• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

चियाबाट मनग्य आम्दानी गर्दै गुरुङ 

लमजुङ । एक युवाले काठमाडौंकोे बसाई छोडी गाउँ फर्केर सुरु गरेको व्यावसायिक चिया खेतीबाट मनग्य आम्दानी हुन थालेको छ । दोर्दी गाउँपालिका–८ दुवारगाउँका ४४ वर्षीय ओमलाल गुरुङले गाउँमा १ करोड २५ लाखको लगानीमा चिया खेती र चिया प्रशोधन केन्द्र स्थापना गरेर चिया उत्पादन गर्न थालेका छन् ।

गाउँमा उत्पादित चिया लमजुङदेखि काठमाडौंसम्म बिक्री हुँदै आएको छ । चियाको माग बढेकाले आफूले बेंसीसहरको झिङ्गे खोला नजिकै मासिक १५ हजारमा सटर भाडामा लिएर चियाको होलसेल बिक्री केन्द्र थापना गरेको उनले जानकारी दिए ।

उक्त विक्री केन्द्र बुधबार उद्घाटनका क्रममा बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले नयाँ व्यवयासलाई नगरपालिकाले स्वागत गर्ने र व्यवसाय प्रवद्र्धनमा जोड दिइने बताए । गाउँ फर्केर व्यवसायमा लागेका युवालाई स्थानीयतहबाट आवश्यक सहयोग उपलब्ध गराइने पनि उनले प्रतिवद्धता व्यक्त गरे ।  

०६७ सालमा २० रोपनी क्षेत्रफलमा २० हजार चियाका विरुवा लगाई व्यावसायिक चिया खेती सुरु गरेका गुरुङले हाल १ सय ५० रोपनीमा चिया खेती गरेका छन् । उनले भने, ‘सुरु सुरुमा हातैले चिया प्रशोधन गरेँ । अहिले १२ लाख लगानी गरेर चिया प्रशोधन गर्ने उपकरण ल्याएर चिया प्रशोधन गर्न थालेको छु । यसबाट नियमित पाँच जनाले रोजगारी समेत पाएका छन् ।’ 

सुरुमा इलामबाट चियाको विरुवा ल्याएका गुरुङले चियाको बिरुवासमेत उत्पादन गरी बिक्री वितरणसमेत गर्दै आएका छन् । बजारमा आफ्नो क्रिष्टा टी प्रालिको नामबाट ‘लमजुङ टी’ उपलब्ध हुन थालेको जानकारी दिँदै उनले महिनामा कम्तीमा एकसय किलो चिया उत्पादन हुँदै आएको र यसबाट कम्तीमा एक लाख आम्दानी हुने बताए । 

गाउँमा चिया खेती सुरु भएपछि यहाँको बजारमा अन्य कम्पनीको चिया खपत हुन रोकिएको र काठमाडौँका साथै अन्य जिल्लामा पनि उक्त चियाको माग बढेको स्थानीयबासीले बताएका छन् । गुरुङले गाउँबाट चियाबारी जाने कच्ची मोटर बाटो निर्माण गर्नाका साथै एकल लगानीमा गाउँमा एक फूटबल खेलमैदान समेत निर्माण गरेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर