न खानाको टुंगो न त न्यानो कपडाकै !

उमा आलेमगर /पोखरा । पुषको कठ्यांग्रिदो जाडोमा न्यानो कपडा लगाउने तातो मिठो मसिनो खाने रहर कसलाई नहोला र ? तर देशका विभिन्न क्षेत्रमा सडकमा दिन रात कटाउन बाध्य बालबालिकादेखि वृद्धवृद्धा भने न न्यानो कपडाले आङ ढाक्न पाउँछन् न मिठो मसिनो खान नै । यति मात्र होइन सडकमा दैनिकी काट्दै गर्दा उनीहरुको सुरक्षाको समेत कुनै ग्यारेन्टी हुन्न । 

कास्कीको पोखराका सडकमा आफ्नै दिनचर्या बिताइरहेका बालबालिका तथा वृद्धवृद्धा अवस्था यस्तै छ । न खानाको टुंगो न त न्यानो कपडाकै । आफ्नै साथीहरुको कारणले गर्दा केहिको अंग भंग भएका छन् भने केहिले ज्यान समेत गुमाएका छन् । सडक पेटिमा अलपत्र अवस्थामा रहेकाले गर्दा शहर बजारमा हिँडडुल गर्न पैदल यात्रुलाई समेत कठिन भएको छ । यसैबीच जाडोमा कठ्यांग्रिएका केहिको भने उद्धार गरी मानव सेवा आश्रममा व्यबस्थापन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा सडक पेटिमा ४० जनाको उद्धार गरिएको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा र कास्कीका प्रहरी प्रमुख एस.पी.ओमबहादुर रानाको बिषेश उपस्थितीमा पोखराका विभिन्न सडक पेटिमा रहेकाहरुको सामुहिक रुपमा उद्धार गरिएको मानव सेवा आश्रम पोखराका प्रमुख होमनाथ तिमिल्सिनाले बताए । पोखराको आश्रममा एक सय जना रहेको उनले बताए । केहि महिना अघि पोखरामा संचालन गरिएको उक्त आश्रमबाट हालसम्म करिब ३० जनालाई पारीवारिक पुनर मिलन गराइएको तिमिल्निाले बताए ।

आश्रममा ८० जनाको सिट क्षमता भए पनि हाल आफुहरुले मिलाएर बसोवास गर्ने वातावरण मिलाएकोले गर्दा १ सय जनालाई व्यास्थापन गरेको उनले जनाए । मंगलबार उद्धार गरिएका मध्य अधिकाशं किशोरहरु डेनड्राईट सुग्नेहरु रहेको उद्धारमा खटिएका एक सहभागिले जनाए । आश्रममा २७ वटा रुम रहेका छन भने ६ जना सेवा अभियान्ता रहेकाछन। सहयोगी दाताको मुठ्ठी दानबाटै आश्रम संचालन हुदै आएको उनले जनाए ।

उद्धारको क्रममा केहिले आफुहरु सडकमै बस्न पाउनु पर्ने अडान राख्दै जान नमाने पछि प्रहरी प्रशासन सहितको सेवा अभियान्ताहरुले पटक पटक आग्रह र अनुरोध गरी आश्रममा पुराएका हुन। पोखरा महानगरपालिकासंगको समन्वयमा पुनः बाँकी रहेकाहरुको उद्धार गर्ने योजना रहेको उनले जनाए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर