भ्यालेन्टाइनमा प्रदीप र जसिताको ‘घाम जुन’ 

काठमाडौं । अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले भ्यालेन्टाइन डेको अवसर पारेर दर्शकलाई घाम जुन उपहार दिने भएका छन् । चलचित्र लभ स्टेशनको पहिलो गीत ‘चाहिँदैन घाम जुन...’को भिडियो दर्शकलाई भ्यालेन्टाइन उपहारको रुपमा प्रणय दिवसकै दिन बुढा सुब्बा डिजिटलबाट प्रदीप र जसिताले पस्कन लागेका हुन् । ‘लभ स्टेशन’ आगामी २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउने तयारी रहेको निर्माण पक्षले जनाएको छ ।

भियतनामको विश्व चर्चित स्थानमा केही दिनअघि छायांकन गरिएको उक्त गीतमा सुगम पोखरेल र रेश्मा पुनमगरको आवाज छ । जसमा दीपक शर्माको शब्द संगीत रहेको छ । गीत रिलिजको काउन डाउन बुढा सुब्बा डिजिटलबाट सुरु गरिसकिएको छ । गीतसँगै भिडियो पनि उत्कृष्ट बनेको यसका प्रस्तुतकर्ता गोविन्द शाहीले बताएका छन् ।
अभिनेता खड्काले विगतका सिनेमाभन्दा लभ स्टेशनमा आफ्नो काम केही पृथक रहेको जिकिर गरे । पारिवारिक तथा सांगीतिक प्रेमकथामा आधारित रहेको यो चलचित्र नयाँ गीत ‘घाम जुन नै चाहिँदैन’ साह्रै मिठो र भिजुअल रुपमा निकै सुन्दर बनेको उनले दाबी गरे । चलचित्रमा प्रदीप र जसितासँगै अभिनेता रमेश बुढाथोकी, प्रिया रिजाल, सरु बिष्ट, प्रकाश शाह, दिनेश काफ्ले, रेशु भट्टराई, बिनोदकुमार पौड्याल, रवी डंगोल, कालु राना लगायतको अभिनय छ ।

उज्ज्वल घिमिरेले निर्देशन गरेको यो चलचित्र काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन्  । निर्देशक घिमिरेका अनुसार चलचित्र लभ स्टेशन सांगीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो । चलचित्र भित्र ‘लभ स्टेन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याएका छन् । आलोक शुक्लाको छायांकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर