हिजोको दुःख नै मेरो सफलता हो 

‘सुन, बालुवामा सुन छैन 
हुम्लामा हजुर नुन छैन ।’
कर्णालीको दुःख जनाउने उक्त गीतमा संगीत भरेर चर्चामा आएका संगीतकार हुन्, डाक्टर किरात । 
पछिल्लो समय रुचाइएका संगीतकारका रुपमा परिचित उनी एकल एल्बमको तयारीमा छन् । गायक, संगीतकार, गीतकारका रुपमा नेपाली सांगीतिक क्षेत्रमा उपस्थिति जनाएका किरातको जन्म खोटाङको खोटाङ गाउँपालिका सिमपानीको कसेरी गाउँमा भएको थियो । 

उनी सानैदेखि चञ्चले स्वभावका थिए । गोरो वर्ण, तिर्खर स्वभावका उनी सानोमा एकदमै बदमासी गर्न रुचाउने स्वभावका थिए । बालापनको याद गर्दै उनी भन्छन्, ‘सानोमा मैले जति बदमासी गरेका सायद कोही नहोला । आमा बाबा कस–कसको मात्र कुटाई खाइन मैले । आज ती दिनको याद गर्दा यस्ता दिन पनि थिए है ! जस्तो लाग्छ ।’

उनी एक सामान्य परिवारमा जन्मे हुर्केका थिए । उनले गाउँकै स्कुल कृष्ण प्रावि बर्रे, सिमपानी मावि र काठमाडांैको आरआर कलेजसम्म आफनो पढाइको गन्तव्य बनाए ।

सानैदेखि उनी गाउन र लेखन असाँध्यै रुचाउँथे । स्कुल तथा कलेजमा हुने धेरै कार्यक्रममा सहभागी हुन्थेँ । किसान परिवारको भए पनि उनका बाबुबाजे भने आर्मी थिए । बाबुबाजेको सपना पनि उनी एक असल देशभक्त नागरिक बनोस् भन्ने रहेको उनले सुनाए । तर, उनको सपना भने गायक र संगीतकार बन्ने थियो बाबुआमाको सपनाको वेवास्ता गर्दै उनी आफनो सपना पूरा गर्न लागि रहे ।

सुरुका दिनमा संगीतका बारेमा उनलाई खासै ज्ञान थिएन । उनी भन्छन्, ‘सानो छँदा हामी रिसाएको बेला बुबाले हजुरबुबाले बोलाउनको लागि उनीहरुकै तालमा गीत गाउने गर्नुहुन्थ्यो । त्यस्तै, सुत्ने समयमा उहाँहरु श्लोक पढेर हामीलाई अर्ति उपदेश दिने गर्नुहुन्थ्यो । त्यो मलाई याद हुन्थ्यो, त्यहीबाट नै मैले संगीतको सुरुवात् गरेको हुँ ।’ 

त्यो समय गीत संगीतको अहिलेजस्तो बजार नै थिएन । त्यसमा पनि संगीतकै कक्षा लिनका भारत नै जानुपर्ने बाध्यता थियो । तर, उनले बाजेले गुनगुनाएका आवाजलाई आफनो सपना बनाएर यो क्षेत्रमा लागे । उनी विशेष गरी सामाजिक परिवेशका प्रकृतिवादी, जीवनवादी गीत गाउन र संगीत भर्न रुचाउँछन् । 

उनको संगीतिक यात्राका पल भने निकै संघर्षमय तरिकाले बितेका छन् । गाउँबाट संगीतकार बन्न काठमाडौं छिरेका उनी यो सहरको यर्थाथताबाट कहिले उम्किने मौका नै पाएनन् ।

काठमाडौं खाल्डोमा सपना साकार पार्न उनले गरेका दुखका पल सामान्य नै लागेको उनले सम्झिए । उनी जीवनको एक पल स्मरण गदै भन्छन्, ‘काठमाडौं गएर सबै सपना एकैपटममा पूरा हुन्छन् जस्तो सोचेँको थिएँ । तर, जीवनमा सोचेँको कहाँ हुने रहेछ र !’

जीवनको यात्रामा आइपर्ने गल्छेडालाई आत्मविश्वासले भरिएको आफ्नो यात्राले जहिल्यै उनलाई अगाडि बढ्न अभिप्रेरित गर्यो । उनले भने, ‘काठमाडौंका गल्ली चप्पल नलगाई कति भौतारिएँ कति । त्यो सम्झँदा आजै जस्तो लाग्छ । लाउने र खाने उमेरमा गरेको संघर्षको त्यो क्षण आजै जस्तो लाग्छ । तर, तिनै दुःखका पल नै आज मेरो सफलताका आधार हुन् ।’

उनलाई कयौँपटक छाक टार्ने धौँ–धौँ भएको उनले सम्झिए । संगीत सिक्दा फि तिर्न नसकेको, बेलैमा घरबेटीलाई भाडा तिर्न नसक्दा बिन्ती बिसाएका पल उनको आँखामा झलभली आउने उनले बताए । दुःख पनि सुखको सुरुवात् हो भन्दै उनले भने, ‘महँगी सम्झेर घरबाट चुईचुईं पारेर गुन्दु्रक, किनामा, अचार घ्यु बोकेर ल्याएको अनि त्यसलाई खटाएर खाएको आज जस्तो लाग्छ ।’

अहिले उनले तीन सयभन्दा बढी गीतमा संगीत  भरिसकेका छन् । उनले पहिलो पटक संगीत भरेको गीतले उनलाई खासै नचिनाए पनि दोस्रोले भने उनलाई दर्शक स्रोतामाझ निकै चिनायो । उनले संगीत भरेको गीत ‘सुन बालुवामा सुन छैन, हुम्लामा हजुर नुन छैन’ भन्ने गीतले उनलाई संगीतकार डाक्टर किरात भनेर चिनायो ।

विशेष उनी सांगीतिक कार्यक्रमा भाग लिँदा आफनो आवाजमा केही गाएर सुनाउने गरेका छन् । साथै उनी आफनो शब्द तथा संगीतको एकल एल्बम लिएर आउने तयारीमा रहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर