• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

बुकीफूल नोस्टाल्जिया 

त्यो खोलाको किनारा
अनि सेताम्य फुलेको काँसघारी
अलिमाथि सल्ला र सालघारी हुँदै
निथ्रुक्क पसिनामा भिजेर
धेरैचोटि पाइतालाले नापेको छु
अजंगको त्यो भीमकाय पहाड
धेरैचोटि
हो, धेरैचोटि देउरालीमा
ढुंगामाथि फूल चढाएर
उकालै उकालो उक्लिएको छु 
गुँरासघारी छिचोलेर 
भेडिगोठ र चौरीखर्कमाथि
भुइँकुहिरोले ड्याम्म छोप्ने
बुकीफुलका बस्तीहरुमा
स्वच्छन्दताको लामो श्वास तानेर
धेरै चोटि
हो, धेरैचोटि
प्राकृतिक हाँसो हाँसेको छु
खै किन हो अचेल
सहर झरेपछि सायद 
मलाई बुकीफूलहरुले सम्झिएनन् 
या त मैले उनीहरुलाई बिर्सिएँ
उस्तै हाँसो नहाँसेको पनि वर्षौ भो...

लमजुङ

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर