• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

मुस्ताङमा हिमपात, चिसोले जनजीवन प्रभावित

मुस्ताङ । मुस्ताङमा हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवासमेत प्रभावित भएको छ । 

जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेतेलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकमा हिउँ जमेपछि जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ । 

सडकमा एक फिटसम्म बाक्लो हिउँ जमेको छ । बेनी–जोमसोम सडकको यातायात सेवामा भने हिमपातले असर गरेको छैन । यातायातका साधन चलिरहेका छन् । चिसो बढेकाले सर्वसाधारण घर बाहिर निस्कन नसकेको ठिनीका बासिन्दा सुवास थकालीले बताए ।

घरभित्रै आगो तापेर बसेका छन् । गाई, भेँडा, चौरी, च्याङ्ग्रालगायत घरपालुवा जनावरलाई सुख्खा घाँसपात खुवाएर राखिएको छ । चरनका लागि छाडिएको छैन । वर्षासँगै हुरी पनि चलेको छ । पर्यटकीयस्थल पनि सुनसान छन् । जोमसोम–पोखरा हवाई उडान पनि हिमपात, हुरी र खराब मौसमका कारण अवरुद्ध भएको छ । 

सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि न्यून छ । सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम पनि चिसोका कारण प्रभावित बनेको छ । उपल्लो मुस्ताङका बासिन्दा कुरुवालाई घर जिम्मा लगाएर जाडो छल्न कात्तिकमै बेँसीका न्यानो स्थानमा झरेका थिए । 

वर्षा र हिमपातले कृषकमा भने खुशीयाली छाएको छ । यो वर्ष मुस्ताङमा तेस्रो पटक हिउँ परेको हो । वर्षा भएपछि सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने थासाङ गाउँपालिका–२ कोवाङका कृषक चन्द्रबहादुर शेरचनले बताए । 

हिउँ पग्लिएर खेतबारीमा हालेको मल भिज्ने र बोटबिरुवा फस्टाउने, उत्पादन बढ्ने कृषक बताउँछन् । स्याउको परागसेचनका लागि माइनस तापक्रमको आवश्यकता पर्ने शितोष्ण बागबानी फार्म मार्फाका प्रमुख बालकृष्ण अधिकारीले बताए । स्याउ, जौँ, गहुँ, उवा, फापर बाली सप्रने जनाइएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर