• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

समय सकियो, पुल बनेनन् !

काठमाडौं । आधुनिक प्रविधि (नेटवर्क आर्क ब्रिज) बाट निर्माण हुने भनिएको बिजुलीबजारस्थित धोबीखोला र तीनकुनेको बागमती पुलको सम्झौता अवधि सकिँदा समेत काम सकिएको छैन । यी दुई पुलमध्ये वागमति पुलको सम्झौता अवधि गत भदौमा सकिएको हो । धाबीखोला पुलको निर्माण अवधि भने गतवर्ष पुसमा सकिएको हो । तर दुबै पुलको काम अझै सकिएको छैन । 

डिजाइनमा लामो समय लाग्नु र खानेपानी, बिजुली, ढललगायतका संरचना नहट्नुले काममा ढिलाइ भइरहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । अरु पुलमा पहिले विज्ञलाई डिजाइन गराएर मात्रै ठेक्का आह्वान हुने गरेको थियो । यो पुलमा भने ठेकेदार आफैँले डिजाइन गरेको इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए ।  

आयोजनाले दिएको ढाँचाअनुसार ठेकेदार कम्पनीले डिजाइन गर्ने सम्झौतामा नै उल्लेख थियो । डिजाइनले नै सम्झौताको आधा समय अर्थात डेढ वर्ष लागेको उनले बताए । 

आगामी एक वर्षभित्रमा काम सक्ने योजना रहेको इञ्जिनीयर श्रेष्ठले बताए ।  नेपालमा पहिलो पटक भित्रिएको यो प्रविधि शहरी क्षेत्रका लागि उपयुक्त मानिन्छ । अरु सामान्य प्रविधि (आरसिसी) भन्दा यसको लम्बाइ लामो हुनेसँगै देख्दा आकर्षक हुन्छ । अरु पुलमा भार बहन पुलको तल्लो भागले गर्ने भएपनि यसमा भार माथिल्लो भागमा पर्छ । 

दुबै पुलको ठेक्का सम्झौता २०७१ पुसमा शुरु भएको थियो । धोबीखोलाको पुल तीन वर्ष र वागमती पुल साढे तीन वर्षमा सक्ने सम्झौतामा उल्लेख थियो । ठेकेदारलाई काम गर्न ‘साइट’ खुल्ला हुनुपर्ने भए पनि डिजाइन सकिएको एकवर्ष त्यो हटाउनमा नै लागेको उनले बताए । अहिलेसम्म पनि सो स्थानमा रहेका खानेपानी, ढल र विद्युत्को हाइटेनशन लाइन नहटेको उल्लेख गर्दै इञ्जिनियर श्रेष्ठले सम्बन्धित कार्यालयमा पत्राचार गरेर हटाउन आग्रह गरिएको जानकारी दिए । 

ठेकेदारले काम गरेन भन्दा पनि त्यहाँ रहेका अवरोधका कारण काम अघि बढ्न नसकेको इञ्जिनीयर श्रेष्ठले बताए । ठेकेदारले केही बेवास्ता वा ढिलाइ गरेको भएपनि काम सुस्त हुनुमा ठेकेदारलाई काम गर्ने ठाउँ खाली गर्न नसक्नु नै रहेको छ । 

जापान सरकारको सहयोगमा निर्माण भएको माइतीघर–तीनकुने सडक आठ लेन भए पनि यहाँका यी दुई पुल चार लेनको थिए । धोबीखोला र वाग्मती पुल निर्माण सकिएपछि पूरै सडक आठ लेनको हुनेछ । सो पुलले तीनकुनेदेखि जडीबुटीसम्म दैनिक हुने सडकमा सवारी चाप कम हुने आशा गरिएको छ । 

विश्वका विकसित देशको प्रविधि पहिलो पटक नेपाल भित्र्याइएको हो । पुलको माथिल्लो तहमा अर्धवृत्ताकार संरचना निर्माण गरिने आयोजनाले बताएको छ । बीचमा बलिया तार जडान हुनेछ र तीनका बीचमा दलिन राखिनेछ । नेटवर्क तारले पुलको भारवहन क्षमता तल र माथि गरेर सन्तुलन ल्याउनेछ । 

दुई पुलको ठेक्का फरक÷फरक कम्पनीले लिएका छन् । तीनकुने पुलको ठेक्का पप्पु कन्सट्रक्सनले लिएको थियो । यो पुलको लम्बाइ ८५ मिटर र चौडाइ १२ मिटर रहेको छ । यो पुलको ठेक्का सम्झौताअनुसार अवधि गत भदौमा सकिसकेको छ । बिजुलीबजार पुलको यही पुसमा सम्झौता अवधि सकिएको छ । यो पुल निर्माणको ठेक्का जेई कन्स्ट्रक्सनले लिएको थियो । यो पुलको चौडाइ १२ मिटर र लम्बाइ ५१ दशमलव ४५ मिटर रहेको छ ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर