• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

इजिप्टमा आतङ्कवाद विरोधी कारबाहीका क्रममा ६६ जनाको मृत्यु

काएरो । इजिप्टको सिनाइ क्षेत्रमा सेनाको आतङ्कवाद विरोधी कारबाहीका क्रममा विगत केही दिनमा कम्तीमा ५९ जना लडाकू र सात सैनिकको मृत्यु भएको छ । 

उक्त कुरा इजिप्टको सेनाले मङ्गलबार एक विज्ञप्ति जारी गरी पुष्टि गरेको छ । 

“सिनाइ द्वीपका उत्तरी तथा मध्य क्षेत्रका सुख्खा क्षेत्रमा सेनाले चलाएको आतङ्कवाद विरोधी कारबाहीमा कम्तिमा १५ जना कुख्यात आतङ्कवादी मारिएका छन्,” सेनाका प्रवक्ता टामेर अल रेफाइले भने । 

सेनाको दोस्रो तथा तेस्रो स्थल शिविर क्षेत्रमा भएका कारबाहीमा विस्फोटक पदार्थ र हतियारले सुसज्जित अन्य ४४ जना आतङ्कवादीलाई मारिएका छन् । 

उक्त क्रममा सेनाका एक अधिकृत तथा अन्य छ सिपाहीको पनि मृत्यु भएको सेनाले बताएको छ । उक्त सुरक्षा कारबाहीका क्रममा सेनाले १४२ जना लडाकूलाई नियन्त्रणमा लिएको, ५६ गाडी तथा दुई हतियार भण्डार नष्ट गरिएका बताइएको छ । 

विद्रोहीद्वारा सेनालाई लक्षित गरी राखिएका २४२ विस्फोटक वस्तुलाई सुरक्षित रूपमा नष्ट गरेको सेनाले बताएको छ । 

इजिप्टमा इश्लामिक राष्ट्रपति मोहम्मद मोर्सीलाई आन्दोलनको भरमा सन् २०१३ मा पदच्युत गरिएपछि उनको स्थानमा आएको नेतृत्वले मोर्सीका समर्थक तथा इश्लामिक आतङ्कवादी समूहसँग पटकपटक सङ्घर्ष गरिरहनु परेको छ । 

सिनाइ क्षेत्र इजिप्टको विद्रोही पक्षको राम्रो पकड भएको स्थान हो । उक्त क्षेत्रमा इजिप्टको इश्लामिक स्टेट समूह समर्थकहरूको प्रभाव क्षेत्र हो । सिनाइमा मात्रै सन् २०१८ को फेब्रुअरीपछि भएका झडपमा परी ८०० लडाकू तथा ३० सैनिकको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर