• शनिबार ११-११-२०७५/Saturday 02-23-2019/ 07:27 pm

'कामकाजी उमेरका सबै युवा विदेशिए, अब खेती गर्ने आश मर्यो'

गोपालप्रसाद बराल/बर्दिबास । सरकारले खेतीयोग्य जग्गा बाँझो राख्न नपाउने कानून बनाउने तयारी गरिरहेकै बेला महोत्तरीका किसान भने यसपालिको श्रीपञ्चमी पर्वमा कृषि श्रमिक नपाएर पिरोलिएका छन् । 

मिथिलामा श्रीपञ्चमी पर्वका दिन अघिल्लो एक वर्षका लागि कृषि श्रमिकको र कृषि ज्यावल बनाउने तथा मर्मत गर्ने बडही (हलो, कुटो, कोदालो बनाउने र मर्मत गर्ने मिथिलाको खास जाति समुदाय, सिकर्मी) को टुङ्गो लगाउने परम्परा छ । तर यसपालि आफ्नो गाउँनगर बस्तीमा कृषि श्रमिक र बडही नपाएपछि यहाँका किसान समस्यामा परेका छन् । 

‘श्रीपञ्चमीमा हलीको टुङ्गो लगाउन एकसातादेखि मान्छे खोज्या खोज्यै छु, तर कोही भेटिएनन्’, भङ्गाहा नगरपालिका–३ का किसान तेजनारायणसिंह थारुले भने, ‘सरकार चाहिँ खेत बाँझो राख्न नपाउने कानून बनाउँदैछ भन्ने सुनिन्छ तर गाउँनगर बस्तीमा कामदार पाइँदैनन्, मान्छे नै नपाएपछि खेती कसरी गर्नेहोला ?’

जिल्लाको गाउँनगर बस्तीमा कृषि कार्यका लागि कहलिएका मुसहर युवा रोजगारका लागि भारतको पञ्जाव, हरियाणा र अन्य समुदायका युवा अरब राष्ट्र गएपछि गाउँ बस्ती युवाविहीन बनेका छन् । काम गर्ने उमेरका युवा गाउँनगर बस्तीमा नरहेपछि यसपालिको श्रीपञ्चमी पर्वमा श्रमिक वरण गर्न नपाइएको अर्का किसान शालिग्राम ढकालले चिन्ता व्यक्त गरे । 

हलो जोत्ने, कुटो कोदालो चलाउने, गाईभैँसी चराउने र अन्य कृषि कार्यका लागि आइपर्ने काम गर्ने श्रमिक (मजदूर) माघ शुक्लपञ्चमीकै दिन अघिल्लो एक वर्षका लागि कुरा पक्का गरेर वरण गर्ने मिथिला परम्परा रहिआएको छ । यसपालि गाउँनगर बस्तीमा कृषि कार्यका श्रमिक र बडही नभेटिएपछि श्रमिक र बडही वरण गर्न नपाइएको बर्दिबास नगरपालिका–९ पशुपतिनगरका ७५ वर्षीय पाका किसान नथुनी महतोले बताए । ‘आफ्नो बस्तीमात्र नभएर छरछिमेकका बस्तीमा पनि श्रमिकको खोजी गरेँ’ महतोले भने, ‘तर, कहीँ भेटिएनन्, कामकाजी उमेरका सबै युवा विदेशिए, अब खेती गर्ने आश म¥यो ।’

मिथिला परम्परामा श्रीपञ्चमीका दिन कृषि श्रमिक र बडहीको पारिश्रमिकको आपसी सहमतिमा टुङ्गो लागेपछि किसानले दुवैलाई अबिर टीका लगाएर मिष्ठान्न भोजन गराई दक्षिणा दिएर वरण गरेपछि उनीहरु अघिल्लो एकवर्षका लागि काममा बाँधिएको मानिने गरिन्छ । परम्पराले यसै दिन श्रमिक र बडहीको टुङ्गो लगाउने भने पनि गाउँ बस्तीका नयाँ पुस्ताका युवा रोजगारीका लागि अन्यत्र गएपछि काम गर्ने मान्छे पाउन नसकिएको औरही नगरपालिकाको भोइल बस्तीका किसान मोहन महतो बताउँछन् । 

पछिल्लो एक दशकयता गाउँगाउँबाट कामकाजी उमेरका युवा रोजगारीका लागि विदेश जान थालेपछि खेतीपातीको काम निकै पछि धकेलिएको किसानको भनाइ छ । कृषि कार्यमा श्रमिक नपाइएपछि बिघौँबिघा खेतबारी बाँझै रहेका छन् । 

खासगरी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरिने यस पर्वलाई कृषि पर्वका रुपमा मनाइने मिथिला परम्परा अब श्रमिक भेटिन छाडेपछि स–साना नानीलाई अक्षरारम्भ गराएर मनाउनेमा मात्र सीमित हुँदै गएको जलेश्वर नगरपालिकाको बखरी बस्तीका बासिन्दा पूर्वप्रशासक महेश्वर रायले बताए । यस पर्वमा किसानले कृषि ज्यावललाई धोई पखाली पूजा पनि गर्छन् । यसरी पूजा गरिएका ज्यावल टिकाउ हुने मैथिल जनविश्वास रहिआएको छ । तस्विरः वेब 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सामुदायिक विद्यालयमा लिम्बू भाषा शिक्षक माग

  • ११ फाल्गुण, २०७५

म्याङलुङ ।  किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमले लिम्बू भाषा पढाइ हुने जिल्लाभरका सामुदायिक विद्यालयमा सरकारी दरबन्दीकै शिक्षक राख्न माग

आजका ट्वीट : धुर्मुस सुन्तली फाउन्डेशनको आग्रहदेखि प्रधानमन्त्रीको श्रद्धाञ्जलिसम्म

  • १० फाल्गुण, २०७५

काठमाडौं । आजको सामाजिक सञ्जाल ट्वीटरमा विभिन्न विषयमा दिनभरजसो बहस भएको छ । आज चितवन उपमहानगरपालिकामा धुर्मुुस सुन्तली फाउन्डेशनद्वारा निर्माण

महिलाका बाध्यता : हिंसा सहन्छन् तर, उजूरी दिँदैनन्

  • १० फाल्गुण, २०७५

कैलाली । नेपाली समाजमा सदियौंदेखि प्रचलनमा रहेका गलत रीतिथितिले महिलामाथि हिंसा बढाएको छ । छाउपडी प्रथा, बहुविवाह, दाइजो, सुत्केरी बार्ने, बालविवाह