• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

जनयुद्धमा सहभागी भएका सवै समूहलाई ‘कन्फ्युजन’ छाडेर एकताबद्ध हुन प्रचण्डको अपिल (भिडियोसहित)

एकतामा आशंका नगर्न आग्रह

तस्वीर : दिपेन्द्र /समाचारदैनिक

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टी एकताको नयाँ आधार तय भएको दाबी गरेका छन् । २४ औं जनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पार्टी कार्यालय धुम्वाराहीमा आयोजना गरेको बिशेष कार्यक्रममा प्रचण्डले भने, ‘पार्टी र सरकारलाई सशक्त रुपमा अघि बढाउने बिषयमा म र ओलीबिच महत्वपूर्ण सहमति भएको छ, यसले एकताको नयाँ आधार तय भएको छ ।’ 

जनयुद्ध दिवसको कार्यक्रममा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली सहभागी नभएकोबारे स्पष्ट पार्दै उनले भने, ‘सरकार गठन भएको एक बर्ष पुगेको र कामको चापले गर्दा अध्यक्ष ओली सहभागी नभएपनि दुवै अध्यक्षको सहमतिले कार्यक्रम तय भएको हो ।’ उनले केहि दिन भित्रै पार्टी एकता र सांगठनिक एकताको सम्पूर्ण काम टुङ्गिने भन्दै त्यसपछि नेकपा राष्ट्रव्यापी रुपमा अघि बढ्ने समेत बताए । एकतापछि धुम्वाराहीमा जनयुद्ध दिवसको कार्यक्रम हुनु अर्थपूर्ण र गुणात्मक महत्वको रहेको उनको भनाई छ । 

पार्टी एकतापछि मनाइएको जनयुद्ध दिवसले बैचारिक राजनीतिक एकतालाई सुदृढ गर्न र सांगठनिक एकताका लागी महत्वपूर्ण हुने भन्दै उनले भने, ‘यहाँसम्म आइपुग्दा हामी संवैधानिक व्यवस्थाभित्र शान्तिपूर्ण रुपमा समाजवाद उन्मुख राज्यतर्फ अघि बढ्ने प्रतिवद्धमा अघि बढेका छौ।’

उनले अहिलेपनि एकतामा नआएका कम्युनिष्ट पार्टीहरुलाई पनि एकतावद्ध भएर अघि बढ्न आह्वान गर्दे जनयुद्धमा सहभागी भएका सवै समूह र पार्टीहरुलाई सवै खालका ‘कन्फ्युजन’  छाडेर एकताबद्ध हुन अपिल गरे ।  

राजनीतिक दृष्टिका आधारमा संसारले नेपाललाई हेरिरहेको भन्दै उनले भने, ‘मुलुकको परिवर्तनलाई सफल पार्ने जिम्मेवारी सवैको हो, हामी सबै एकै स्थानमा गोलवद्ध हुन सक्यौ भने छिटै हामि सफल हुनेछौ । ’

पार्टी एकताका बारेमा प्रष्ट पार्दे उनले भने, ‘मलाई अहिले बिशेष गर्व हुन्छ, शान्ति पूर्ण तवरले कम्युनिष्ट आन्दोलन र जनतालाई मुक्तिको बाटोमा लैजाने भूमिका खेल्ने मदन भण्डारी हुन् । कमरेड मदन भण्डारीको योगदानलाई सम्झदै हामीले पार्टी एकता गयौं ।’ प्रचण्डले अहिले केहि प्रतिक्रियाबादीहरु कम्युनिष्ट व्यवस्थालाई असफल बनाउने षडयन्त्रमा लागेको धारणा पनि राखे । 

प्रचण्डले अहिले भाषणभन्दा पनि समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्दै जनतासंग गरेका प्रतिवद्धता पुरा गर्ने काममा लाग्नुपर्ने भन्दै सबैको ध्यान विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने तर्क गर्नुभयो ।  

कार्यक्रममा नेकपा नेताहरु सुवास नेम्वाङ, बिष्णु पौडेल, जनार्दन लगाएतको सहभागीता रहेको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर