बाँकेमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु

बाँके । बाँकेको तीन गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु भएको छ । 

आर्थिक तथा सामाजिक सूचकका आधारमा कमजोर रहेका नरैनापुर, डुडुवा र जानकी गाउँपालिकामा कार्यक्रम सञ्चालन भएको कार्यक्रम सहजकर्ता केशव चालिसेले जानकारी दिए ।  

कार्यक्रमअन्तर्गत गुणस्तरीय स्वास्थ्य, शिक्षाको लागि पहल गर्दै आयआर्जनका अवसर सिर्जना गरी आर्थिक तथा सामाजिक रुपमा जनताको जीवनस्तरमा सुधार ल्याउने लक्ष्य रहेको उनले बताए । 

कार्यक्रम लागू भएका प्रत्येक गाउँपालिकामा रु ४५ लाखका दरले प्रदेश पाँच सरकारले बजेट पठाएको छ । उक्त बजेटले गरीब, ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका घरपरिवार, दलित पिछडिएको समुदाय र घरवारविहीन परिवारको शिक्षा, स्वास्थ्य, क्षमता विकास तथा सीपमूलक तालीम सञ्चालन गरी रोजगारका अवसर सिर्जना गरिने कार्यक्रमका सहजकर्ता चालिसेले बताए ।  

कार्यक्रम सञ्चालनको लागि स्थानीय तहमा गाउँपालिका अध्यक्षको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको छ । बाँकेका तीनवटै गाउँपालिकामा समिति गठन भइसकेको छ । 

आर्थिक तथा सामाजिक सूचकका आधारमा गाउँपालिकाबाट कार्यक्रम छनोट गर्ने तयारी भएको जानकी गाउँपालिकाका प्रशासकीय अधिकृत लोकबहादुर सुनारले जानकारी दिए । आर्थिक तथा सामाजिक विकासको क्षेत्रमा पछाडि परेका गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम उपयोगी देखिएको उनले बताए ।  

बाँकेका निमित्त जिल्ला समन्वय अधिकारी भरत मल्लले कार्यक्रम लागू भएका बाँकेको नरैनापुर, डुडुवा र जानकी गाउँपालिका आर्थिक तथा सामाजिक विकासका दृष्टिकोणले पछाडि परेको बताए । उनका अनुसार, राप्तीपारी पर्ने नरैनापुर भौगोलिक अवस्थाले समेत दुर्गम गाउँपालिकाको रुपमा चिनिएको छ भने मधेशी र मुस्लिम समुदायको बाहुल्यता रहेका डुडुवा र जानकी गाउँपालिका शिक्षा, स्वास्थ्य र सामाजिक विकासको क्षेत्रमा पछाडि परेका छन् । 

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागू भएका गाउँपालिकाबाट छनोट भएका कार्यक्रम जिल्ला समन्वय समितिको सिफारिशमा सञ्चालन गर्ने प्रावधान रहेको मल्लले बताए ।  त्यसको लागि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सहजकर्ताको कार्यालय जिल्ला समन्वय समितिमा स्थापना गरिएको छ । 

कार्यक्रमको प्रभावकारिताका लागि तीनवटै गाउँपालिका हेर्ने गरी एकजना अधिकृतस्तरको सहजकर्ता र प्रत्येक गाउँपालिकामा दुईजना सामाजिक परिचालकको व्यवस्था भएको सहजकर्ता चालिसेले बताए । । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर