• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

विश्व शान्तिका लागि डिपिआरकेको पहल प्रशंसनीय : सभामुख महरा 

काठमाडौं । सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित प्रजातान्त्रिक जनगणतन्त्र कोरिया  (डिपिआरके) का नवनियुक्त राजदूत जो योङ मनले शिष्टाचार भेटवार्ता गरेका छन् । 

सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर राजदूत मनले सभामुख महरासँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका अवसरमा सभामुख महराले नेपाल–प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डिपिआरके) बीचको कूटनीतिक सम्बन्ध साढे चार दशक पुगिसकेको चर्चा गर्दैै दुई देशबीचको सम्बन्ध निकै प्रगाढ र सुमधुर रहेको बताए । 

नयाँ राजदूतको रुपमा नेपाल आएका मनलाई स्वागत गर्दै सभामुख महराले नेपालका लागि कोरियाली राजदूतको रुपमा कार्यकाल सफल हुने र दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनेमा विश्वास व्यक्त गरे । विश्व शान्ति स्थापनाका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र त्यहाँको नेतृत्वले थालेको वार्ता, संवाद र कूटनीतिक पहल निकै सह्रानीय रहेको भन्दै सभामुख महराले विश्व शान्तिको अभियानमा सफलता मिल्ने विश्वास व्यक्त गरे । 

‘प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र त्यहाँका सर्वोच्च कमाण्डर ऊनको कुशल पहलकदमीबाट विश्व शान्तिका लागि गरिएको प्रयास निकै सह्रानीय छ, सभामुख महराले भने, ‘आफ्नो लक्ष्यमा दृढ रही विश्व शान्तिका लागि थालिएको पहलकदमी सफल हुनेमा म विश्वस्त रहेको छु ।

विश्व शान्तिका लागि डिपिआरकेको पहल निकै प्रशंसनीय छ ।’ संघीय संसदले नेपाल र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाबीच संसदीय मैत्री समूह गठनका लागि गृहकार्य गरिरहेको भन्दै सभामुख महराले दुई देशबीचका सांसदहरुको मैत्री समूह गठनले दुई देशबीचको राजनीतिक सम्बन्ध बिस्तार र अनुभव आदान प्रदानमा महत्वपूर्ण योगदान रहने उल्लेख गरे । 

सभामुखसँगको भेटमा नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मनले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई थप मजबुत र घनिष्ठ बनाउन आफूले कुनै कसर बाँकी नराख्ने बताए । 

प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र मार्सल किम जोङ ऊनले आफ्नो देशलाई समाजवादी अर्थतन्त्र विकास गर्ने र कोरियाली प्रायद्वीपमा स्थायी शान्ति कायम गर्ने रणनीतिक लक्ष्य रहेको भन्दै राजदूत मनले समाजवाद, कोरिया एकीकरण र विश्व शान्ति सफल हुनेमा मार्सल ऊन विश्वस्त रहेको बताए । 

कोरियाका केही शहर र नेपालका केही शहरहरु भगिनी शहरको रुपमा रहेको भन्दै राजदूत मनले नेपालको हाइड्रो, कृषिलगायतका क्षेत्रमा आफूहरु लगानी गर्न इच्छुक रहेको समेत बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर