• शनिबार ११-११-२०७५/Saturday 02-23-2019/ 06:25 pm

भेनेजुएलाः अमेरिकी षड्यन्त्रबीच लरखराइरहेको एक देश 

भेनेजुएलाको संकट गहिरिँदै गइरहेको छ । राष्ट्रपति निकोलस मादुरो(युनाइटेड सोशालिस्ट पार्टी)को सत्ता परिवर्तनको सम्पूर्ण पटकथा अमेरिकाको वासिंटनमा लेखिइसकेको छ र त्यो पटकथा अनुसार, फरक–फरक पात्र आ–आफ्नो अभिनयमा निभाइरहेका छन् । 

गत २१ जनवरीमा विपक्षी गठबन्धन ‘युनिटी कोलिशन’का नेता खुआन गोइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरे र अमेरिका, क्यानडा, फ्रान्स, ब्रिटेन, जर्मनी, स्पेन, बेल्जियमलगायत अन्य पश्चिमी देशहरु र ब्राजिल, कोलम्बिया, पेरु, चिल्ली आदी केही ल्याटिन अमेरिकी देशहरुले खुआन गोइदोलाई आफ्नो समर्थन दिएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी स्वघोषित राष्ट्रपतिलाई सरासर मान्यता दिए । यस घटनासँगै मादुरो सरकारले अमेरिकासँग आफ्नो कूटनीतिक सम्बन्ध समाप्त गरेका छन् । साथै अमेरिकी कूटनीतिज्ञले ७२ घण्टाभित्र देश छोडने आदेश पनि दिए । यद्यपि, यो आदेशलाई न त अमेरिकाले मान्यो र न मादुरो सरकारले यसलाई हटायो । देशमा ८ दिनभित्रमा चुनाव गर्न अमेरिका र उनका सहयोगी देशहरुले माग गरेका छन्, यसो नभए परिणाम गम्भिर हुने पनि बताएका छन् । 

भेनेजुएलाका विदेशमन्त्री खोखे अरिआसले ‘‘मादुरोको राष्ट्रपति पदमा रहिरहनु पूर्णरुपले वैध छ र हामीमाथि चुनावको दबाब राख्न कसैलाई अधिकार नभएको’’ संयूक्त राष्ट्र सुरुक्षा परिषदमा भनेका छन् । 

रुस र चीनसँगै इरान, सिरिया, क्यूबा, मेक्सिको, टर्की, निकारागुआ, उरुग्वे र बोलिभिया लगायत देशले खुलेर मादुरो सरकारको समर्थन गरेका छन् । यी देशहरुले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई आग्रह गरेका छन् । संयूक्त राष्ट्रसंघमा रुसका राजदूत भासिली नेबेन्जियाले वासिंटनमाथि मादुरो नेतृत्वको सत्ता परिवर्तनको प्रयास गरिरहेको आरोप लगाएका छन् । नेबेन्जियाले कुनै पनि हालतमा सैनिक हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी पनि दिएका छन् । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एक बयानमा भनेका छन्, ‘भेनेजुएलामा विदेशी हस्तक्षेपले अन्तराष्ट्रिय कानुनको मूलभुत सिद्धान्तलाई ध्वस्त गरिदिएको छ ।’ त्यस्तै, एक निर्वाचित राष्ट्रपति हुँदाहुँदै कोही आफूलाई राष्ट्रपति घोषित गर्छ र उसलाई केही देशले मान्यता पनि दिएकोमा टर्कीले हैरानी व्यक्त गरेको छ । 

चाभेजको मृत्युपछि पछिल्लो पाँच वर्षको मादुरोको शासनकालमा देशको अर्थव्यवस्था पूर्णरुपले कमजोर बन्यो, यसमा कुनै शंका छैन । महंगीले आकाश छुने क्रममा छ र ठूलो संख्यामा नागरिक देशबाट पलयान हुन बाध्य भएका छन्, तर यसमा मादुरो सरकारको प्रशासनिक अक्षमताका साथै भेनेजुएलाविरुद्ध पछिल्लो २० वर्षदेखि अमेरिकाले गर्दै आएको षड्यन्त्रको निक्कै ठूलो योगदान छ । २१ जनवरीदेखि फैलिएको अशान्तिका कारहालसम्म ठाउँ–ठाउँमा भएका मुठभेडहरुमा ४० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । 

अमेरिकाका विदेशमन्त्री माइक पोम्पिओ केही दिनयता मादुरो सरकार विरुद्ध विष ओकलिरहेका छन् र रुस र चीनमाथि एक ‘विफल सरकार’लाई बढावा दिएको आरोप लागेको छ । भेनेजुएलाको सेनाले पूर्ण रुपमा मादुरोको समर्थन गरेको छ । तर सेना विभाजित भए मादुरोलाई दिएको समर्थन् कमजोर हुन सक्छ र अमेरिका यहि चाहन्छ । त्यसैले ऊ लगातार भेनेजुएली सेनाभित्र फुट ल्याउने प्रयास गरिरहेको छ । यसबीच वासिंटनमा तैनाथ भेनेजुएलाका सैनिक प्रतिनिधिले आफ्नो पक्ष परिवर्तन गरेका छन् र मादुरो सरकारको सट्टा स्वघोषित राष्ट्रपति गोइदोप्रति आफ्नो निष्ठा व्यक्त गरे । 

समग्रमा हेर्दा भेनेजुएलाको स्थिति निक्कै गम्भिर बनिररहेको छ । यदि निकट भविष्यमा संकटको कुनै समाधान नखोजिए र अमेरिकाले सैनिक हस्तक्षेपको निर्णय लिएमा पुरै विश्व एक नयाँ युद्धको चपेटामा आउने अन्तराष्ट्रिय विश्लेषकको मान्यता छ । त्यसो त, चीन र रुससँग विषेधाधिकार भएका कारण अमेरिकामाथि सुरक्षा परिषद्को दबाब बनाइरहन सक्ने पनि आशा राखिएको छ । 

३० जनवरीमा अमेरिकाको एक अर्को घोषणाले स्थितिलाई केही जटिल बनाएको छ । पहिले त अमेरिकाले भेनेजुएलाको सरकारी तेल कम्पनी पिडिभीएसएमाथि प्रतिबन्ध लगाउँदै भेनेजुएलाको सेनाबाट सत्ताको शान्तिपूर्ण हस्तान्तरणलाई स्वीकार गर्नका लागि भनियो र जब उसको यस कुरामाथि सेनाले ध्यान दिएन, उसले अमेरिकी बैंकहरुमा उपलब्ध खाताको नियन्त्रण खुआन गोइदोलाई दिने घोषणा गर्यो । यसको अर्थ भेनेजुएलाको तेल बिक्रीको पैसा मादुरोको सरकारसम्म पुग्नेछैन ।

गोइदो पनि तेलको सम्पतिबाट हुने कमाईमा उनको नियन्त्रण होस् भन्नेनै चाहान्थे । स्मरण रहोस्, विश्वको सबैभन्दा ठूलो तेल उत्पादक देश भेनेजुएला आफ्नो तेलको बिक्रीका लागि अमेरिकामाथि निक्कै हदसम्म निर्भर छ । भनेजुएलाले ४१ प्रतिशत तेल अमेरिकालाई निर्यात गर्छ । यतिमात्रै होइन, अमेरिकालाई कच्चा तेल दिने विश्वको चार सबैभन्दा ठूलो उत्पादक देशमध्ये एक भेनेजुएला हो । 

अमेरिकाद्वारा गोइदोको हातमा तेलबाट हुने आयको नियन्त्रण दिएपछि भनेजुएला सरकारले केही सावधानीपूर्वक कदम उठाएको छ । भेनेजुएलाको सर्वोच्च अदालतले गोइदोलाई देश बाहिर जान प्रतिवन्ध लगाउनुका साथै उनको सम्पत्ति फ्रिज गर्न आदेश दिएको छ । 

मादुरोको नेतृत्त्वमा देश खराब स्थितिमा पुगेको थियो, जसकारण उसमाथि हस्तक्षेप गर्न आवश्यक भएको अमेरिकी पक्षका केही विश्वलेषहरुले तर्क गरेका छन् । यी विश्लेषकहरु अमेरिकाले पछिल्लो २० वर्षदेखि लगातार भेनेजुएला सरकार विरुद्ध सक्रिय रहेको तथ्य लुकाइरहेका छन् । वास्तवमा, अमेरिकाले सँधै ल्याटिन अमेरिकी देशहरुलाई आफ्नो ‘बैंकयार्ड’ मान्यो र ऊ त्यहाँको सरकारको समाजवादी नीतिहरुलाई सहन सक्दैन । 

विगतमा ल्याटिन अमेरिकी देशहरुमा अमेरिकाले कहिले–कहिले हस्तक्षेप गर्यो, त्यसको दस्तावेज तयार पार्ने हो भने त्यो एक पूर्ण ग्रन्थ बन्नेछ । भेनेजुएलमा पनि सन् १९९८ मा ह्युगो चाभेज सत्तामा आएपछि नै अमेरिकाको सक्रियाता बढ्यो, किनकि चावेजले सत्तामा आए लगत्तै सबैभन्दा पहिले विदेशी लुटमाथि रोक लगाएका थिए । उनले ठूला उद्योगहरुको राष्ट्रियकरण गरे, भूमि सुधार कार्यक्रम अन्तर्गत ठूलो संख्याका भूमिहिनबीच जमिन वितरण गरे र अमेरिकी कम्पनीहरुको अनियन्त्रित लुटलाई रोके । 

जो मानिसहरु मादुरो सरकारको असफलताको कारण नै अमेरिकी हस्तपक्षेपलाई जायज मानिरहेका छन्, उनीहरुसँग ‘जुन समय चावेजको नीतिहरुका कारण नै त्यहाँका नागरिकको जीवनस्तरमा निक्कै सुधार भइरहेको बेला पनि अमेरिकाले किन हस्तक्षेप रोकेन’ भन्ने प्रश्नको जवाफ भने छैन । 

स्मरणीय छ, सन् २००२ मा एक षड्यन्त्रको माध्यमबाट अमेरिकाले चाभेजको अपहरणसम्म गराएको थियो र च्याम्बर अफ कमर्सका अध्यक्ष पेद्रो कारमोनालाई राष्ट्रपति घोषित गरेको थियो । अमेरिकाको यो षड्यन्त्र खाली ४८ घण्टासम्मका लागि सफल रह्यो र व्यापक जनविद्रोहले चाभेजलाई फेरी सत्तामा ल्यायो । चाभेजसँग अमेरिका किन रिसाएको थियो ? यो जान्न त्यस समयका केही उपलब्धिहरुलाई हेरे पुग्छ । 

सन् २००५ मा युनेस्कोले भेनेजुएलामा कोही पनि अशिक्षित नरहेको बकाइदा पुष्टि गरेको थियो । सन् १९९८ देखि २०११ बीच विद्यालहरुमा भर्ना हुने बालबालिकाको संख्या ६० लाखबाट बढेर एक करोड ३० लाख पुग्यो, त्यस्तै सन् २००२ मा विश्वविद्यालयमा पढ्ने छात्राहरुको संख्या ८ लाख ९५ हजार थियो, त्यो बढेर २०११ सम्ममा २० लाख ३० हजार भयो । शिक्षासँगै जनस्वास्थ्य कार्यक्रमलाई चाभेजले ठूलो संख्यामा लागु गरे । सन् १९९० मा एक लाख जनसंख्यामा चिकित्सकको संख्या २० थियो, त्यो सन् २०१० मा त्यही संख्यामा बढेर ८० पुग्यो, अर्थात् ४ सय प्रतिशत बढोत्तरी ।  

त्यसैगरी, शिशु मृत्युदर प्रति हजारमा १९ थियो, जुन सन् २०१२ सम्ममा घटेर १० मा झर्यो । मानिसको आवास सुविधामा पनि चाभेजले इतिहास कायम गरे । सत्तामा आएपछि १३ वर्षभित्र जनताका लागि ७ लाखभन्दा बढी घर बनाए । भूमि सुधार कार्यक्रम अन्तर्गत ३० लाख हेक्टर भूमिको वितरण भयो, जसमा करिब एक लाख हेक्टर भूमि त्यहाँका आदिवासीहरुबीच बाँडियो ।  सन् १९९८ मा बेरोजगारीको दर १५.२ प्रतिशत थियो, जुन २०१२ मा घटेर ६.४ प्रतिशत भयो । कामको समयमा कमी आयो र मजदुरलाई विभिन्न खाले राहत पनि दिइयो । 

चाभेजलाई क्यूबाको फिदेल कास्त्रोको राम्रो समर्थन मिलेको थियो र अमेरिकाका लागि यो चिन्ताको विषय थियो । यतिमात्रै होइन, चाभेजले ल्याटिन अमेरिकी र क्यारेबियन मुलुकका समुदायलाई एकजुट गर्दै ‘सेलाक’(कम्युनिटी अफ ल्याटिन अमेरिकन एण्ड क्यारेबियन स्टेट्स)को गठन गरे, जुन अमेरिकाको प्रभुत्व भएको ओएएस(अर्गनाइजेशन अफ अमेरिकन स्टेट्स)को सामना गर्नका लागि स्थापित गरिएको थियो ।

त्यो समय भेनेजुएलाको हैसियत एक खुशीयाली राष्ट्रको रुपमा थियो । यी सबका बाबजुद अमेरिकाले यस हदसम्म भेनेजुएलालाई हस्तक्षेप गर्यो, संयुक्त राष्ट्रसंघको बैठकमा चाभेजले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुशलाई ‘सैतान’ विशेषणबाट संबोधन गरे, जुन पुरै विश्वभरी चर्चा भएको थियो ।

त्यस समयमा अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार कोन्डालिजा राइस र चाभेजबीच भइरहेको तिखो वाद–विवाद लगातार अखबारहरुमा छाइरहे । यो भन्नुको अर्थ यो हो, अमेरिका कहिलेपनि ल्याटिन अमेरीकी देशहरुमा यस्तो सरकार चाहँदैन जसले पुंजीवाद विरुद्ध प्रभावकारी कार्यक्रम ल्याउन सकोस् ।  भेनेजुएलामा आज जुन संकट उत्पन्न भएको छ, त्यसको मूल पुंजीवाद भर्सेस समाजवादको लडाई नै हो । 

एप्रिल सन् २०१३ मा चाभेजको मृत्यु भयो । त्यसपछि भएको चुनावमा उनका उत्तराधिकारी निकोलेस मादुरोले सत्ताको बागडोर सम्हाले । मादुरोले पनि तिनै नीतिहरुलाई अगाडी बढाए जसको सुरुवात चाभेजले गरेका थिए ।

चाभेज एक राम्रो व्यक्तित्व थिए, जसको लाभ उनलाई मिलिरहेको पनि थियो । मादुरोसँग यस्तो स्थिति थिएन, यद्यपी, मादुरोलाई पनि जनताको व्यापक समर्थन थियो । तर, डिसेम्बर सन् २०१५ मा भएको संसदीय चुनावमा विपक्षी डेमोक्र्याटिक युनिटीको गठबन्धनलाई संसदमा बहुमत मिल्यो र पछिल्लो १६ वर्षदेखि चलिआएको सोशलिस्ट पार्टीको नियन्त्रण समाप्त भयो । यस्तोमा मादुरो विरुद्ध संसदको माध्यमबाट अमेरिकी षड्यन्त्रलाई भित्र्याउन सहज भयो ।  

३१ जनवरीमा, यो लेख प्रकाशित हुँदाको समयसम्म, राष्ट्रपति मादुरोले देशमा फैलिएको अराजक स्थितिलाई काबुमा ल्याउनका लागि उनी विपक्षी दलहरुलाई र खुआन गोइदोसँग वार्ताका लागि तयार रहेको रुसी समाचार एजेन्सी आरआइएलाई भनेका छन् ।

उनले सबैको सहमतिबाट चुनावका लागि एक मिति पनि तय गर्न सक्ने पनि घोषणा गरेका छन् । स्थितिले अझ तनावपूर्ण रुप लिनबाट रोक्नमा उनको यो पहल प्रभावकारी हुनसक्छ, सबैमाथि बर्षिदै आएको अमेरिकाले यसमा कुनै बाधा नपुर्योस् । 

(गिता सुब्बाद्वारा अनुवादीत, मिडिया भिजिलमा प्रकाशित सामग्री हामीले प्रकाशन गरेका छाैं । –सम्पादक)

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विद्यार्थी नेताहरुलाई आग्रह : स्ववियुको स्वरुप फेरौं कि ?

  • ८ फाल्गुण, २०७५

राजाको नेतृत्वमा सञ्चालित निरङ्कुश पञ्चायती व्यवस्थाको विरुद्ध राजनीतिक स्वतन्त्रताको लडाँईको सिलसिलामा विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी

पशुपति शर्माकाे गीत र नेपालका राजनीतिक कार्यकर्ता

  • ६ फाल्गुण, २०७५

‘साँच्चै हामीलाई देशको माया छ भने हामी सबभन्दा पहिला एक सच्चा नेपाली नेपाली बन्न सिकौँ अनि बल्ल कुनै राजनीतिक दलको कार्यकर्ता । जसले पार्टीको

६९औँ प्रजातन्त्र दिवस र गणतन्त्र नेपाल

  • ६ फाल्गुण, २०७५

मुलुक यतिबेला ६९ औ प्रजातन्त्र दिवस मनाउने भव्य र उल्लासमय तयारीमा जुटेको छ । २००७ साल फल्गुण ७ गते नेपालमा एकतन्त्रीय निरंकुश जहानियाँ राणा शासनको