शाहको योगदानको कदर गर्नुपर्ने बताएका छन् । उनले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने उल्लेख गरेका छन् । 

सन्देशमा प्रधानमन्त्री ओलीले एकीकरणको अभियानमा आफ्नो अमूल्य जीवन बलिदान गर्ने असंख्य ज्ञात–अज्ञात योद्धाहरूप्रति समेत श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

‘उहाँले नेपालको भौगोलिक एकीकरण गरी भाषिक, जातीय, सांस्कृतिक लगायतका अनेक विविधताका बीच मजबुत एकताका आधार तयार गर्नुभयो,’ प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘अनेकताबीचको एकताको गौरवमय परम्पराको बिजारोपण पृथ्वीनारायणकै अगुवाइमा भएको थियो । आज अनेकताबीचको एकता नेपालको पहिचान बनेको छ ।’ 

त्यस्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पृथ्वीनारायण शाहको योगदानको विश्लेषण गरिनुपर्ने बताएका छन् । पुस २७ गते अर्थात् पृथ्वी जयन्तीलाई सार्वजनिक बिदा दिएर राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्ने माग राख्दै राप्रपा (प्रजातान्त्रिक) ले हस्तान्तरण गरेको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री शाहीले पृथ्वीनारायण शाहले गरेका राम्रा÷नराम्रा कामको विश्लेषण हुनुपर्ने बताए । 

‘पृथ्वी जयन्तीका लागि माग गरिएको सार्वजनिक बिदा राष्ट्रिय सरोकारको विषय भएकाले गम्भीर भएर देशव्यापी रुपमा छलफल गर्नुपर्छ,’ मुख्यमन्त्री शाहीले भने, ‘सबैको चित्त बुझ्ने गरी निष्कर्षमा पुग्न जरुरी छ ।’ 

वादविवादको बहस चलिरहँदा नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबार पृथ्वीजयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले उपमहानगरपालिका मातहतका सबै स्थानीय निकाय, सरकारी कार्यालय, शिक्षण संस्था शुक्रबार बन्द गर्ने निर्णण गरेको छ । नगरप्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले उपमहानगरपालिका मातहतका शिक्षा, स्वास्थ्य, कृषि, वडा कार्यालयलगायतमा बिदाको निर्णय गरेको हो । 

शुक्रबार सरकारी तथा गैरसरकारी संघ–संस्थाले काठमाडौंको सिंहदरबारस्थित पश्चिमढोका अगाडि रहेको शाहको शालिकमा माल्यार्पण गर्दै २९७ औँ पृथ्वी जयन्ती मनाएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले पृथ्वीनारायणको तस्बिर सजाएर बग्गीमा राखेर विशेष बाजागाजासहित कमलादीबाट सिंहदरबारसम्म शोभायात्राको कार्यक्रम गरेको छ । 

पृथ्वी जयन्तीबारे मत–अभिमत

राजनीतिज्ञ तथा साहित्यकार मोदनाथ प्रश्रितले विभिन्न भूगोलमा छरिएका खण्ड खण्ड राज्यलाई एकीकरण तथा त्यहाँका जनतालाई एकीकृत गरेर दुई ठूला देशबीच नेपाललाई स्वतन्त्र राष्ट्रका रुपमा स्थापित गर्ने महान् नेताका रुपमा शाहलाई सम्मान गर्नुपर्नेमा जोड दिए ।

गजलकार घनेन्द्र ओझा फेसबुकमा लेख्छन्, ‘इतिहासको सम्मान गर्न नसक्नेहरू स्वयंमा सम्मानयोग्य हुँदैनन्– गफानन्द स्वामीजी !
हरेक व्यक्तिमा कमी कमजोरी र सीमाहरू छन् र हुन्छन् तर उसले गरेको कामको उचित मूल्याङ्कन र सही कामको सम्मान गर्न नसक्नुले हाम्रो दरिद्र सोच र बेवकुफ मानसिकता मात्र प्रस्तुत हुन्छ !
० पृथ्वीनारायण शाह हामी नेपालीका लागि सम्मानका पात्र हुन र हकदार पनि !
० हार्दिक श्रद्धासुमन राष्ट्रनिर्माताप्रति !

लेखक यादव देवकोटा लेख्छन्, ‘जहाँसम्म राज्यभित्रकै नागरिकका कुरा छ, देश जोड्न अक्कल दिने बिसे नगर्ची, मणिराम गाइने, बानादार दमाई र तिनका सन्तानले भन्दा चिना–टपरा गर्ने वाणीविलास पाँडे, कुलानन्द जैसी र तिनका सन्तानले गोर्खा दरबारमा भाउ पाएका थिए ।

विश्लेषक राजेन्द्र महर्जन लेख्छन्, ‘बेवास्ता गर्ने क्रममा कीर्तिपुरेहरूको नाक काट्न खटाइएका भोटेहरूले मुख पनि काटेको र काटिएका मानिसहरूको संख्या ८६५ जना भएको तथ्यसमेत छोपछाप पार्ने प्रपञ्च रचिएको छ नै ।  

पृथ्वीनारायणको कीर्तिमा धब्बा निःसन्देह अंगभंग हुनेगरी आक्रमणको सिकार हुनेहरूको संख्या थपघट हुनसक्छ, उनीहरूको नाकमात्रै होइन, ओठ र मुख पनि काटिएको हुनसक्छ, तर ती सत्यतथ्यप्रतिको संवेदनशीलता देशी इतिहासकार र लेखकहरूमा कममात्रै छ ।’ 

कार्टुनिस्ट रवि मिश्र फेसबुकमा लेख्छन्– ‘मुलुकलाई माया गर्ने हरेक नेपाली राष्ट्रिय एकताका प्रतीक हुन । तातो मरुभूमिमा पसिना बहाई मुलुकको अर्थतन्त्रमा प्राण भर्ने नगदनारायणहरु के पृथ्वीनारायण भन्दा कम छन् ? कुनै न कुनै नारायणका जन्मदिन पर्ने ३६५ दिन राष्ट्रिय एकता दिवस घोषणा गरम ।’

त्यस्तै, कवि मुक्तान थेवा फेसबुकमा लेख्छन्, ‘पृथ्वीनारायण शाहले आफ्नो राज्यविस्तार गर्दा आदिवासी(जनजातीहरुका टाउका काटे, नाक ताछे, भाषा, संस्कृति, सभ्यता सिध्याउन खोजे, माटो लुटे । र, हिन्दु वर्णब्यस्थामा आधारित आफ्नो एकलजातीय गोरखा राज्य स्थापना गरे ।

त्यही तानाशाही समयबाट राज्यसत्तामा बिराजमान सत्ताधारी वर्ग, जात, समुदाय र गोर्खा भाषीहरुका निम्ति पृथ्वीनारायण शाह जरुर रास्ट्रपिता, राष्ट्र निर्माता र राष्ट्रिय एकताका प्रतीक हुन् । बाँकी यो माटोका आदिवासी(जनजाति, मधेसी, दलितहरुका निम्ति उनी एक निरंकुश युद्धसरदार बाहेक अरु हुनसक्दैन । मेरो (अर्थात् एक ’मासिन्या मतवली’को) निम्ति पनि पृथ्वीनारायण त्यहि एक तानाशाही युद्धसरदार मात्रै हो । (मैले भन्ने यत्ति हो ।)’

बन्धुविक्रम क्षेत्री फेसबुकमा लेख्छन्, ‘र अन्त्यमा, कुनै सम्राट वा महाराजाहरुको जन्म दिन राष्ट्रिय एकता दिवस हुनसक्दैन । न त त्यस्तो कुनै व्यक्ति राष्ट्रिय एकताको प्रतीक नै हुनसक्छ ।’

कवि तथा सांस्कृतिक अभियन्ता बलराम तिमल्सिना लेख्छन्, ‘आज ‘एकीकरण’ भएको दिन पनि हैन । खासमा एकजना राजाको जन्म दिन हो । एकीकरणबारे नेपाली जनमत विभाजित छ । त्यो गंभीर बहसको विषय हो । कमसेकम आफूलाई गणतन्त्रवादी भनिने या अझ कम्युनिस्टसम्मै भन्नेले राजाको खाट्टी जन्मदिनलाई उत्सव बनाएको सुहाउँदैन कि ?

दोश्रो कुरा, राष्ट्रको निर्माण त्यो राष्ट्रमा बस्ने सारा जनताले गर्छन कि कुनै राजा या सम्राटको तरवारले गर्छ भन्नेमा पनि हामीले बहस गर्नुपर्ला । आजको नेपालका निर्माता– पूर्वमेचीदेखि पश्चिम महाकाली र त्योभन्दा पर दोधारा र चाँदनीसम्म मधेसदेखि हिमालसम्म बसोबास गर्ने सयौं थरि जातजाति, भाषाभाषी र सभ्यताका जनता हुन, जसले पृथ्वीनारायण र उनका छोरानातिको राज्य बिस्तारपछि खासै ठूलो विद्रोह गरेनन् र यही राष्ट्रमा अपमानित जीवन व्यहोरेर पनि बस्न ‘राजी’ भए ।

जसरी जन्मेको भए पनि हामीसँग नेपाल नाम गरेको एउटा देश छ । यो देशमा पृथ्वीनारायणका सन्तानले गुमाएको तर अंग्रेजको गुलामी गरेबापतविना रक्तपात प्राप्त गरेको बाँके, बर्दिया, कैलाली र कञ्चनपुरवाला ‘नयाँ मुलुक’ पनि छ ।  त्यो पुरानो मुलुक र जङ्गबहादुरले आर्जेको नयाँ मुलुक गरेर हाम्रो देश छ । अहिले हामी सबैले यो दशलाई माया गर्छौं र गर्नुपर्छ । तर, यो देश कसरी जन्मियो भन्नेमा बहस त हुन्छ नै ।

राजावादीहरूलाई शाहवंशका सवै राजाहरूको जन्मदिन मनाउन पाउने गणतान्त्रिक हक प्रदान गरौं । आफूलाई प्योर गणतन्त्रवादी हुँ र अझ थप कम्युनिस्ट पनि हुँ भन्नेले पुनर्विचार गरौं !’

दीपेन्द्र लामा फेसबुकमा लेख्छन्, ‘नेपालमा राजतन्त्र र गणतन्त्रको लडाइँ भनेको छेत्री र बाहुनको सत्ता–युद्ध हो । शाह राजाहरुले सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, कीर्तिनिधि विष्ट र कमल थापाजस्ता छेत्री नेताहरुकै भरमा राजतन्त्र टिकाउने प्रयास गरेका थिए, यता बाहुन नेताहरुले चाहिँ ४६ सालको जनआन्दोलन, माओवादी जनयुद्ध र ६२र६३ को जनआन्दोलनलाई अगाडि बढाए, गणतन्त्र स्थापित गरे, राष्ट्रप्रमुख आफैं बने । सायद बाहुन राजा भएको भए नेपालबाट राजतन्त्र हट्ने थिएन होला । 

आफ्नो नाममा नारायण लेख्ने राजा पृथ्वीनारायण शाहमात्रै रहे । उनीपछिका राजाहरुले वीरविक्रम लेख्दै आफ्नो छविलाई विशुद्ध योद्धाका रुपमा परिणत गरे । पृथ्वीनारायण अर्थात् नारायणका सन्तति भएकाले नै शाह राजाहरुले आफूलाई विष्णुका अवतार भन्न लगाएको हुनुपर्छ । सबै शाह राजाहरुले आफ्नो नाममा नारायण भन्ने शब्दलाई निरन्तरता दिएको भए सायद राजतन्त्र अलि लामो समय टिक्थ्यो कि !’

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

माइतीघर मण्डलाको सन्देश : प्रधानमन्त्रीमा प्रचण्ड  

  • ८ असार, २०७६

असार ४ गते माइतीघर मण्डलामा गुठी बिधेयकका विरुद्ध हजारऔं  जनताले प्रदर्शन गरे । लोकतान्त्रमा त्यस्ता घटना स्वभाबिक देखिएतापनि त्यस घटानाले सरकार

नेपालको आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारको अवस्था

  • ८ असार, २०७६

विगत ६० वर्षदेखी नेपालमा राजनीतिक अवस्था प्रधान र अन्य पक्ष साहायक जस्तो हुदै आएको छ । २००७ साल, २०४७ साल, २०५२ देखि २०६२÷०६३ को माओवादी जनयुद्व र

दिगो विकास लक्ष्य पुरा होला ?

  • ८ असार, २०७६

बिसं २०७६ असार ६ मा सरकारको तर्फबाट राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्य २०१६–२०३० को लागि लागत अनुमान सार्वजनिक गरेको थियो । जसमा दिगो विकास