• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

उदयपुरमा केबलकार सञ्चालनका लागि बृहत गुरुयोजना 

गाईघाट । उदयपुरको  सदरमुकाम गाईघाट बजारबाट त्रियुगा नगरपालिका १६ बेलदोभान हुँदै जिल्लाको पहाडी क्षेत्रको धार्मिक, पर्यटकीयस्थल रौतामाईसम्म केवलकार सञ्चालनका लागि बृहत गुरुयोजना प्रतिवेदन (डिपिआर) बनाउन सुरु भएको छ । 

त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको पहलमा पहिलोपटक डिपिआर तयार गरेर प्रदेश सरकारलाई बुझाई योजनाको सर्भे शुरु गर्ने तयारी गरेको त्रियुगा नगरपालिकाका प्रमुख बेलदेव चौधरीले बताए । 
दुई महीनाभित्र सर्भे सम्पन्न गरेर आर्थिक वर्ष २०७६-७७ बाट गाईघाट–बेलदोभान हुँदै पहाडी क्षेत्रको धार्मिक पर्यटकीय र तीर्थस्थल रौतासम्म केबलकार सञ्चालनको योजना सुरु हुने प्रमुख चौधरीले बताए । 

जिल्लाकोे सदरमुकाम गाईघाटदेखि करीब १९ किलोमिटर उत्तरी पहाडी क्षेत्रको दूरीमा रहेको रौतापोखरीसम्म केबलकार सञ्चालनका लागि झण्डै चार अर्ब लाग्ने रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्का बताउछन् । 

तीन अर्ब लगानी गर्न विभिन्न केबलकार कम्पनीसँग छलफल र परामर्श भइसकेको र उनीहरु लगानी गर्न तयारी भएको पनि अध्यक्ष खड्काले बताए । बाँकी  एक अर्बमध्ये ५० करोड त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाले तीन वर्षभित्र लगानी गरिसक्ने र बाँकी स्थानीय वासिन्दाबाट लगानी गरेर चार वर्षभित्र केबलकार सञ्चालनमा ल्याउने कुरा त्रियुगा नगरपालिकाका प्रमुख चौधरी बताउछन् । 

केबलकार सञ्चालनमा आएपछि जिल्लाकै सबैभन्दा महत्वपूर्ण धार्मिक र पर्यटकीयस्थलको रुपमा रहेको रौता क्षेत्रसम्म आन्तरिक तथा बाह्य पर्यटक आगमनमा वृद्धि हुँदा जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने प्रदेश १ का सांसद अम्बिका थापा र विमल कार्की बताउछन् । 

रौता पौखरी र रौता पञ्चकन्या देवीको मन्दिरमा अहिले दैनिक दुई सयसम्म भक्तजन पूजा गर्न जाने गरेका छन्, भने अन्य प्राकृतिक दृश्यावालेकन गर्नेको संख्या पनि दैनिक सयौँको हाराहारी पुग्ने गरेको बताइएको छ ।  

समुद्री सतहबाट दुई हजार मिटरको उचाइको पहाडी क्षेत्रमा अवस्थित रौताबाट उत्तरतिर सगरमाथा हिमाल, ओखलढुङ्गा, सोलु क्षेत्र, खोटाङको दिक्तेल, हलेसी देख्न सकिन्छ । रौताबाट पूर्वतिर ट्याम्के डाँडा, अरुणबरुण, सङ्खुवासभा क्षेत्र र दक्षिणतिर सप्तरी, सिरहा, धनुषा, सप्तकोशी, इटहरी र विराटनगरसम्म अवलोकन गर्न सकिने हुनाले पनि जिल्लाकै महत्वपूर्ण पर्यटकीयस्थल रहेको छ । 

गाईघाट–बेलदोभान हुँदै रौतासम्म केबलकार सञ्चालन भएपछि प्रदेश १ र प्रदेश २ लगायत अन्य जिल्लाबाट समेत ठूलो सङ्ख्यामा रौता क्षेत्रमा पर्यटक आगमन गर्न सहज हुने र जिल्लाको पर्यटन विकासमा मद्दत पुग्ने जिल्लाका जनप्रतिनिधिले बताएका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर