• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सुरुवातमा तामझाम, कार्यान्वयनमा ढिलाई

आलोचना बढेपछि छोरी शिक्षा बिमा कार्यक्रम सुरु हुँदै  

जयन्त ठाकुर/जनकपुरधाम । प्रदेश दुई सरकारले आफ्नो महत्वाकांक्षी अभियानका रुपमा बेटी पढाउ बेटी बचाउ अभियानको घोषणा गरेपछि यसको चर्चा देशै भरी भयो । चौतर्फी रुपमा प्रशंसा समेत भयो ।

यो अभियानलाई प्रभावकारी बनाउनका लागि प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले कुनैपनि छोरी शिक्षाबाट बञ्चित नहोस भन्ने उद्देश्यका साथ योजनाहरु बनाउन निर्देशन समेत दिए । 

गत भदौ १५ गते प्रदेश सरकारले औपचारिक कार्यक्रमको आयोजना गर्दै बडो तामझामका साथ अभियानको शुरुवात गर्यो । प्रदेश सरकारले आफ्नो बजेटबाट ठूलो राशी यहि अभियानको लागि छुट्याएको छ । आर्थिक वर्ष २०७५÷०७६को बजेटबाट प्रदेश सरकारले यस अभियानका लागि ८९ करोड रकम छुट्याएको छ । यसरी तामझामका साथ सुरु गरिएको अभियान कार्यान्वयनमा आउन नसकेकोमा भने स्थानीयहरु दुःखी छन् । 

कन्या माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएकी शिक्षिका पूजा यादवले प्रदेश सरकारले ल्याएको बेटी पढाउ बेटी बचाउ अभियान प्रशंसनीय रहेपनि यसलाई कार्यान्वयनमा ल्याउन भईरहेको अबेरप्रति चिन्ता व्यक्त गरिन् ।  

कानुनी प्रकृया पूरा गर्न समय लाग्ने भएकोले कार्यान्वयनमा ल्याउन केही समय लागेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता टिकामणी न्यौपानेले सुचना निकालेर एक महिना समय दिनुपर्ने, त्यसको मूल्यांकन गर्नुपर्ने, करार गर्नुपर्ने, धरौटी राख्न लगाउनु पर्ने जस्ता प्रकृया पूरा गर्न समय लाग्ने भएकोले अभियान कार्यान्वयनमा ल्याउन केही ढिलाई भएको स्वीकार गरे ।  उनले यो कार्यक्रम प्रचारमुखी नभई ठोस देखिने गरी कार्य अगाडी बढाइएको दावी गरे । 

संस्कृतिविद एवं विश्लेषक डा. भोगेन्द्र झाले यस प्रकारको अभियानलाई प्रभावकारिता प्रदान गर्नका लागि भौतिक भन्दा पनि सचेतना आवश्यक रहेको बताए । आर्थिक पाटो यसको लागि त्यती महत्वपूर्ण नरहेको बताउँदै उनले यसको विषयमा सचेतना जन जन समक्ष पुर्याउनु आवश्यक रहेको बताए । 

छोरी शिक्षा बिमा कार्यक्रमको शुभारम्भ विरगंज बाट

बेटी पढाउ बेटी बचाउ अभियानको कार्यान्वयनमा भई रहेको ढिलाइप्रति प्रदेश सरकारको आलोचना बढेपछि छिट्टै कार्यान्वयनमा लाने प्रकृया शुरु गरिएको छ । अभियान अन्तर्गत पहिलो चरणमा छोरी बिमा कार्यक्रम र एसईईमा उत्कृष्ट अंक ल्याउने आठ वटै जिल्लाबाट उत्कृष्ट ३ जना छात्रालाई सम्मान र छात्रवृति प्रदान गर्ने कार्यक्रम रहेको छ । यस वर्ष आठवटै जिल्लाबाट कुल २८ छात्रालाई सम्मान गर्ने निश्चित गरिएको छ । 
छोरी विमा कार्यक्रमको शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय गरिएको छ । फागुन ९ गते विरगंजस्थित युद्ध माविमा आयोजना हुने सो कार्यक्रममा राष्ट्रपति भण्डारीले छात्राहरुलाई सम्मान गर्दै छोरी विमा कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको बेटी पढाउ बेटी बचाउ कार्यक्रमकी संयोजक प्रियंका यादवले जानकारी दिइन् । 

४ हजार साइकल वितरण गरिने

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले बेटी पढाउ बेटी बचाउ अभियानलाई कार्यान्वयन तहमा ल्याउनका लागि विभिन्न ७ वटा शिर्षकमा काम गरिरहेको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् । प्रदेशमा छात्राहरु सवारी साधनको अभावमा विद्यालयसम्म पुग्न नसकेको प्रदेश सरकारको ठहर रहेको छ । सोही अनुरुप प्रदेश सरकारले छात्राहरुका लागि साइकल वितरण गर्ने लक्ष्य समेत लिएको छ । 

बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत प्रदेश सरकारले आठवटै जिल्लाबाट कुल ४ हजार छात्रालाई साइकल वितरण गर्ने लक्ष्य लिएको छ । साइकल वितरण गर्ने कार्यक्रम फागुन १ गतेदेखि सप्तरीबाट शुरु हुन लागेको छ । सो कार्यक्रम सप्तरीको जागेश्वर गोडहरी जनता माविमा आयोजना हुने कार्यक्रमसंगै शुभारम्भ गरिने छ । सप्तरीमा हुने सो कार्यक्रममा ७० वटा साइकल वितरण गरिने कार्यक्रम संयोजक यादवले जानकारी दिइन् । 

सयवटा महिलामैत्री शौचालय निर्माण गरिने

प्रदेशको अधिकांश विद्यालयहरुमा महिलामैत्री शौचालय नभएकै कारण छात्राहरु विद्यालय जान मान्दैनन् । शौचालयकै कारण छात्राहरुको विद्यालयमा उपस्थिति न्युन हुन थालेपछि प्रदेश सरकारले विद्यालयहरुमा महिलामैत्री शौचालय निर्माण गर्ने लक्ष्य लिएको छ । 

बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत नै १ सय वटा सामुदायिक विद्यालयमा महिलामैत्री शौचालय निर्माण गरिने कार्यक्रम संयोजक यादवले जानकारी दिइन् । यसका लागि विद्यालयहरुको छनौट अन्तिम चरणमा रहेको उनको भनाई छ । 

अभियानको विषयमा सचेतना जगाउनका लागि ठाउँ ठाउँमा होर्डिंग बोर्ड लगाउने लक्ष्य समेत लिइएको छ । पहिलो चरणमा प्रदेश सरकारले ६० स्थानमा होर्डिंग बोर्ड लगाउने छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर