सुत्केरीलाई नगरपालिकाको पनि भत्ता

बुटवल ।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी हुने महिलालाई सुत्केरी भत्ताबापतको प्रोत्साहन रकम दिन थालेको छ । मान्यताप्राप्त स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुन प्रोत्साहन गराउन र नगरपालिकालाई शून्य होमडेलीभरी बनाउन सुत्केरी प्रोत्साहन भत्ताबापत बिहीबार सेमराबजार स्र्वास्थचौकीमा पुगेर नगरपालिकाले प्रोत्साहन भत्ता प्रदान गरेको हो ।

चारपटक गर्भजाँच गराएबापत संघीय सरकारको ८ सय रुपैयाँ, सुत्केरी गराएबापत संघीय सरकारले प्रदान गर्ने एकहजाररुपैयाँ र स्थानीय सरकारको तर्फबाट पाँचसय रुपैयाँ गरी नियम अनुसार सुत्केरी भएका महिलालाई एकमुष्ट २३ सय रुपैयाँ प्रदान गरिएको हो । 

सेमराबजार स्वास्थ्यचौकीमा गत साउन १ गतेदेखि पुस मसान्तसम्म सुत्केरी भएका करिव एकसय २५ महिलालाई प्रोत्साहन भत्ता रकम प्रदान गरिएको हो । रकम प्रदान गर्दै नगर प्रमुख वासुदेव घिमिरेले मातृ र शिशु मृत्युदर घटाउने उद्देश्यले नगरपालिकाको तर्फबाट पनि प्रोत्साहन भत्ता प्रदान गर्न थालिएको भन्दै यलाई क्रमशः वृद्धि गर्दै लगिने बताए ।

उनले आगामी वर्षदेखि वर्थिङ सेन्टरहरुमा विशेषज्ञसहितको सेवा प्रदान गर्ने तयारी नगरपालिकाले गरेको भन्दै प्रत्येक स्वास्थ्यकेन्द्रमा ल्यावसहितको सेवा दिने तयारी भइरहेको जानकारी दिए । 

तिलोत्तमा नगरपालिकाका स्वास्थ्य संयोजक काशीनाथ बन्जाडेले विगत आठ वर्षदेखि सेमरा बजार स्वास्थ्यचौकी र आनन्दवन स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सञ्चालन भइरहेको भन्दै यसले मातृ र शिशु मृत्युदर घट्दै गएको बताए । उनले बर्थिङ सेन्टरमा तालिमप्राप्त नर्सले सुत्केरी गराउने भएकाले ढुक्क भएर सेवा लिन स्थानीयलाई आग्रह गरे ।

प्रोत्साहन भत्ता लिंदै स्थानीय शिवानी थारुले सुत्केरीको लागि थप सुविधा प्रदान गर्न र भिडियो एक्सरेको व्यवस्था स्वास्थ्य केन्द्रमै गर्न नगरपालिकासँग माग गरिन् । 

त्यस अवसरमा तिलोत्तमा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष एवं स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष व्यासमुनी चौधरी, उपाध्यक्ष कृष्ण पौडेल, स्वास्थ्यचौकी इन्चार्ज कमल गौतम, वरिष्ठ अनमी राधा आचार्यलगायतले स्वस्थ्य क्षेत्रका बारेमा चर्चा गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर