• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

तपाईको आवाजभित्र लुकेको हुन्छ तपाईको सम्बन्धको आयु ! जान्नुहोस् कसरी

अब तपाईको ‘पार्टनर’सँगको सम्भावित झगडा पहिलेनै रोक्न सकिने

काठमाडौं । भनिन्छ, हामी आफ्नो पार्टनरसँग जुन शैलीमा बोल्छौँ र त्यस दौरान हामीले प्रयोग गर्ने शब्दले हाम्रो वास्तविक भावनालाई दर्शाउँछ । र, अब तपाई र तपाईको जोडीबीचको संवादबाटै तपाईबीचको सम्बन्धको आयु र संभावित खतराको भविष्यवाणी गर्न सकिनेछ । सुन्दा अचम्म लाग्नसक्छ, तर अब यो विज्ञान–प्रविधिको युगमा यो सम्भव हुने भएको छ र तपाईको सम्बन्धको भविष्यवाणी हुनेछ, जसको मद्दत ‘आर्टिफिसियल इन्टेलिजेन्स’ले गर्नेछ । 

सम्झनुहोस्, तपाई दुईको सम्बन्ध टुक्रिने खतरामा छ र तपाई दुवै ‘जोडी काउन्सिलिङ’को मद्दत लिई राम्रो बनाउने प्रयास गरिरहनु भएको छ । तर पनि तपाईलाई जान्ने इच्छा हुनसक्छ, के यो प्रयासको लायक छ ? वा के फेरी सबै ठिक हुनसक्छ वा टुक्रिने क्रममै छ ?

जब तपाई बोल्नुहुन्छ, तपाईको आवाज र शब्दले सबै खाले सूचना दिन्छ, जसबाट यसको उत्तर सजिलै प्राप्त गर्न सकिन्छ ।

यसका लागि वैज्ञानिकहरुले एक विशेष प्रकारको ‘आर्टिफिसियल इन्टेलीजेन्स’को विकास गरिरहेका छन््, जसले कुनै पनि जोडीको सम्बन्धको भविष्यवाणी गर्न सक्छ । यस सम्बन्धमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ व्यावसायिक प्रशिक्षित चिकित्सकको तुलनामा बढी सटिक रहेको बताइएको छ । 

तपाईको आवाजको उतार चढाव, बोल्दै गर्दा तपाइले वाक्यांशबीच लिने विश्राम, तपाईको बोलीको मात्रा, यी सबैले तपाई आफ्नो सम्बन्धप्रति वास्तवमा कस्तो महशुस गर्नुहुन्छ त्यो संकेत दिन्छ । तपाईले बोलेको संवादबाट यी जानकारीहरु निकाल्न सकिनेछ । 

बिसीसीमा प्रकाशित ‘आर्टिफिसियल इन्टेलिजेन्स’ सम्बन्धि लेख अनुसार, मानिसको संवादमा लुकेका केही त्यस्ता विशेषताहरु जसलाई कानले चिन्न सक्दैन, अब ‘आर्टिफिसियल इन्टेलिजेन्स’को सहयोगमा ति विशेषतामार्फत् कुनै व्यक्तिको वास्तविक अनुभव र इच्छा पत्ता लागाउन सकिनेछ । 

यस सम्बन्धमा अध्ययनकर्ताले एक सय ३४ विवाहित जोडीको अध्ययन गरे, जसले आफ्नो सम्बन्धमा समस्याहरुको सामना गरिरहेका थिए । दुई वर्षको अवधिमा ती जोडीहरुको १० मिनेटको दुई वटा समस्या–समाधान सत्र बनाई उनीहरुको संवादलाई रेकर्ड गरियो । ती जोडीहरुलाई आफ्नो सम्बन्धमा छलफल गर्न सबैभन्दा महत्वपूर्ण विषय छान्न लगाइयो । 

अध्ययनकर्ताले ती जोडीको सम्बन्धमा सुधार छ कि छैन ? वा अझ खराब हुँदै गयो वा दुई वर्षपछि पनि सँगै छन् ? भन्ने कुराको डाटा पनि राखे । व्यावसायिक थेरापिस्ट(मनोवैज्ञानिक चिकित्सक)ले ती रेकर्डिङलाई हेरे । जोडीले एकअर्कासँग कुरा गर्ने तरिका र उनीहरुले के बोले र एकअर्कालाई कसरी हेरे भनी मूल्यांकन गरी थेरापिस्टले उनीहरुको सम्बन्धको संभावित परिणामको बारेमा मनोवैज्ञानिक आंकलन गरेका थिए ।  

अध्ययनकर्ताले जोडीहरुको संवादको विश्लेषण गर्नका लागि एक ‘एल्गोरिदम’(समान्यतया गणितको प्रश्न हल गर्ने प्रणाली)को प्रयोग गरे । यसमा एल्गोरिदमको काम स्वरमा उतार–चढाव, संवाद अवधि र उनीहरु कुरालाई कसरी मोड्छन् आदि विशेषता सम्बन्धको ऊर्जासँग कसरी जोडिएको छ भनी गणना गर्नु थियो । 

वास्तवमा, ‘एल्गोरिदम’ भिडियोको दृश्य जानकारी बिना पूर्ण रुपले श्रव्य रेकर्डिङमा आधारित थियो । यसले जोडीको संवादको विषयलाई पनि मूल्यांकन गर्दैन । एल्गोरिदम स्वर, ध्वनी, पिच र कति लामो समय संवाद गरेआदी फिचरमा आधारित रह्यो । 

आश्चर्यनक तरिकाले एल्गोरिदमले मानवीय धारणाभन्दा फरक संवादको विशेषतालाई उठायो । यस्ता विशेष्ताको वर्णन गर्नु लगभग असम्भव हुन्छ, जसबारे हामी त्यति जानकार हुँदैनौँ । यो बोलीको एक जटिल गणितीय कार्य हो । 

‘धेरै डाटा प्रयोग गरी, मानवीय आँखा र कानले बुझ्न कठिन नमूना हामी पत्ता लगाउन सक्छौँ’, अध्ययनका सदस्य तथा दक्षिण क्यालिफोर्निया विश्वविद्यालयका एक इन्जिनियर श्री नारायणले भने । 

जोडीहरुको रेकर्डिङ विश्लेषण गरी उनीहरु सँगै रहेनछन् वा रहनेछैनन् भन्ने भविष्यवाणी थेरापिस्टको तुलनामा एल्गोरिदमको सही निक्लियो । यस परिणामा एल्गोरिदम ७९.३ प्रतिशत सही थियो । यद्यपि, थेरापिस्टहरु पनि जोडीको संवाद विषय र शारीरिक हाउभाउ बुझ्नमा सक्षम देखिए । 

यसको अर्थ एल्गोरिदमको प्रयोग गरी बनाइएको यस आर्टिफिसियल इन्टेलिजेन्सले आँखा र कानले बुझ्न नसकिने संवादको विशेषताको विष्लेशण गरी सम्बन्धको भविष्यवाणी गर्न सक्षम रह्यो, जसको भविष्यवाण्ी ७९.३ मिल्न गयो ।  

‘मानिसहरु जानकारीका टुक्राहरुलाई राम्रोसँग बुझ्न सक्छन्, तर हामी यी उपलब्ध जानकारीको सबै पाटोलाई संबोधन गर्न सक्दैनौँ’, नारायणले भने । 

यद्यपि, तपाई सम्बन्ध सकिन्छ वा रहिरहन्छ भनी भविष्यवाण्ी गर्ने ‘एल्गोरिदम’ सतप्रतिशत विश्वासिलो भने होइन । वर्तमानमा यो खाली तीन–चौथाई मात्रै सही छ । यस्तो भविष्यवाणी तपाईको सम्बन्ध र तपाई आफ्नो पार्टनरप्रति कस्तो महशुस गर्नु हुन्छ भन्ने तथ्य परिवर्तन हुनसक्छ । तर, हाम्रो बोल्ने शैलीभित्र लुकेको जानकारी वा विशेषतालाई बुझेर हाम्रो सम्बन्धलाई राम्रो बनाउनमा प्रयोग गर्न सक्छौँ । 

यो ‘आर्टिफिसियल इन्टेलीजेन्स’ प्रोगाम विकसित गर्ने प्रमुख व्यक्ति हुन् टेक्सास ए–एण्ड–एमविश्वविद्यालयमा कम्प्युटर इन्जिनियर थिओडोरा चासपरी । चासपरी र उनको समूहले दैनिक ३४ जोडी आउने एक ‘फिटनेस ट्रयाकर’बाट डाटा लिएका थिए । 

चासपरी र उनको समूहले दम्पतीद्धारा उत्पन्न तर्ककोे प्याटर्नलाई बुझ्न ‘एल्गोरिदम’लाई प्रशिक्षण दिनका लागि एक मेसिनको प्रयोग गरे, यस डाटामाथि प्रशिक्षण भएपछि, एल्गोरिदमको परिणाम ७९.३ प्रतिशत सही निक्लेको थियो ।

यस समूहले विकास गरिरहेको ‘एल्गोरिदम’ डिभाइसले भविष्यमा जोडीहरुबीच हुने सम्भावित विवाद वा झगडाबारे संकेत दिन सक्नेछ । 

उदाहरणका लागि तपाई र तपाईको जोडी(श्रीमान् वा श्रीमती) फरक–फरक अफिसमा काम गर्नुहुन्छ र तपाई दुवैको दिन तनावपूर्ण रह्यो । तपाईहरु आ–आफ्नो बाटो घर फर्कने क्रममा हुनुहुन्छ । यस्तो अवस्थामा तपाईहरुको म्यासेज, पसिनाको मात्रा, मुटुको धड्कन र अघिल्लो कुराकानीको जाँच गरी एल्गोरिदमले घर पुगेपछि तपाई जत्तिकै तनावमा रहेको आफ्नो साथीसँग कति संघर्ष गर्नुहुन्छ भन्ने गणना गर्छ । 

‘यस अर्थमा हामीले संभावित द्धन्द्धलाई हस्तक्षेप गरी सकारात्मक तरिकाले सुल्झाउन सक्छौँ’, चासपरीले भनिन् । 

परम्परागत थेरापी ढाँचाले कुनै पनि तनावपूर्ण सम्बन्धलाई सही बाटो देखाउनमा चुक्न सक्छ अथवा परम्परागत थेरापी सेसन(मनोवैज्ञानिक काउन्सिलिङ)ले घण्टौँं, हप्ताको समय लगाउन सक्छ, किनकि यसमा बिरामीले अघिल्लो सेसनलाई सम्झनुपर्ने र समस्याका बारे व्याख्या गर्नुपर्ने झन्झट हुन्छ भन्छिन्, फ्लोरिडा अन्तराष्ट्रिय विश्वविद्यालयकी मनोवैज्ञानिक एडेला टिमोन्स । परम्परागत मनोवैज्ञानिक चिकित्सकहरु तत्काल सहयोग उपलब्ध गराउन असक्षम हुन्छन् । परम्परागत मनोवैज्ञानिक थेरापीमी विभिन्न चरणहरु हुन्छन्, जसले गर्दा खासै प्रभावकारी नहुने यस समूहको भनाई छ । 

तर, मानिसको शरीर विज्ञान र संवादको निरन्तर निगरानीमा आधारित एक स्वचालित शिघ्र थेरापीले सही समयमा काम गर्न सक्छ । यसका साथै यसले उत्कृष्ट उपचार पद्धतिलाई पनि संकेत दिन सक्ने उनीहरुको भनाई छ । 

‘जोडीबीच कुरा बिग्रनुअघि खाली एक म्यासेज पठाएर यो गर्न सकिन्छ’ टिमोन्स भन्छिन्, ‘जोडीबीच झगडा चलिरहेको समयमा हामी उनीहरुलाई हस्तक्षेप गर्न चाहदैनौँ । यदि उनीहरुबीच कुरा बिग्रिसकेको छ भने उनीहरु आफ्नो फोन प्रयोग गर्न नचाहान सक्छन् । तर, जोडीबीच झगडा सुरु हुने क्रममा छ, उनीहरुले आ–आफ्नो भावनालाई नियन्त्रणमा राखेका छन् भने यो समय झगडालाई हस्तक्षेप गर्दा सही साबित हुन्छ’ । 

यद्यपि, यस्ता एप्स विकसित गर्नअघि थुप्रै प्राविधिक बाधाहरु अझै बाँकी छन् । समूहले यस ‘एल्गोरिदम’लाई अझ सिद्ध गर्न र यसको प्रभावकारितालाई एक ठूलो मानिसको समूहमा परिक्षण गर्न आवश्यक हुन्छ । यसमा ‘प्राइभेसी’लाई लिएर पनि ठूलो प्रश्न छ । तपाईको जोडीसँगको सम्बन्धमाथि डाटा संकलन गर्ने डिभाइसको एक डाटा उल्लंघनले तपाईको संवेदनशील जानकारीलाई जोखिममा पार्न सक्छ ।

यदि चिकित्साको यो मोडल वास्तवमा सफल भएमा यो अन्य प्रकारका सम्बन्ध जस्तैः परिवारभित्र, कार्यलयमा, चिकित्सक–बिरामीबीचको सम्बन्धलाई सुधार गर्नका लागि समान तरिकाले भूमिका खेल्न सक्छ ।  

जति बढी हाम्रो विभिन्न शारीरिक प्रणालीहरुमाथि ध्यान दिइन्छ, हाम्रो आँखाको गतिविधिदेखि मांसपेशीहरुको तनावसम्म, यसले हाम्रो सम्बन्धभित्र लुकेका थुप्रै जानकारीहरु पत्ता लगाउन सक्छौँ । हाम्रो भलाकुसारी र सुरुवाती शारीरिक प्रक्रियाहरुको आधारमा विभिन्न अर्थको प्रमाण्ति एक मेसिनद्धारा डिकोट गर्न सकिनेछ । बिबीसीबाट (अनुवादकः गीता नेम्बाङ)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर