गण्डकी मेडिकल कलेजका विद्यार्थीद्वारा रिले अनशन सुरु

तोकिएको भन्दा बढी शुल्क फिर्ता गर्न माग 

कास्की । सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै मेडिकल कलेजका विद्यार्थी आन्दोेलनमा उत्रिएका छन् । आफूहरुले राखेका माग पूरा नगरेको भन्दै गण्डकी मेडिकल कलेज पोखराका विद्यार्थीले आइतबारबाट रिले अनशन सुरु गरेका छन् । 

नेपाल सरकारले तोकेकोभन्दा बढी लिइएको शुल्क विद्यार्थीलाई नै फिर्ता दिनुपर्ने, विद्यार्थीले तिरेको शुल्कको बिल, भौचर तथा रसिद उनीहरुलाई नै दिनुपर्ने लगायतका माग राख्दै विद्यार्थीले रिले अनशन सुरु गरेका हुन् । आफूहरुको माग पूरा नभएसम्म रिले असशन जारी राख्ने र केही त्यस्ता अप्ठ्यारो परिस्थिति आए कलेज प्रशासननै जिम्मेवार हुनुपर्ने जिएमसी कलेजका विद्यार्थी प्रबिन गौतमले चेतावनी दिए । 

आफूहरुले विभिन्न चरणमा गरेर माघ १७ गतेबाट आन्दोलनका कार्यक्रम गर्दै आइरहेको भए पनि सुनुवाई नभएपछि बाध्य भएर रिले अनशन बस्नुपरेको गौतमले बताए । कलेज प्रशासन तथा विद्यार्थीबीच पटक–पटक वार्ता भए पनि प्रशासनले तोकिएको भन्दा बढी शुल्क लिएको र त्यो शुल्क फिर्ता गर्न गर्छौं भन्न प्रशासनले नसकेको आरोप लगाउँदै गौतमले विद्यार्थीलाई त्यसबाट पर्न गएको असुविधाका बारेमा सोच्न नसकेको बताए । 

त्यस्तै, आन्दोलनमा सहभागी विद्यार्थी रविना मिश्रले विद्यार्थीको भलाइका लागि आफूहरुले कलेज प्रशासनसँग विभिन्न मागहरु प्रस्तुत गर्दै आएको भए पनि प्रशासनले उल्टो आफूहरुलाई हतोत्साहित बनाएर धम्की दिएको आरोप लगाइन् । ‘प्रशासनले सिधै हामीलाई धम्की नदिए पनि बाहिरका व्यक्ति लगाएर धम्की दिइरहेको छ,’ उनले प्रश्न गर्दै भनिन्, ‘अब त हामीलाई बाहिर हिड्न पनि गाह्रो भइसक्यो, जब हामी आफै कलेजभित्र नै सुरक्षित छैनौं भने बिरामीलाई कसरी उपचार गर्न सक्छौं ?’ 
आन्दोलन आफूहरुको रहर नभएर विद्यार्थीको भविष्यका लागि बाध्यताले गरिएको समेत उनले जिकिर गरिन् । आफूहरुको मागलाई कलेजका प्रिन्सिपलले समेत बेवास्ता गरेको उनको आरोप छ । शुल्क फिर्ता भन्ने उल्लेख गर्न नचाहेपछि वार्ता भाँडिएको उनले सुनाइन् । यो आन्दोलन आफूहरुका लागि मात्र नभएर सम्पूर्ण विद्यार्थीका लागि भएको उनले बताइन् । प्रशासनले पटक–पटक वार्ताका लागि बोलाएर वार्ता नगरिदिने र वार्ताका नाममा आफूहरुको समय व्यतित गरिरहेको आन्दोलनरत् विद्यार्थी अमित सिंहले बताए । सरकारले तोकेकोभन्दा बढी रकम विद्यार्थीबाट असुलेर अन्याय गरिरहेको उनको भनाई छ । भ्रष्ट्राचारलाई अन्त्य गर्न खोज्दा प्रशासनले विद्यार्थीलाई परीक्षामा फेल गराइदिन्छु समेत भनिरहेको सिंहले सुनाए । 

यसैबीच गण्डकी मेडिकल कलेजका विद्यार्थीको आन्दोलनलाई अखिल नेपाल विद्यार्थी युनियनले समेत समर्थन गरेको छ । विद्यार्थीबाट प्रशासनले तोकिएको भन्दा बढी शुल्क लिइरहँदा सरकारसमेत रमिते बनेपछि देशमा कानुन नै नभएको जस्तो अनुभव भएको अखिलका प्रमुख प्रविण मिश्रले बताए । सेतो एप्रोन लगाएर बिरामीको उपचार गर्नेहरु नै सडकमा आन्दोलन गर्नु सही नभए पनि बाध्य भएर विद्यार्थीले आन्दोलन गर्नुपरेको उनको भनाई छ । 

‘सेतो एप्रोन लगाएका विद्यार्थीहरु कहिलेसम्म आफ्नो हक अधिकार तथा अन्यायका विरुद्ध लड्नुपर्ने हो ?’ उनले भने, ‘रिले अनशनपछि पनि माग पूरा नभए, थप कडा आन्दोलन गर्नेछौं ।’ प्रमुख गौतमले विद्यार्थीबाट असुलेको बढी शुल्क तत्काल फिर्ता गर्न प्रशासनसँग अपिल समेत गरेका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर