• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

महिला क्रिकेट टोली स्वदेश फिर्ता, ‘मानसिक दबाबका कारण हार्यौँ’ 

काठमाडौं । थाइल्याण्डमा सम्पन्न महिला टी–२० स्म्यास क्रिकेटको उपविजेता नेपाली टोली आइतबार स्वदेश फर्किएको छ ।

फाइनलमा नेपाल शनिबार आयोजक थाइल्याण्डसँग पराजित भएको थियो । १२ वर्षपछि उपाधि नजिक पुगेर उपविजेतामा सिमित बनेको नेपाली टोली फाइनल खेलमा मानसिक रुपमा दबाबमा परेको टिमका प्रशिक्षक विनोद दासले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै दासले फाइनलमा थाइल्याण्ड नेपाली  टोली भन्दा  मानसिक र शारीरिक रुपमा नै निकै बलियो देखिएको बताए । यद्यपी प्रतियोगिता अघि फाइनलमा पुग्ने लक्ष्य राखिएकोमा त्यो पुरा भएको उनले बताए । उनले भने, ‘हामीले हामीले प्रतियोगिता अगाडी नै फाइनलमा पुग्ने लक्ष्य राखेका थियौ, हुन पनि त्यस्तै भयो’ । 

फाइनलमा नेपाली खेलाडी थाइल्याण्ड विरुद्ध मानसिक रुपमा केहि दबावमा आएकाले त्यसको असर टिमको प्रदर्शनमा परेको उनको भनाइ थियो । प्रतियोगिताभरी ब्याटिङ र बलिङमा राम्रो देखिएपनि मानसिक रुपमा कमजोर हुँदा फाइनल हारेको उनको तर्क थियो । 

उनले पछिल्लो समय थाइल्याण्ड महिला क्रिकेटमा उदाउँदो देशका रुपमा अगाडी बढेको उल्लेख गर्दै भने, ‘उनीहरुसँग नियमित प्रतियोगिताहरु छन, हामी प्रतियोगिताको अगाडी मात्र प्रशिक्षण गर्छौ,’ ।  १५–२० दिनको प्रशिक्षणमा हामी गएर खेल्दा यतिको सफलताले निकै हौस्याएको दासको भनाइ थियो । 

‘नेपाली महिला खेलाडीको बन्द प्रशिक्षण छोटो भयो भन्ने प्रश्नमा दाशले भने ‘यो समस्या महिला टिमलाई मात्र होइन, यू–१९, सिनियर सबैमा छ, यो के कारणले हो त्यो भनिरहन नपर्दा, किनकी पछिल्लो पटक नेपालको क्रिकेटको अवस्था नै त्यस्तै छ । तर अब अर्को महिना हुने छनोट प्रतियोगिताका लागि मैले भोली देखि नै होमवर्क गर्नेछौ, र यस प्रतियोगितामा देखिएको कमजोरीलाई कम गर्दै क्वालिफायर्समा राम्रो गर्ने विश्वास छ ।’

‘हामी आफ्नै गरेर यति खेल्न सक्यौँ’–कप्तान रुविना क्षेत्री 

टिमकी कप्तान रुवीना क्षेत्रीले यो प्रतियोगितामा टिमको प्रदर्शन अहिलेसम्म कै राम्रो रहेको बताइन । तर फाइनलमा राम्रो खेल्दा खेल्दै पनि मानसिक रुपमा पुरै दबाबमा परेका कारण हार व्यहोर्नुपरेको उनले बताइन् । उनले भनिन् टिममा यसपटक सबैकुरा देखियो, इगो, हंगर र इन्टेन्सन, तर पहिले टिममा इगो र हंगर भएपछि जित्ने इन्टेन्सनमा कतै कमि रहेको जस्तो देखिन्थ्यो । उनले थपित, ‘तर फाइनलमा हामी राम्रो खेल्दा खेल्दैपनि चुक्न पुग्यो, किनकी पुरै टिम मानसिक रुपमा दबावमा आयो । सिनियर खेलाडीपनि मानसिक रुपमा फिट देखिएनन् ।’ 

कप्तान क्षेत्रीले राम्रै प्रशिक्षण गरेको र त्यहि प्रशिक्षणको आधारमा टिमले यो नतिजा ल्याएको बताइन् । ‘तर नेपालमा महिला क्रिकेटका जुन अवस्था छ, त्यसमा ध्यान दिने बेला आएको छ ।’ उनले भनिन् ।  

पछिल्लो १२ वर्षदेखि क्रिकेट खेलिरहेपनि निजि क्षेत्रको लगानी, नियमित क्रिकेट प्रतियोगिता,  मासिक तलव लगायत नरहेको उनको गुनासो थियो । उनले भनिन्, ‘राम्रो खेल्दा पनि त्यसको फल हामीले कस्तो हुन्छ, त्यो पाउन सकेका छैनौ । अहिलेसम्म हामीले जतिपनि खेलेका छौ, त्यो खेलाडी आफैले गरेर भएको छ ।’
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर