सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन सुरु 

मन्त्री भन्दा स्वकिय सचिब बलिया भए: प्रदेश सदस्य 

हिमाल जोशी/धनगढी । शुक्रबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशनमा जनताले प्रदेश सरकार भएको अनुभुति समेत गर्न नसकेको भन्दै कडा आलोचना भएको छ । प्रदेश सभा बैठकमा बोल्ने अधिकांश सदस्यहरुले जनताले प्रदेश सरकार भएको अनुभुति समेत गर्न नसकेको भन्दै प्रदेश सरकारको आलोचना गरेका हुन् । 

प्रदेश सभाको तेस्रो अधिवेशनमा प्रतिपक्ष दलका सदस्यहरुले सरकार गठन भएको ११ महिना पुग्नै लाग्दा पनि जनताको पक्षमा देखिने गरी कुनै पनि काम गर्न नसकेको बताए । 

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले प्रदेश सरकारका मन्त्री जनताको पक्षमा काम गर्नुभन्दा पनि कार्यक्रम उद्घाटन र फुलमाला लगाउन मै व्यस्त रहेकोे आरोप लगाए । रातो किताबमा छनौट भएका योजना भन्दा मन्त्रालयमा थुप्रै योजना नयाँ बनिरहेको रावलको भनाइ थियो । साथै उनले सरकारका मन्त्री भन्दा बलिया तिनका स्वकीय सचिवहरु देखिन थालेको बताए । ‘रातो कितावमा भन्दा बाहिरका योजना तयार हुने काम भैरहेको छ यो अवैधानिक काम हो’ उनले भने–‘यस्तो भएमा प्रतिपक्ष चुप लागेर बस्दैन ।’

‘प्रतिपक्षले सरकारलाई सहयोग गरेकै कारणले सरकार उदण्ड बनेको आरोप जनताले हामीलाई लगाईरहेका छन्’ रावलले भने–‘प्रदेश सरकार पनि छ भन्ने आभाष जनतामा  छैन ।’ प्रतिपक्षको शालिनताको फाईदा उठाउँदै सरकार मनपरी गरिरहेको उनको आरोप थियो । 

काँग्रेसका अर्का सदस्य भरतबहादुर खड्काले प्रदेश सरकारले हाल सम्म खर्च गरेको पुँजिगत खर्च र बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्याय दिन नसक्नुले नै सुदूरपश्चिमबासीको शिर निहुरिएको बताए । सरकारले प्रदेशको बजेट कसरी खर्च गर्ने भन्ने संयन्त्र नै निर्माण गर्न नसकेको भन्दै खडकाले सरकार कर्तव्यबिमुख हुँदा अराजकता बढेको अरोप लगाए । प्रदेश सभाका सदस्य हुनुको काम र महत्व के हो भन्ने सरकारले बुझ्न नसेको भन्दै खडकाले सरकारकै कारणले प्रदेश सभा सदस्यको अपमान भइरहेको बताए । प्रदेश सरकारले छनौट गरेका योजनाहरु बिक्रि भैरहेको उनको भनाई थियो । प्रदेश सरकारका प्रमुख सचिवले पत्रकारको क्यामरा खोस्नु घोर आपत्तिजनक कार्य भएको खड्काले बताए । 

राष्ट्रिय जनता पार्टीका प्रदेश सभा सदस्य मालामती रानाले सरकार बिकासको बाटोमा हिड्न नसकेको आरोप लगाईन् । सरकारको काम कछुवाको गतिमा बढेको उनको भनाई थियो । 

सभामा सत्तापक्षका सदस्यहरुले भने सरकारको बचाउ गर्दै सुरुको एक वर्ष सिकाईकै चरणमा रहेको बताए । नेकपामा प्रमुख सचेतक तारालामा तामाङले सरकारको बिरोध गर्ने समय भैनसकेको बताए । अर्का सदस्य बीरभान चौधरीले यो समय संविधान कार्यान्वयनको भएकाले दलहरुका बीचमा दोसारोपण गर्ने समय नभएको बताए । प्रदेश सभा बैठक माघ ११ गते दिउसो १ बजे बस्ने छ । 

सरकारले पर्याप्त विजनेस नदिएका बेला सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु भएको हो ।  वर्षे अधिवेशन सम्पन्न भएको तीन महिनापछि पर्याप्त विजनेश नहँुदा नहँुदै प्रदेश सभाको हिउँदे अधिवेशन सुरु भएको हो सरकारले यो अवधिमा प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७५ बाहेकका अरु कुनै पनि विद्येयक दर्ता गराउन नसकेपछि विजनेस विना हिउँदे अधिवेशन सुरु हुन लागेको प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माले बताए।

संसदमा यसअघि नै पेश भएको प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक तीन महिना देखी सामाजिक विकास समितिमै अड्किएको छ। प्रदेशसभा सचिवालयका सचिव शर्माका अनुसार भोली चल्ने हिउँदे अधिवेशनको पहिलो बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक टेबल गर्ने कार्य तालिका रहेको छ।   

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर