• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

विना तथ्य बोल्छन् प्रधानमन्त्री र मन्त्रीहरु...

प्रधानमन्त्री भन्छन्, ‘मलाई आंकडामा खेल्ने शोख छैन’

काठमाडौं । प्रधानमन्त्री केपी ओली र मन्त्रीहरु विनातथ्य बोल्ने गरेको पाइएको छ । जनताका अगाडी भाषण गर्दा सरकारले निकै काम गरेको देखाउन कतिपय बिषयमा आवश्यकता भन्दा बढि बोल्दा उनीहरु विवादमा समेत पर्ने गरेका छन् । सरकारका मन्त्रीहरु धमाधम विवादमा परिरहेका छन् तर प्रधानमन्त्री केपी शर्मा ओलीले भने सरकारले महत्वपूर्ण काम गरिरहेको र आगामी दिनमा त्यसको प्रतिफल देखिने दाबी गर्दे आएका छन् । ३३ किलो सुन प्रकरण र निर्मलाहत्या प्रकरणदेखि वाइडवडी प्रकरणका पनि स्वयं प्रधानमन्त्री र मन्त्रीहरुले बिनातथ्य धारणा सार्वजनिक गरेको बिषयमा समेत चर्चापरिचर्चा हुने गरेको छ । पछिल्लो पटक प्रधानमन्त्री ओलीले सदनमा संवोधन गर्ने क्रममा मुलुकको अर्थतन्त्रका बारेमा जानकारी गराएपछि , आंकडाका बारेमा नै चर्चा भयो , फलस्वरुप अर्थमन्त्रालयले विज्ञप्ती नै जारी गर्दै अर्थतन्त्रका बारेमा जानकारी गरायो । चर्चापछि प्रधानमन्त्रीले मुख खोले , मलाई आकडामा खेल्ने शोख छैन , म आंकडा परिवर्तन गर्न आएको हुँ । 

 

कलंकी–नागढुंगा सडक, जहाँ सरकार छ : प्रधानमन्त्री ओली 
प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा सरकार कहाँ छ भन्नेहरुलाई जवाफ दिने क्रममा भने , 
‘वर्षौंदेखिको सपना थियो कलंकी–नागढुंगा । हेर्न जानुस् बन्दैछ राम्ररी, तीव्रताका साथ । हो त्यहाँ छ सरकार ।’ प्रधानमन्त्रीको भनाईपछि समाचारदैनिकको टिम उक्त सडक खण्डमा पुग्दा अस्तव्यस्त नै देखिन्थ्यो । केहि स्थानमा पिच गर्नका लागी तयारी गरिए पनि स्थानीयबासीको गुनासो जस्ताको तस्तैछ । केहि काम भएजस्तो देखिएपनि कामको गति सन्तोषजनक र व्यवस्थित थिएन ।

 

निर्मलाका हत्यारा पक्राउ परिसक्यो : उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल 
उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेले केहि दिन पहिला निर्मला पन्तको बलात्कारपछिहत्या गर्नेहरु पक्राउ परिसकेको र चाँडै सार्वजनिक गर्ने बताए । लामो समय निर्मलाको हत्यारा पक्राउ नपरेको अवस्थामा पोखरेलेको यस्तो भनाइले केहि आशा पलायो । तर उपप्रधानमन्त्रीको अभिव्यक्ति आएको निकै दिन वित्दापनि अभियुक्त भने सार्वजनिक हुन सकेन । यस बिषयलाई प्रमुख प्रतिपक्षीहरुले सदनमा मुद्धा नै बनाए । 

 

दशैंअघि मेलम्चीको पानी उपत्यकामा वितरण हुन्छः खानेपानी मन्त्री बिना मगर 
खानेपानी मन्त्री बिना मगरले गत फागुनमा मन्त्री पद सम्हालेपछि मेलम्ची नै पुगेर घोषणा गरिन , आगामी दशैंमा मेलम्चीको पानी काठमाडौँको धारामा आउँछ ।
तर मन्त्री मगरको घोषणा केवल घोषणाका लागि मात्रै थियो भन्ने अहिले आएर पुष्टि भएको छ । ठेकेदार कम्पनी सिएमसीका कारण सरकारको घोषणालाई घोषणमै सिमित गरिदिएको छ । यस बर्षको दशैमा त पानी आउन सकेन , अर्को दशैंमा पनि पानी आउने नआउने निश्चित छैन । 

 

३३ किलो सुन प्रकरणमा ठूला माछा छिटै पक्राउ गरिन्छ : गृहमन्त्री राम वहादुर थापा वादल

गृहमन्त्री रामबहादुर थापा बादलले सुन जेष्ठ महिनाको २३ गते ३३ किलो सुन प्रकरणमा ठूला माछा छिटै पक्राउ पर्ने बताएमा थिए । उनले भनेका थिए , ‘सुरुमा भुरा माछाहरु समातिए । त्यसपछि मझौला समातिएका छन , माछा मार्न क्रम जारी छ । त्यसैले आशा गरौं ठूला माछा पनि पर्न सक्छन् ’ अहिले ३३ किलो सुनकाण्ड सेलाएको छ । सुरुवाती चरणमा अनुसन्धान आयोग बनाएर छानविन भएपछि केहि व्यक्तिहरु पक्राउ परेका थिए तर अहिले पक्राउ परेका व्यक्तिहरु धमाधम धरौटीमा छुट्न लागेका छन् । अनुसन्धान जुन गतिमा हुनुपर्ने हो , त्यसो हुन नसकेको देखिन्छ । 

 

सर्वोच्च अदालतबाट भएको फैसलाका आधारमा रकम भुक्तानी : पर्यटनमन्त्री रवीन्द्र अधिकारी 
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले वाइड विमान खरिद प्रकरणमा सर्वोच्च अदालतबाट भएको फैसलाका आधारमा रकम भुक्तानी दिएको बताएका थिए । तर पछि यथार्थमा सम्पूर्ण भुक्तानी भइसकेर दुई वटै विमान आएपछि मात्रै सर्वोच्चको फैसला आएको देखिएको छ । त्यस्तै उनले  वाइड विमान खरिद प्रकरणमा भुक्तानि दिने बिषयमा आफ्नो कुनै संलग्नता नरहेको बताए तर पछि उनैले रकम भुक्तानी गरेको बताए । 


के गर्दैछ सरकारी आश्वासन समिति

सरकारले बिभिन्न समयमा दिएको आश्वासन कार्यान्वयन भए नभएको अध्ययन अनुसन्धान गर्न राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति नै गठन भएको छ । समिति सभापति राम नारायण बिडारीले प्रधानमन्त्री र मन्त्रीहरुको आश्वासनका बारेमा छलफल भएको जानकारी दिए । समाचारदैनिकसंग कुरा गर्दे विडारीले भने , प्रधानमन्त्री र मन्त्रीहरुले बोलेका आश्वासनका बारेमा छलफल भएको छ , आवश्यक परे हामी कार्यान्वयनको अवस्थाका बारेमा प्रधानमन्त्री र मन्त्रीहरुसंग छलफल गछौं । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर