जंगली जनवारबाट सुरक्षित हुन माछा पालन

 चितवन । जंगली जनवार बाट आजित बनेका चितवनको माडीका किसानहरु पछिल्लो समय माछा पालन तर्फ आकर्षित भएका छन् । 

 अन्य खेती गर्दा जंगली जनावरले दुख दिने र बर्खामा बाढीले बगाउने समस्याबाट वर्षाै देखि पिडीत स्थानीय माछापालन सुरु गरेसँगै आर्थिक अवस्था पनि राम्रो भएको बताउँछन् । माडी नगरपालिका–९ कृष्णनगरकी ४२ वर्षीय कृष्ण रेग्मीले  विगत ७ वर्षदेखि पालन सुरु गरेकी छन् ।

सुरुमा कस्तो हुने हो भनेर थोरै पुजी मात्रै लगानी गरेका रेग्मीले अहिले व्यवसायिक रुपमा नै माछापालन गर्न थालेका छिन् । जंगली जनावरबाट पनि सुरक्षित हुने, आम्दानी पनि राम्रो हुने भएरै माछापालन गरेको उनले बताइन ।

‘माछाको पकेट क्षेत्रका रुपमा परिचित माडीमा माछापालक किसानलाई  नयाँ प्रविधिका बारेमा जानकारी दिनुपर्ने उनको भनाई छ । गोरखाबाट दुई वर्ष अगाडी मात्रै बसाई सरेर माडी आएका भक्क्तबहादुर भण्डारी अहिले माछापालेर सात जनाको परिवार पालेका छन् । 

तिन वर्षसम्म साउदी अरबमा काम गरेको बताउने भण्डारी गोरखाको खमारीमा जति दुख गरेपनि परिवार पाल्न गाह्रो हुने भएपछि उनी अरुको खेती अदिया गर्नका लागि माडी आएको बताउँछन् । दुई विगाह खेतीसँगै उनले दश कठ्ठा क्षेत्रफलमा माछा पालन गरेका छन् । अन्य खेतीभन्दा माछापालन धेरै सजिलो हुने उनको अनुभव छ ।

एक सिजनमा ५० हजार भन्दा वढी आम्दानी गर्न सफल भएको भण्डारी बताउछन् ।पोल्ट्री र दूध उत्पादनमा अग्रणी जिल्ला चितवनमा पछिल्लो समय व्यावसायिक माछापालन फस्टाउँदै गएको छ । जमिनमुनि सहजै पानीको स्रोत रहनु र वातावरण माछाका लागि अनुकूल रहेकै कारण यहाँ माछापालन व्यवसाय फस्टाएको नेपाल मत्स्य व्यवसायी संघ नेपालका अध्यक्ष जोगेन्द्र महतो बताउँछन् ।

माडीमा पानीको राम्रो सुविधा भएकोे कारण स्थानियहरु धान खेत भन्दा माछा पालनतर्फ आकर्षित भएका छन् । जिल्ला कृषि विकास कार्यालय, चितवनले दिएको जानकारी अनुसार हाल चितवनमा आठ सय हेक्टर क्षेत्रफलमा ५०४ हेक्टर जलाशयमा माछापालन गरिएको छ । जसमा एक हजार १ सय ७२ कृषक प्रत्यक्ष रुपमा संलग्न छन् ।

जिल्ला कृषि विकास कार्यालय चितवनका मत्स्य विकास अधिकृत पर्शुराम यादवका अनुसार पोखरी संख्या दुई हजार ७३ वटा रहेका छन् । जिल्लाको वार्षिक माछाको उत्पादन दुई हजार मेट्रिक टनभन्दा बढी छ । गत वर्ष एक हजार ९२५ दशमलव २८ मेट्रिक टन माछा उत्पादन भएको यादवले बताए ।

जिल्लामा सात जातका माछा पालिँदै आएको छ । जसमा रहु, नैनी, सिल्भर कार्प, बिगहेड कार्प, ग्राम पार्क, कमनकार्प, भाकुर जातका माछा रहेको संघले जनाएको छ । चितवनमा माडीसंगै पूर्वी चितवनको कुमरोज, कयर, बछौली, लालपर्सा, पश्चिम चितवनको दिव्यनगर, गुञ्जानगर, शङ्करचोक, पटिहानी, जगतपुरलगायतका क्षेत्रमा माछापालन गरिँदै आइएको छ ।

जाडो बढेसंगै अहिले माग वढे पनि किसानको विभिन्न समस्याका कारण माडीको माछा चितवनको नारायणगढ र अन्य जिल्लामा पुराउन नसकिएको संघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर