महोत्सवमा उत्कृष्ट कलाकार पुरस्कृत

काठमाडौं । सिर्जनात्मक कलाका विविध विधा समेटिएको ‘सिर्जनात्मक कला महोत्सव’ सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागको आयोजना तथा नेपाल कार्टुनिस्ट क्लब, आइडब्बुएस नेपाल तथा विन्दु आर्ट स्पेस फर आर्टिस्टको संयोजनमा चारदिनसम्म महोत्सव चलेको थियो । विभिन्न कार्यक्रमका विजेता चित्रकारलाई पुरस्कृत गर्दै आइतबार महोत्सव सम्पन्न गरिएको कार्यक्रम संयोजक रमेशनाथ खनालले जानकारी दिए । 

महोत्सवअन्तर्गत प्रतियोगितात्मक कार्टुनकलातर्फ मञ्जु शर्मा प्रथम, दिपेन लिम्बू दोस्रो र क्रिष्टोफरमान सिंह तेस्रो भए । चित्रकलातर्फ ६० चित्रकारमध्ये रोशन विक प्रथम, कृष्णगोपाल श्रेष्ठ दोस्रो र शशांक रञ्जित तेस्रो भए । यस्तै, परफरमेन्स आर्टमा मुना भडेल प्रथम, प्रमिला लामा दोस्रो तथा त्रिष्टोफरमान सिंह तेस्रो भए । हरेक विधाका बिजेतालाई नगद क्रमशः १० हजार, सात हजार र पाँच हजारसहित प्रमाणपत्र वितरण गरिएको थियो । महोत्सवमा कार्टुनकला र परफर्मेन्स आर्ट प्रतियोगिता प्रतिष्ठान परिसरमा गरिएको थियो । त्यस्तै, ‘प्रतियोगितात्मक चित्रकला कार्यशाला’ काठमाडौंको हनुमानढोकामा भएको थियो । उक्त सन्दर्भमा कला फोटोग्राफीसम्बन्धी पुस्तक लेख्न प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारलाई जिम्मा दिइएको आयोजकले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर