• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

को हुन सचिव कुट्ने मन्त्री विजय यादव ?

छानविन समिति गठन

फाइल तस्बिर

जनकपुरधाम । प्रदेश दुईको उद्योग वन तथा पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झामाथि हातपात गरेपछि अहिले आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव चर्चामा छन् । विद्यार्थी जीवनबाटै राजनीति शुरु गरेका मन्त्री यादव यस प्रकारको विवादमा पहिलो पटक परेको उनी निकटका व्यक्तिहरु बताउँछन् ।

नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका यादव तत्कालिन समयमा फोरम नेपालको गठन भएपछि मात्रै मधेशकेन्द्रित दलसंग आवद्ध भएका थिए । 
मधेशको राजनीति लामो समय बिताएका मन्त्री यादव प्रदेशसभाको निर्वाचनमा सिरहा क्षेत्र नम्बर २ को क बाट विजयी हुँदै प्रदेशसभा सदस्य बन्न सफल भएका थिए । यसअघि उनी सिरहाकै क्षेत्र नम्बर २ बाट वि.सं. २०६४ सालको संविधानसभा निर्वाचनमा विजयी हुँदै संविधानसभामा पुगेका थिए । 

पहिलो संविधान सभाको निर्वाचन पश्चात बनेको सरकारमा यादवले आपुर्ती मन्त्रालय सम्हाल्ने अवसर पाएका थिए । तर जनताले उनलाई दोस्रो संविधान सभाको निर्वाचनमा हारको स्वाद चखाएका थिए ।  संविधान जारी भएपछि देशमा भएको प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन पाउने ताकमा रहेका मन्त्री यादवलाई पार्टी नेतृत्व पंक्तिले टिकट नै दिएन ।

पार्टी नेताहरुका अनुसार उनलाई पार्टी अध्यक्ष उपेन्द्र यादव स्वयंले तपाई प्रतिभावान नेता हुनु हुन्छ, तपाईको प्रदेशसभामा खाँचो छ भन्दै सम्झाएर प्रदेशसभामा चुनाव लड्न लगाएका थिए । प्रतिनिधिसभामा चुनाव लड्नका लागि गरेको तयारीकै फलस्वरुप उनी सिरहा क्षेत्र नम्बर २ क बाट विजयी हुन सफल भए । 

प्रदेशसभामा विजय हाशिल गरेपछि केही समयका लागि प्रदेश दुईको मुख्यमन्त्री विजय यादव नै हुने चर्चा समेत चलेको थियो । तर लालबाबु राउतलाई वरिष्ठताको आधारमा पार्टी पंक्तिले प्रदेश चलाउने जिम्मा दिने निर्णय पछि गरेको थियो । तर उनलाई प्रदेशको राम्रो मन्त्रालय मध्ये एक आर्थिक मामिला तथा योजना मन्त्रालय दियो । 

प्रतिनिधिसभा चुनाव लड्ने विजय यादवको तयारीसँग जितको पनि त्यतिकै चर्चा थियो । फोरम नेपालबाट सबै शीर्ष नेताहरु प्रतिनिधिसभामा गएपछि प्रदेश सरकारको नेतृत्व कसले लिने भन्ने खोजी हुँदा विजय यादवलाई रोजिएको पार्टी स्रोतको भनाई छ । 

४५ वर्षीया मन्त्री यादवले भारत विहारको पटनाबाट सिभिल इन्जिनियरिङ् अध्ययन गरेका छन् । पहिलो मधेश आन्दोलनको सिरहा संयोजक समेत रहिसकेका विजय यादव पार्टीको कोषाध्यक्ष पद समेत सम्हालिसकेका छन् । 

 

कुटपिट प्रकरण छानविन गर्न समिति गठन

यता सचिव विद्यानाथ झालाई मन्त्री यादवले हातपात गरेको घटनाको छानविन गर्नका लागि प्रदेश सरकारले तीन सदस्यीय छानविन समिति गठन गरेको छ । 

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा गठन गरिएको छानबिन समितिमा प्रदेश २ का मुख्यसचिव दीपक सुवेदी र कार्यालय सचिव हरि फुयाल सदस्य रहेका छन् ।

घटनाबारे समितिले आइतबार नै सचिव विद्यानाथ झासंग कुराकानी गरेको थियो । तर मन्त्री यादवको बचाउमा प्रदेशका मुख्यमन्त्री राउत नै लागिपरेको एकथरीको बुझाई छ । 

सचिव अस्पताल भर्ना

यसैबिच प्रदेश २ का सचिव झा अस्पताल भर्ना भएका छन् । हिजो सामान्य जाँच गरि घर फर्केका झा आज पुनः अस्पताल भर्ना भएका हुन् । अस्पतालमा सञ्चारकर्मीसंग कुरा गर्दे सचिव झाले छानविन समितिप्रति आफुलाई विश्वास नभएको प्रतिक्रिया दिएका छन् । 
 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर