• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

फोहरबाट ‘मिथेन’ ग्यास निकाल्ने तयारी

भद्रपुर ।  झापाका तीनवटा नगरपालिकाले नगरक्षेत्रबाट निस्कने फोहरबाट ‘मिथेन’ ग्यास उत्पादन गर्ने तयारी गरेका छन् । 

कनकाई नगरपालिका २ सन्का बस्तीमा ८१ लाखको लागतमा ५४ कठ्ठा जग्गा खरीद गरेर नगरबाट निस्कने फोहर व्यवस्थापन गर्दै मिथेन ग्यास उत्पादन गर्ने तयारी गरिएको हो । विर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाले पटक÷पटक छलफल गरी नगरबाट निस्कने ‘फोहरबाट मोहर’ बनाउन यस्तो निष्कर्ष निकालेका हुन् ।

अर्जुनधारा र विर्तामोडले नगरपालिकाले कनकाई नगरपालिकालाई नै कामको अख्तियार प्रदान गरेकाले ग्यास प्लान्ट सञ्चालन गर्ने स्थानसम्म पुग्नका लागि बाटो बनाउने र नजिकै रहेको सुरुङ्गा खोलामा बाँध बाँध्ने काम भइरहेको कनपाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । 

ग्यास प्लान्टमा स्थानीयवासीकै स्वामित्व रहने गरी शेयर बिक्रीसमेत खुला गरिएको छ । हालसम्ममा ८० लाख बराबरको शेयर बिक्री भइसकेको वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक तथा कनकाई नरपालिकाका वडाध्यक्ष पर्शुराम गिरीले बताए । 

उक्त समितिले कार्यसम्पादनका लागि मिनाल तिम्सिनाको संयोजकत्वमा विर्ता, अर्जुन, कनकाई नवीकरण ऊर्जा समिति गठन गरेर काम सुरु गरेको हो । उक्त समितिले पाँच करोड बराबरको शेयर बिक्री गर्ने लक्ष्य लिएको छ । 

प्रदेश १ मा पहिलोपटक सुरु हुन लागेको ग्यास प्लान्टमा तीनवटै नगरपालिकाका जनताले शेयर सदस्य बन्न पाउने प्रावधान राखिएको वडाध्यक्ष गिरीले बताए । चालु आर्थिक वर्षभित्र सुरु गरिने ग्यास प्लान्ट आगामी २०७६÷७७ देखि सञ्चालनमा ल्याइने कानपाका प्रमुख पोखरेलले बताए । 

हाल विर्तामोड नगरपालिकाबाट दैनिक छ टन, अर्जुनधारा र कनकाई नपाबनट तीन टन घरेलु फोहर निस्किने गरेको छ । कुहिने र नकुहिने फोहरलाई चार भागमा वर्गीकरण गरेर व्यवस्थापन गरिने जानकारी दिँदै उहाँले कुहिने फोहरबाट मिथेन ग्यास र प्लाष्टिकजन्य फोहरबाट पेट्रोलियम पदार्थ निकाल्न सकिन्छ । 

प्रदेश १ ले झापालाई लक्ष गरेर फालिएका प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकाल्ने सम्भावना अध्ययन भइरहेकोे कनपाका प्रमुख पोखरेलले बताए । उनले झापाका पाँचवटा नगरपालिकाबाट निस्कने प्लाष्टिकलाई पाइरोलाइसिन प्रविधिबाट पेट्रोल निकाल्नेबारे वैज्ञानिकहरूसँग छलफल पछि यसको सम्भाव्यता अध्ययन भइरहेको बताए । 

नेपालमै पहिलोपटक प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकाल्ने उद्योग सञ्चालनका लागि प्रदेश १ को सरकारले एक करोड समेत विनियोजन गरेको उनकोे भनाइ थियो । कानपाले गतवर्ष नै प्लाष्टिकबाट पेट्रोल निकाल्न सकिनेमा ‘डेमो’ समेत गरिसकेको नगरप्रमुख पोखरेलले बताए । 

उनले विर्तामोड, अर्जुनधारा, मेचीनगर र शिवसताक्षी नगरपालिकासँग समेत यसबारेमा छलफल भइरहेको बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर