अण्डा उत्पादक संघले अण्डाको सस्तो पसल सञ्चालन गर्ने

चितवन । उत्पादन गर्ने कृषकले लागत मूल्य नपाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने भएपछि नेपाल अण्डा उत्पादक संघ आफँैले विभिन्न क्षेत्रमा अण्डाको सस्तो पसल राख्ने भएको छ । 

हालको दरभाउअनुसार कृषकले एउटा अण्डाको ८ रुपैयाँ १६ पाउँदै आएका छन् भने उपभोक्ताले सोही अण्डा १५ सम्ममा किन्नुपर्ने बाध्यता छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार बिचौलियाका कारण कृषक र उपभोक्ता मारमा परेका छन् । 

अहिलेको बजार संरचनाअनुसार पाँच ठाउँ पार गरेर किसानको अण्डा उपभोक्ताकोमा पुग्ने गर्दछ । कँडेलको भनाइमा किसानले दानावालालाई अण्डा दिने गर्दछन । दानावालाले प्रमुख शहरको सङ्कलन केन्द्र (डिलर) लाई अण्डा दिने गर्दछ । 

त्यसपछि अण्डा केन्द्रबाट सहायक केन्द्र, सहायक केन्द्रबाट बिक्री गर्ने व्यक्ति (सेल्सम्यान) र बिक्री गर्ने व्यक्तिबाट किराना पसलसम्म पुग्छ । यसरी अण्डा उपभोक्ताकोमा पुग्दै गर्दा एउटाले प्रतिक्रेट पाँचदेखि ३० सम्म नाफा राख्ने सैद्धान्तिक सहमति रहेको छ ।

यद्यपि बजारको अवस्था हेरेर बढी नाफा राखिदिँदा किसान र उपभोक्ता मर्कामा पर्ने गर्दछन् । अण्डाको दरभाउमा बिचौलियाको प्रभाव हुने हुँदा किसानले लागत मूल्य नपाएको गुनासो गरेका छन् । 
सङ्घका केन्द्रीय सचिव मदन पोखरेलले किसान र उपभोक्तालाई लाभ पु¥याउन सस्तो पसल सञ्चालन गर्न लागेको बताए । 

पहिलो चरणमा चितवनका तरकारी मण्डी र प्रमुख बजारमा सस्तो मूल्यका अण्डा बिक्री केन्द्र खोलिने छ । क्रमशः काठमाडौँ, पोखरा, दाङलगायतका क्षेत्रमा केन्द्र खोली किसान र उपभोक्तालाई लाभ दिन लागिएको उनले जानकारी दिए । 

दानाको कच्चा पदार्थ महँगिएसँगै अण्डाको लागत मूल्य बढेको छ । हालको बिक्री मूल्यले लागत मूल्य नधान्ने बताउँदै उनले बिचौलियाको प्रभाव कम गरेर कृषक बचाउन नसके आत्मनिर्भर रहेको व्यवसाय सङ्कटमा पर्ने बताए । 

हाल नेपालमा दैनिक ३५ लाख अण्डा उत्पादन हुँदै आएको छ । दुई हजारभन्दा बढी कृषक लेयर्स कुखुरापालनमा आबद्ध भएको बताउँदै उनले एक लाख ७० हजारलाई प्रत्यक्ष रोजगारी दिएको बताए । 
अण्डा उत्पादनका क्षेत्रमा मात्र देशभरमा ५० अर्ब हाराहारी लगानी भएको पोखरेलको भनाइ छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर