असिनासहितको वर्षाले इँटा उद्योगमा ठूलो क्षति

सर्लाही । लगातार दुई दिनको असिनासहितको वर्षाले सर्लाहीको इँटा उद्योगमा करोडाैंकाे क्षति भएको छ । 

यो वर्षको पहिलो हिउँदे वर्षाले सर्लाहीको इँटा उद्योगमा रु १५ करोड भन्दा बढीको क्षति भएको इँटा उद्योगीले जनाएको छ । पोल्नका लागि तयार पारेको काँचो इँटा गलेर उक्त मूल्य बराबरको क्षति भएको इँटा उद्योगीले जनाएको छ । 

हावाहुरीसँगै हिजो र आज असिनासहित पानी पर्दा सर्लाहीको इँटा उद्योगीलाई ठूलो क्षति भएको इँटा उद्योग व्यवसायी सङ्घ सर्लाहीका अध्यक्ष मेथुर चौधरीले बताए । पोल्नका लागि तयारी अवस्थमा रहेको इँट्टा असिनासहित वर्षा हुँदा गलेर नष्ट भएको उनले जानकारी दिए ।

सर्लाहीमा ७२ भन्दा बढी इँट्टा उद्योग छन् । सङ्घका अध्यक्ष चौधरीले आफू हरिपुर नगरपालिका लक्ष्मीपुरस्थित सञ्चालन गरेको किसन इँटा उद्योग र शक्ति फिक्स इँटा उद्योगमा असिना र वर्षाले करीब रु ३० लाख बराबरको इँटा गलेर क्षति भएको बताए । 

पोल्नका लागि तयार पारिएको करीब रु सात लाख इँटा पानीले गलेर काम नलाग्ने भएको सूर्या इँटा उद्योग कविलासी नगरपालिकाका उद्योगी जगरनाथ राय यादवले जानकारी दिए ।  यसबाट करिब रु २० लाख मूल्य बराबरको क्षति भएको उनले बताए ।  

आफूले सञ्चालन गरेको विकास फिक्स इँटा उद्योग र शक्ति इँटा उद्योगमा पनि वर्षाले ठूलो क्षति भएको उनले बताए । 

वर्षाले इँटा व्यवसायीको ढाँड भाच्चिएको नवराज इँटा उद्योग गौडैताका सञ्चालक वासुदेव चौधरीले बताउनुभयो । आफ्नो रु २१ लाख भन्दा बढीको इँटा वर्षाले बर्बाद भएको चौधरीले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर