हिउँमूर्ति बनाउन तीन नेपाली मूर्तिकार फ्रान्स जाँदै 

काठमाडौं । तीन नेपाली मूर्तिकार हिउँमूर्ति बनाउन फ्रान्स जाने भएका छन् । फ्रान्सको भ्यालोरमा हुने ‘इन्टरनेसनल स्नो फेस्टिभल’ मा नेपालबाट मूर्तिकार राजु पिठाकोटे, शिाल सारुमगर र दिपेश घिमिरेको टिम छानिएको छ । जनवरी २२ देखि २५ सम्म हुने उक्त फेस्टिभलमा नेपाली समूहले ‘ह्वाइट ड्रपस्’ शीर्षकमा हिउँमा मूर्ति बनाउने छन् । 

माउण्ट एभरेस्ट टिम नाम राखिएको नेपालसहित उक्त प्रतिस्पर्धामा विश्वभरीबाट ८ वटा टिम छानिएको मूर्तिकार पिठाकोटेले जानकारी दिए । ४ हजार मिटर उचाईमा हुन लागेको उक्त फेस्टिभलमा प्रतिस्पर्धा गर्न जुटेका नेपाली कलाकारले अवार्ड जित्ने विश्वासका साथ काम गर्ने बताए । ‘हामीले सक्दो प्रयास गर्ने छौं । पाँचौ स्थानमा पर्न सकियो भने पनि हामीले बनाएका हिउँको कृति संग्रहालयमा संग्रहित हुनेछ, जुन हाम्रा लागि सुखद समाचार हुनेछ,’ मूर्तिकार पिठाकोटेले भने । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी आफूहरुले काम गर्ने पिठाकोटेले जनाए । 

उनले भने, ‘हिउँ कला हिमालय र हिमालसम्बन्धी फस्टिभलमा बनाउने संसारकै अग्लो सगरमाथाको थिमसँग जोडिएको छ । हिउँका सेता थोपाहरुले व्यक्ति, समूह, गाउँ, सहर अनि पृथ्वीका नराम्रा कुरालाई शुद्धिकरण गर्ने र सुन्दर शान्त पृथ्वी बनाउन सन्देश र सहयोग गर्ने हामीले विश्वास लिएका छौं ।’ पिठाकोटे यसअघि कोरिया, जापान, इजरायल, मलेसिया, रसिया, थाइल्यान्ड, बंगलादेश, भारत तथा रोमानियामा भएका मूर्ति कार्यशालामा सहभागी भइसकेका छन् । 

उपहारको रुपमा यस हिउँका थोपाहरुले फ्रान्समा प्राकृतिक, सांस्कृतिक, सामाजिक तथा राजनीतिक वातावरणमा अझ शुद्धता दिने विश्वास लिएको अर्का मूर्तिकार बिशाल सारु मगरले बताए । विशाल पनि नेपालका विभिन्न मूर्ति कार्यशाला तथा प्रदर्शनीमा सहभागी भइसकेका छन् ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर