• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

सवारी चलाउँदै हुनुहुन्छ ? अब इन्टरनेटबाटै सवारी जाँच !

बाँके । अब तपाईँको गाडी इन्टरनेटबाटै जाँच हुनेछ । लामो दूरीका गाडीमा दुई चालक भए नभएको, चालकले कति दूरीसम्म गाडी चलाएको, चालक परिवर्तन भए नभएको लगायत जाँच इन्टरनेटबाटै हुनेछ । 

तपार्इँ गाडी चलाउँदै हुनुहुन्छ अथवा गाडीको मालिक हो भने अब तपाईँ ट्राफिक पुलिसको आँखाबाट टाढा रहन सक्नुहुने छैन । ट्राफिक पुलिसले यसका लागि सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ । 

ट्राफिकले आफ्नो क्षमतामा विकास गरी डिजिटाइजेशन माध्यमद्वारा सवारी साधन र चालकलाई निगरानी गर्नेछ । यो एप्सले तपाईँले गाडी कति समय चलाउनुभयो, चालक परिवर्तन गर्नुभयो कि भएन भन्ने लगायत जानकारीसँगै चालकको तस्वीरसहितको सबै कुराको अभिलेख राख्नेछ । 

नियम पालना गर्नुभएको छैन भने एप्स जानकारी दिनेछ र सोही आधारमा सवारी चालकलाई कारवाही गरिनेछ । यदि कारवाहीबाट बच्न तपाईँ चाहनुहुन्छ भने ‘ट्राफिक कम्युनिकेशन एप्स’को निर्देशन पालना गर्नुपर्ने हुन्छ । ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’ आइतबारदेखि सञ्चालनमा ल्याएको छ । 

एप्स ओराकल कम्पनीको जाभा प्रोगामिङ ल्याङग्वेजको एण्ड्रोइड भर्सनमा विकास गरिएको उक्त एप्स पहिलो चरणमा बाँकेको कोहलपुर, नवलपुरको भूमही, काठमाडौँको नागढुङ्गा र सर्लाहीको कमैयामा सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जानकारी दिए । 

लामो दूरीका क्षेत्रमा सञ्चालन हुने सवारी साधनमा लागू हुने गरी सञ्चालनमा ल्याइएको उक्त ‘ट्राफिक कम्युनिकेशन एप्स’को आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले कोहलपुरको चप्परगौडीबाट ‘ट्राफिक कम्युनिकेशन एप्स’को औपचारिक उद्घाटन गर्दै सञ्चालनमा ल्याएको हो । एप्स सञ्चालनसँगै यात्रुवाहक सवारी साधनमा दुई चालक राखिने हुँदा दुर्घटनामा कमी आउने उनको विश्वास छ । 

‘लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनले चालक परिवर्तन भए नभएको जानकारी दिने र दुर्घटना न्यूनीकरणमा समेत उपयोगी हुने हामीले विश्वास गरेका छौँ’, प्रहरी निरीक्षक रोकायले भने, ‘लामो दूरीका सवारी चालक, बस नम्बर तथा प्रस्थान समय इण्टरनेटको सर्भरमा राखिनेछ, यात्राका क्रममा विभिन्न पोष्टमा जाँच गरिनेछ, सो क्रममा उही चालक भेटिएमा कारवाही हुनेछ ।’ 

‘ट्राफिक कम्युनिकेशन एप्स’को उद्घाटन गर्दै कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले एप्समार्फत सवारी साधन र चालकको निगरानी हुने भएकाले सवारी दुर्घटना न्यूनीकरण हुने विश्वास व्यक्त गरे । यातायात व्यवस्था ऐन २०४९ ले लामो दूरीका सवारी साधनमा दुई सवारी चालक अनिवार्य राख्नुपर्ने व्यवस्था गरे पनि यातायात व्यवसायीले कार्यान्वयन गर्न भने आनाकानी गरिरहेका थिए । 

एप्स सञ्चालनमा आएसँगै लामो दूरीका सवारी साधनमा दुई चालक अनिवार्य राख्नुपर्ने कानूनी व्यवस्थालाई सुनिश्चित हुने विश्वास गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख अरुणकुमार पौडेलले अब सवारी चालकले नियम मिच्न नपाउने भन्दै यसले दुर्घटना न्यूनीकरणमा सहज हुने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर