• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

सरस्वती पूजामा अश्लिल गीतमा रमाउँदै युवा, प्रशासन माैन

जनकपुरधाम । हिन्दुु धर्ममा माता सरस्वतीलाई विद्याको अधिष्ठात्री देवी मानिन्छ । वसन्त पञ्चमीका दिन माता सरस्वतीको पूजा गर्ने हिन्दु धर्ममा परम्परा रहेको छ । सरस्वती पूजाको जनकपुरधाममा विशेष रौनकता नै हुन्छ । पहिले विद्यालयहरुमा मात्रै आयोजना हुने सरस्वती पूजा केही वर्ष यता जनकपुरधाममा चोक चोकमा मनाउन थालिएको छ । 

हिन्दु धर्ममा पूजा शान्त चित्त भएर शान्त वातावरणमा गर्ने परम्परा रहेको छ । तर जनकपुरधामको चोक चोकमा आयोजना गरिएको सरस्वती पूजा त्यसको ठीक विपरित देखियो । जनकपुरधामका चोक चोकमा आयोजित सरस्वती पूजाको पण्डालमा  हिन्दी तथा भोजपुरीका अश्लिल गीतहरु सुनियो । सरस्वतीको पूजाको पावन अवसरमा अश्लिल गीतमा झुमिरहेको देखिएपनि सम्बन्धित निकाय भने मौन देखिएका छन् । 

यती मात्र होइन माता सरस्वतीको वाहन हंस रहेपनि कतिपय स्थानमा माता सरस्वतीको प्रतिमामा समेत प्रयोग गरिएको पाइएको छ । कुनै ठाउँमा माता सरस्वतीको वाहन सिंहलाई बनाइएको छ भने विणाको स्थानमा लैपटप हातमा राखिएको छ । 

नागरिक समाजका अगुवा अमरचन्द्र अनिल यसलाई विकृतिको संज्ञा दिन्छन् । उनले भने, ‘हामी आफ्नो संस्कृतिमाथि आफै प्रहार गरिरहेका छौँ, यसलाई निरुत्साहित गर्नु पर्छ । उनले यस प्रकारको विकृतिलाई विद्यालय प्रशासन, स्थानीय सरकार तथा प्रदेश सरकार दोषी रहेको आरोप लगाए । यसलाई निरुत्साहित गर्नका लागि पहिले सम्झाउने, नसम्झे कानूनी कारवाहीसम्म गर्नु आवश्यक रहेको उनको भनाई छ । 

विद्याकी अधिष्ठात्री माता सरस्वतीको पूजा शान्त चित्त भावले गर्नु पर्नेमा भोजपुरी तथा हिन्दीका अश्लिल गीतहरु बजाएर मनाउन थालिएकोमा स्थानीयवासी समेत दुःखी छन् ।

पहिलेको तुलनमा सरस्वती पूजाको अवसरमा अश्लिल गीत बजाउनेहरुको संख्यामा कमी आएको दावी गर्दै प्याब्सनका प्रदेश सचिव विश्वलाल सिंहले विद्यालयहरुलाई भजन मात्रै बजाउनका लागि आग्रह गरेको जानकारी दिए । 

धार्मिक समारोहमा हुने यस प्रकारको कृयाकलापलाई निरुत्साहित गर्नका लागि सुरक्षा निकाय तयार रहेको बताउँछन् धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल । उनले पूजाको अवसरमा मोटरसाइकल चेकजाँच समेत तिव्र पारिएको जानकारी दिए ।  


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर