• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

रुस र अमेरिका क्षेप्यास्त्र कटौती सम्झौताबाट किन पछि हट्दैछन् ? 

काठमाडौं । सन् १९८७ मा तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र सोभियत संघका महासचिव मिखाइल गोर्वाचोभले अमेरिकाको वासिङ्टन डिसीमा आणविक क्षेप्यास्त्र सन्धि (आइएनएफ) मा हस्ताक्षर गरे । यस सन्धिको उद्देश्य दुवै देशले आ–आफ्नो देशको मध्यम तथा छोटो दुरीका आणविक क्षेप्यास्त्र उन्मूलन गर्नेे थियो । 

यस सन्धिलाई २७ मे सन् १९८८ मा अमेरिकी सिनेटले अनुमोदन गर्यो । यस सम्झौताले ५ सयदेखि हजार किलोमिटर दुरीका छोटो दुरीका र एक हजारदेखि ५ हजार ५ सय किलोमिटर दुरीका मध्यमदुरीका जमिनमा आधारित ब्यालेस्टिक, क्रुज मिसाइल तथा यसको प्रक्षेपण गर्ने उपकरणलाई कटौती गर्नेे लक्ष्य लिएको थियो । यस सम्झौता अन्तर्गत रहेर सन् १९९१ मे महिनासम्ममा अमेरिकाको तर्फबाट ८ सय ४६ र रुसको तर्फबाट एक हजार ८ सय ४६ गरी जम्मा दुई हजार ६ सय ९२ बढी आणविक हतियार पनि नष्ट गरियोे । सन् १९९० मा सोभियत संघको विघटन भयो, त्यसयता सोभियत संघको मुख्य हिस्सा रुसको रुपमा स्थापित भयो ।

तर, सन् २००७ मा आएर रुसी महासंघका सशस्त्र बलका जनरल स्टाफका प्रमुख युरी बलुयेभस्कीले नाटोमा अमेरिकाले मिसाइल प्रणालीको तैनाथ गरी सन्धिको उल्लंघन गरेको आरोप लगाए र उनले यदि संयुक्त राज्य अमेरिका यसको उल्लंघन गरिरहन्छ भने रुस सन्धिबाट पछि हट्न सक्ने बताए । त्यसको अर्को वर्ष सन् २००८ मा अमेरिकाले पनि रुसलाई एसएससी–८ क्रुज मिसाइल प्रक्षेपण गरेर सम्झौताको उल्लंघन गरेको आरोप लगायो । 

त्यसयता अमेरिका र रुसबीच परमाणु कटौती सम्झौताको उल्लंघनको आरोपप्रत्योरप नै चल्न थाल्यो । यी दुई देशले सम्झौतालाई निरन्तरता दिएको देखाउनका लागि केही परमाणु हतियार नष्ट गरे पनि उनीहरुको एक–अर्काको आरोप–प्रत्यारोपले नयाँ परमाणु हतियार विकास गरिरहेको बुझिन्छ । विश्वका दुई शक्तिशाली देशले एकतर्फी रुपमा उक्त सम्झौता नमान्ने घोषणा गरिसकेका छन् ।

अमेरिकी अधिकारीले सन् २०१४ र २०१७ मा नाटोमा रुसमाथि परमाणु सन्धि उल्लंघन गरेको पुनः आरोप लगाए । रुसले सन् २००८ देखि नै जमिनबाट प्रक्षेपणपछि क्रुज मिसाइलको उडान परीक्षण गरेको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले समाचार लेख्यो । 

एक रिपोर्टअनुसार, सन् २०१३ मा रुसले एक क्षेप्यास्त्र परीक्षण गरेको थियो र मध्यमदुरीको दुई क्षेप्यास्त्र परीक्षण जारी राख्ने योजना पनि बनाएको थियो । जसले सन्धिको सर्तहरुको उल्लंघन गर्न सक्थ्यो । त्यस समय अमेरिकाले सार्वजनिकरुपमै मस्कोले सन्धिको उल्लंघन गरिरहेको छ त भनेन तर, उसले यस मुद्दाबारे आफ्ना नाटो सहयोगीलाई जानकारी दिएको थियो । 

त्यसपछि सन् २०१६, मे महिनामा अमेरिकी अधिकारीले युरोपमा क्षेप्यास्त्र रक्षा प्रणाली स्थापना गरे, जुन सन्धिको उल्लंघन रहेको रुसी अधिकारीको तर्क थियो । रुसी विशेषज्ञले अमेरिकाले मानवरहित हवाइजहाजहरु जस्तै एमक्यु–९ रिपर र एमक्यु–४ को उपयोगले आइएनएफ सन्धिलाई उल्लंघन गरेको बताएका थिए । 

त्यस्तै, पुटिनले मार्च २०१८ मा एक भाषणका क्रममा आफ्नो नयाँ परमाणु हतियारहरुको एक पंक्ति अनावरण गरे र यसले विश्वको लगभग कुनै पनि विन्दुमा हमला गर्न सक्ने र छेक्न नसकिने जिकिर गरे । यी नयाँ हतियारहरु या त विकास भइरहेका थिए या त पहिला नै तयार थिए, जसमा एक नयाँ अन्तरमहाद्धिपीय ब्यालेस्टिक मिसाइल, एक सानो परमाणु  विस्फोटक, जुन जहाजी मिसाइलसँग अट्याच गर्न मिल्छ, पानीभित्र चल्ने परमाणु ड्रोनहरु, एक सुपरसोनिक हतियार र एक लेजर हतियार थिए । 

त्यसपछि, सन् २०१८ अक्टोबर २० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले सम्झौताको पालना नगरेको भन्दै सन्धिबाट अमेरिका बाहिरिने घोषणा गरेका छन् । रुसले धेरै वर्षदेखि क्षेप्यास्त्र कटौती सम्झौतालाई उल्लंघन गर्दै आएकाले अमेरिका सन्धिबाट पछि हट्न लागेको ट्रम्पको तर्क छ । 

ट्रम्पको यस घोषणामा रुसी राष्ट्रपति पुटिनले प्रतिक्रिया जनाउँदै परमाणु संघर्षका लागि रुस अगाडि नसर्ने, तर विरोधीको परम्परागत विनासकारी नीतिलाई अनिवार्य रुपमा समाप्त गर्ने बताए । दोश्रो विश्वयुद्धपछि दुवै देशबाट यो  आरोप–प्रत्यारोप चल्दै आएको छ । यस्तो संघर्षमा मर्ने रुसी नागरिक सहिदको रुपमा स्वर्ग जाने पनि उनले बताए । उनले यदि अमेरिका मध्यमदुरीको परमाणु अस्त्र रोक्ने सम्झौताबाट पछि हटे आफूले जमिनबाट लञ्च हुने परमाणु मिसाइलको विकास गर्ने उद्घोष गरेका छन् । 
मार्चमा पुटिनले रुसले परमाणु हतियारको एक नयाँ विकासक्रम सुरु भएको बताउँदै जसलाई विश्वको कुनै पनि कुनामा पुर्याउन सकिने जिकिर गरेका थिए ।

तर, संयुक्त राष्ट्रसंघको महासभाले यी दुवै देशको प्रस्तावलाई गत डिसेम्बरमा खारेज गरेको थियो । राष्ट्रसंघले बरु दुवै देशलाई सन्धिलाई अझ बलियो बनाउन आह्वान गर्यो । राष्ट्रसंघमा भएको मतदानमा ४६ मतदान विपक्ष र ४३ मतदान प्रस्तावको पक्षमा मत आएको थियो, जसपछि महासभाले मस्यौदा प्रस्तावलाई अस्वीकार गरिदियो । 

अमेरिकाले औपचारिक रुपले सन्धिलाई सन् २०१९ को २ फेब्रुअरीबाट लागु हुनेगरी निलम्बित गरेको छ । तर, संन्धिबाट पूर्णरुपले निलम्बित हुन अमेरिकालाई ६ महिनाको समयावधि दिइएको छ । अमेरिकालाई पछ्याउँदै रुसले पनि परमाणु हतियार सन्धिबाट पछि हट्ने बताएको छ, । यदि, वासिङ्टनले यसो गरे खाली मध्यमदुरीका परमाणु मिसाइललाई मात्रै तैनाथ गर्ने पुटिनको भनाई छ । 

रुसको ‘९ एम ७२९’ मिसाइल

पृथ्वीमा रहेका १४ हजार ५ सय परमाणु हतियारमध्ये रुस र अमेरिकासँग यसको सर्वाधिक सेयर छ, कुल मिलाएर १३ हजार ३५० हतियार छन् । बाँकी रहेका एक हजार १ सय ५० हतियार अन्य सात देशसँग छ । यसमा उत्तरकोरिया एक नयाँ शक्तिशाली परमाणु देशको रुपमा उदाएको छ । उत्तरकोरियाले गत वर्ष शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरेपछि अमेरिकाको निन्द्रा हराम भएको थियो । यस अर्थमा यस कारण पनि अमेरिका रुसलाई सन्धि उल्लंघन गरेको भन्दै आफू सन्धिबाट हात झिक्न खोजिरहेको छ । 

सन्धिका कारण परमाणु हतियार उत्पादनमा पुगेको रोकावटले उत्तरकोरियालाई चेतावनी दिन असम्भव बनेको छ । यद्यपि, अमेरिकाले लगाएको प्रतिबन्धले उत्तरकोरियाको क्षेप्यास्त्र गतिविधिमाथि केही साम्य पारेको पनि विश्वको बुझाई छ । अमेरिकाले अन्य परमाणु शक्तिको रुपमा उदाइरहेका उत्तरकोरिया, फ्रान्स, चीन, पाकिस्तान, भारत आदि देशलाई पनि नयाँ परमाणु हतियार सम्झौतामा राख्नुपर्ने बताउँदै आएको छ । 

प्रशान्त क्षेत्रमा चिनियाँ हतियारको निर्माणको प्रतिस्पर्धा गर्नका लागि अमेरिकाद्धारा संन्धि फिर्ता लिनु आवश्यक रहेको बताइन्छ । किनकी, चीनले यस सन्धिमा हस्ताक्षर कहिल्यै गर्ने छैन । वर्तमान शताब्दीमा विश्वको अर्को शक्तिशाली राष्ट्रको रुपमा उदाइरहेको चीनको समृद्धि अमेरिकाका लागि टाउको दुखाई बनिरहेको छ ।
 
तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको समयमा चीनसँगको परमाणु सन्धि बाहिरको क्रियाकलापले वासिङ्टनमा प्रहरीलाई तनावमा पारेको थियो । बाराक ओबामाले यसलाई लिएर केही कदम नउठाएको ट्रम्पको भनाई छ । गत अक्टोबरमा चीनले ४ हजार किलोमिटर टाढासम्म पुग्ने ‘डिएफ–२६’ नामक मध्यमदुरीको ब्यालेस्टिक मिसाइल विकासप्रति ट्रम्पले भनेका थिए, ‘यदि रुसले गरिरहेको छ र चीनले पनि गरिरहेको छ, अनि हामी चाहिँ सन्धिको पालना गरिरहेका छौँ, यो अस्वीकार्य छ ।’

गत ४ डिसेम्बरमा अमेरिकाले रुसलाई संन्धिको पालना गर्न ६० दिनको समय दिएको थियो । रुसले त्यसको भोलिपल्ट त्यसको जवाफमा आफ्नो ‘पेसभेट कम्ब्याट लेजर’ लाई सार्वजनिक गर्दै राज्य खरिद कार्यक्रमको हिस्साको रुपमा सशस्त्र बलमा तैनाथ गरेको बतायो । रुसले गत ९ जनवरीमा संन्धिमा रहिरहन वासिङ्टनले आशा गरेको पारदर्शिताको एक अभ्यास भन्दै एक सैन्य ब्रिफिङमा ‘९ एफ ७२९’ (एसएससी–८) मिसाइल र यसको प्राविधिक मापदण्डलाई सार्वजनिक गर्यो । यो अभ्यास रुसको अमेरिकालाई परमाणु सम्झौतामा टिकाइराख्ने तर्क थियो । 

रुसको यसप्रकारको गतिविधिले अमेरिकाले बारम्बार सन्धिबाट बाहिरिने धम्की दिइरहेका थिए । गत ३० जनवरीमा अमेरिका र रुसबीच भएको शिखर सम्मेलन पनि संन्धि बचाउने बाटो पहिल्याउन असफल रह्यो । 

२ फेब्रुअरीका दिन अमेरिकी विदेशमन्त्री माइक पोम्पिओको घोषणासँगै अमेरिकाले परमाणु सन्धिबाट पछि हटेको छ । सन्धिबाट बाहिरिन अमेरिकालाई ६ दिनको समय दिइएको छ र ६ महिनाभित्र रुसले सन्धिको पालना नगरे, अमेरिका पूर्णरुपले बाहिरिनेछ । 

यसैदिन रुसी राष्ट्रपति पुटिनले ट्रम्पको घोषणको ठाउँको ठाउँ प्रतिक्रिया दिँदै रुसले पनि परमाणु सम्झौताबाट पछि हट्ने घोषणा गरेका छन् । त्यसको अर्को दिनदेखि नै रुसले एक नयाँ हाइपरसोनिक मिसाइलमाथि काम सुरु गरेको छ र उसले अमेरिकासँग निशस्त्रीकरण वार्ता सुरु गर्नबाट बच्न एक नीति अपनाएको छ । 

तर, आइएनएफ सम्झौता परमाणु नियन्त्रणका लागि निक्कै महत्वपूर्ण रहेकाले ६ महिनाभित्र दुवै देशले आ–आफ्नो संघर्ष सुल्झाउन सक्ने संयुक्त राष्ट्रसंघका महासचिव एन्टनिओ गुटारेसले आशा व्यक्त गरेका छन् । 

जर्ज सुल्ट्ज, रिचार्ड लुगर र साम नुनसहित केही परमाणु हतियार नियन्त्रण प्रमुख विशेषज्ञले ट्रम्पलाई सम्झौताको रक्षा गर्न आह्वान गरेका छन् । मिखाइल गोर्वाचोभ, जसले सम्झौतामा हस्ताक्षर गरेका थिए, उनले ट्रम्पको परमाणु सन्धि फिर्ता एक महान व्यक्तिको दिमागको काम नभएको र एक नयाँ हतियारको दौडको घोषणा भएको टिप्पणी गरेका छन् । गत वर्ष गोर्वाचोभले एक विज्ञप्ति जारी गर्दै अमेरिका उक्त सम्झौताबाट भाग्न नमिल्ने बताएका थिए । 

रुसी प्रतिनिधि दिमित्री ए. पोलानसकीले रुसको तर्फबाट मध्यमदुरी तथा छोटोदुरीको परमाणु नष्टको सन्धिको समर्थनमा एक विचार मस्यौदा प्रस्तुत गरेका थिए । उनले गत २१ डिसेम्बरमा सन्धिले अन्तर्राष्ट्रियस्तरमा स्थिरतालाई बढाउन एक महत्वपूर्ण योगदान दिएको बताउदै सम्झौताको भविष्य निक्कै महत्वपूर्ण मोडमा रहेको बताएका थिए । 

तर, अक्टोबरमा अमेरिकाद्धारा सन्धि फिर्ता लिने धम्कीले सन्धिको अस्तित्वमाथि नै प्रश्न उठेको, त्यसपछि रुसले पनि सन्धि फिर्ताको मिति तय गरेको उनको भनाइ थियो । वास्तवमा अमेरिकाले एसिया–प्रशान्त क्षेत्रमा परमाणु सन्धिद्धारा प्रतिबन्ध हतियारलाई तैनाथ गर्नका लागि आफ्नो बाटो घोषणा गरिरहेको रुसको बुझाइ छ । यसलाई रुसले ‘एक हतियारको दौडको सुरुवात’ को संज्ञा दिएको छ । 

‘९ एम ७२९’ रकेटलाई देखाउँदै मस्कोले सन्धिको उल्लंघन गरेको निराधार आरोपलाई प्रस्तुत गर्दै अमेरिकाले आफ्नो नियत देखाएको रुसको भनाई छ । यो रकेट परमाणु सन्धिको नियमलाई उल्लंघन नगर्ने कुरा अमेरिकालाई थाहा नभएको रुसी प्रतिनिधिको भनाई छ । 

यता, अमेरिकी प्रतिनिधि भने अमेरिकाले पटक–पटक रुसलाई सत्यापन जाँचमा ल्याउने प्रयास गरेको तर मस्कोले कुनै पनि काम गर्न अस्वीकार गरेको बताएका छन् । रुसी अधिकारीले ‘९ एम ७२९’ मिसाइल होइन भन्ने थाहा हुँदाहुँदै पनि अमेरिकालाई यसबारे थाहा नभएको जस्तो गरेको आरोप लगाएका छन् । 

गएको सेप्टेम्बरमा उत्तर एट्लान्टिक सन्धि संगठन नाटोका सहयोगीले मस्कोले ९ एफ ७२९ नामक एक मिसाइल प्रणालीलाई यस क्षेत्रमा ल्याएको थियो, जसले सन्धिको उल्लंघन गरेको नाटो सदस्य राष्ट्रले बताएका छन् । रुसले अमेरिकासँग अटेर भएर भित्रभित्रै परमाणु हतियार तथा क्षेप्यास्त्र विकासलाई तीव्र पारिरहेको अमेरिकी अधिकारीहरु बताउँछन् । अमेरिकाको आरोपका बाबजुद पनि रुसले ‘९ एम ७२९’ मिसाइल वर्षौ लगाएर विकसित गरिरहेको छ भने उसले परमाणु कटौती सम्झौतालाई उल्लंघन गर्ने पक्का छ ।

सन्धिबाट पछि हट्नु भनेको अमेरिका कानुनी र नैतिक भूमिकालाई गुमाइरहेको छ । परमाणु कटौती सन्धिको उल्लंघन गर्नु रुसको वास्तविक र एक गम्भिर समस्या हो । यद्यपि, यो समस्याको जवाफ दिनका लागि कुनै पनि सन्धिलाई निलम्बित गर्नका लागि रुसलाई अमेरिकाको आवश्यकता पर्छ ।  

विश्वका दुई शक्तिशाली देशले आफ्नो परमाणु हतियार तथा क्षेप्यास्त्रलाई कम गर्ने चिन्हको रुपमा क्षेप्यास्त्र कटौती सम्झौता (आइएनएफ) सन्धि महत्वपूर्ण छ । यस सन्धिले युरोपमा परमाणु वृद्धि र हतियारको दौडको जोखिमलाई न्युनिकरण गरेको छ । सन्धिलाई अनावश्यक रुपले फिर्ता गर्नु पहिले नै विश्वलाई जटिलतामा धकेलेको छ र अमेरिकालाई परमाणु मुद्दामाथि नैतिक लाभविना नै अन्योलतामा धकेलेको छ । 

रुस र अमेरिका आफ्नो शक्ति प्रदर्शनका लागि सन्धिको उल्लंघन वा क्षेप्यास्त्र कटौती सन्धिबाट पछि हटे पनि, यो सन्धि ३० वर्षभन्दा लामो समयदेखि विश्व सुरक्षाका लागि महत्वपूर्ण थियो र छ । किनकी, यसले परमाणु हतियारहरुलाई निशस्त्रीकरण गर्दै विश्वलाई तीव्र आर्थिकवृद्धिमा लैजान योगदान दिएको थियो । स्मरण रहोस्, शीतयुद्धकालीन समयमा गरिएका रक्षा बजेटको हिस्सा मानव जातिको कल्याणका निम्ति लगाइएको भए विश्वको मानचित्र अर्कै हुन्थ्यो । 

अमेरिका र रुस फेरि क्षेप्यास्त्र उत्पादनको गलत दौडमा हामफाले भने त्यसले विश्व शान्तिमा खतरा पैदा गर्छ नै यसका साथसाथै विश्व विकास र समृद्धिको मार्गमा अवरोध पुर्याउने छ । हालैका दिनमा अमेरिका र चीनबीच भएको व्यापार युद्धका कारण विश्वअर्थतन्त्रमा संकुचन भइरहेको छ भन्ने अर्थशास्त्रीहरुको दलिल छ । यदि, रुस र अमेरिका क्षेप्यास्त्र उत्पादनको हानथापमा लागे भने यो मानव जातिका निम्ति दूर्भाग्य हुनेछ ।  (विभिन्न एजेन्सीको सहयोगमा)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर