• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

पुरस्कारको पैसा विपद् व्यवस्थापन तथा नर्सिङ सेवामा 

काठमाडौं । ०७२ सालको विनाशकारी भूकम्पका समयमा प्रभावकारी नर्सिङ सेवा दिएवापत् एक अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाले दिएको पुरस्कार विपद् व्यवस्थापन तथा नर्सिङ सेवामा लगाइने भएको छ । नेपाल नर्सिङ सङ्घलाई हालै ‘रिस्क अवार्ड २०१७’ प्रदान गरिएको थियो । सो पुरस्कारबाट प्राप्त करिब एक करोड ३२ लाख विपद् व्यवस्थापन र नर्सिङ सेवाको थप क्षमता वृद्धि गर्न खर्च गरिने सङ्घका उपाध्यक्ष पाण्डेले जानकारी दिइन् । 

विपद्का समयमा प्रभावकारी रूपमा तथ्याङ्क सङ्कलन र नर्सिङ सेवा उपलब्ध गराउन नेपाल नर्सिङ सङ्घले मोबाइल एप्स ‘आइसिटी टुलकिट’ कार्यान्वयनमा ल्याउने भएको छ । यसका लागि सङ्घले ‘आइसिटी टुलकिट’ तयार गरी परीक्षण र प्रशिक्षण गर्न थालेको छ । विपद्का समयमा स्वास्थ्यसम्बन्धी जोखिम कम गर्न तथ्याङक सङ्कलन महत्वपूर्ण मानिन्छ । 

प्राप्त तथ्याङ्कका आधारमा नर्सिङ सेवा प्रदान गर्न र विपद्का अवस्थामा कसरी सेवा गर्ने भन्ने विषयमा सो टुलकिटले सहयोग पु¥याउने सङ्घका उपाध्यक्ष अप्सरा पाण्डेले जानकारी दिइन् । टुलकिट कसरी सञ्चालन गर्ने भन्ने विषयमा सङ्घले आफ्ना सदस्यलाई बुधबारदेखि दुईदिने प्रशिक्षणसमेत दिएको छ । टुलकिटको प्रभावकारितामाथि सङ्घले काठमाडौँ, सिन्धुपाल्चोक, कास्की र रुपन्देहीमा परीक्षणसमेत गरिसकेको र भूकम्प अति प्रभावित १४ जिल्लामा दुई सयभन्दा बढीलाई टुलकिट सञ्चालनबारे प्रशिक्षण दिइने जनाइएको छ । 

विपद्मा स्वास्थ्य क्षेत्रको जोखिम न्यूनीकरण गर्न सङ्घले विशेष परियोजना सञ्चालन गर्दै आएको छ । विपद्का उच्च जोखिम रहेका देशले विपद् जोखिम व्यवस्थापन गर्न यस किसिमका टुलकिट प्रयोगमा ल्याउन सक्छन् । जापान, फिलिपिन्स, कङ्गोमा पनि टुलकिट प्रयोगमा ल्याइएकोे छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर