प्रदर्शनीमा मौलिक कलाकृति : पाँच दर्जन बढी कलाकारका चित्र र मूर्ति राखिँदै

ललितपुर । मौलिक कला र संस्कृतिको सहरका रुपमा काठमाडौं उपत्यकालाई चिनिन्छ । यहाँ बनाइने कलाको पहुँच अन्तर्राष्ट्रिय बजारसम्म फैलिएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा बनाइने मौलिक कलाको अवलोकन गर्न निकै कठिन बन्दै गएको छ । 

कलाकृति बनाउन नपाउँदै कलाक्रेताले लगिहाल्ने भएकाले यी कलाको माग अन्तर्राष्ट्रिय रुपमै रहेको छ । नेवार कलाका रुपमा समेत परिचित यिनै कलाको पुल्चोकस्थित बोधिसत्व आर्ट ग्यालरीमा प्रदर्शनी हुन लागेको छ । नेपालका नाम चलेका पाँच दर्जन बढी कलाकारका ‘ज्वेल्स अफ नेवार आर्ट’ शीर्षकको उक्त प्रदर्शनीमा कलाकृति राखिन लागेको ग्यालरीका निर्देशक प्रज्वलमान शाक्यले जानकारी दिए । 

काठमाडौं उपत्यकामा प्रचलित नेवारी कलालाई एकस्थानमा प्रदर्शन गर्ने लक्ष्य राखेर प्रदर्शनीको आयोजना गरिएको शाक्यले बताए । उनले भने, ‘नेवारी कलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउने लक्ष्य राखेर प्रदर्शनीको आयोजना गरिएको हो । यसले नेपाली कलामा रहेको विविधता र शैलीगत चिन्तनलाई नजिकबाट नियाल्न सहयोग पु¥याउँछ ।’ 

प्रदर्शनीमा नेपालका ६४ जना नेवार शैलीमा काम गर्ने कलाकारका कलाकृति राखिदैँछ । जसमा ३३ जना पौभा कलाकार तथा बाँकी काष्ठकला, धातुकला, फिलग्री, कफलिङ्क्स, बहुमूल्य धातुका मूर्ति, ठोज्या माज्या आदि लगायतका विविध कला राखिने छ । 

प्रदर्शनीमा प्रेममान चित्रकार, दीपक जोशी, मुक्तिसिंह थापा, लोक चित्रकार, उदयचरण श्रेष्ठ, पूर्ण हेयजु, सुन्दर सिंख्वाल, राजेश अवाले, दिनेशचरण श्रेष्ठ, रत्नमान सिंख्वाल, हरिप्रसाद वैद्य, देवेन्द्र सिंख्वाल, समुन्द्रमान सिंह श्रेष्ठ, राजकुमार रानामगर, उजय बज्राचार्य, राजप्रकाश श्रेष्ठ, रामप्रकाश श्रेष्ठ, अमृत डंगोल, शुक्रराज तामाङ, राजन शाक्य, फल्समान शाक्य, विजय शाक्य, रवि श्रेष्ठ लगायतका कलाकारका कलाकृति राखिदैंछ ।

आयोजकले नेवार कलालाई नयाँ कलेवरमा आफ्नो संग्रहमा रहेका कलाकृतिलाई सार्वजनिकीकरण गर्ने जमर्को गरेको छ । ग्यालरीमा आवश्यक तामक्रम मिलाएर र अन्तर्राष्ट्रिय स्तरको बनाइएको प्रज्वलमानले जानकारी दिए ।

ग्यालरीले सन् २०११ मा पहिलोपल्ट सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा नेवार कलाको सामूहिक कला प्रदर्शनी गरेको थियो । उक्त प्रदर्शनीमा दर्शकको उल्लेख्य सहभागिता र सकारात्मक प्रेरणाले यसलाई निरन्तरता दिन आफूहरुलाई हौसला मिलेको ग्यालरीका सञ्चालक पूर्णमान शाक्यले बताए । उनले भने, ‘हामीले नेवार कलाको विकास र प्रबर्धन गर्ने ध्येय राखेर कलासंग्रह, प्रदर्शनी तथा विविध गतिविधि गर्दै आएका छौं । यसमा शुभचिन्तकको निकै हौसला मिलेको छ ।’ 

त्यस्तै, बोधिसत्वले त्यसपछि आफूसँग संग्रहितमध्ये युवा कलाकार समुन्द्रमान सिंह श्रेष्ठको सन् २०१६ मा एकल कला प्रदर्शनी ग¥यो । यसै वर्ष अर्का चर्चित पौभा कलाकार उदयचरण श्रेष्ठको एकल कला प्रदर्शनी गर्ने तयारी गरिरहेको छ । 
बोधिसत्व ग्यालरी व्यवसायिक संस्था भए पनि उत्कृष्ट कलालाई सदैव प्रोत्साहन र प्रवर्धन गर्ने प्रयास गरिरहेको प्रज्वलमानले जनाए । ग्यालरी सञ्चालक पूर्णमान शाक्य र अञ्जना शाक्यले आफ्नो व्यक्तिगत संग्रहमा पनि धेरै नेवार कलाकारका कलाकृति संग्रह गरेका छन् ।

ग्यालरीमा २ खण्ड रहेका छन् माथिल्लो तलाको स्थान जोसुकैका लागि पनि प्रयोग गर्न सकिन्छ भने तल्लो तलामा रहेको ग्यालरी बोधिसत्वको स्थायी ग्यालरी हो । सिद्धार्थ शाक्यका अनुसार ग्यालरीलाई पूर्णरुपमा व्यवसायिक र अन्तर्राष्ट्रिय स्तरको बनाउन आफूहरुले पहल गरिरहेको बताए । माघ ५ गतेदेखि सुरु हुने उक्त प्रदर्शनी दुई हप्ता चल्ने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर